प्रहरीको हत्यामा संलग्न शंकास्पद व्यक्ति पक्राउ

२०७२ भाद्र ९ गते, बुधबार

काठमाडौ, ९ भदौ । गत सोमबार डिउटीमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी कर्मचारीको हत्यामा संलग्न शंकास्पद १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा जोशीपुर–४ बस्ने ३५ वर्षीय सुन्दरलाल चौधरी, ५५ वर्षीय खड्कबहादुर चौधरी, मधेसी जनअधिकार फोरमका क्षेत्रीय अध्यक्ष ४४ वर्षीय रामप्रसाद चौधरी, दरख–६ नारायणपुर बस्ने १७ वर्षीय रामजनम चौधरी, मनुवा–१ बस्ने २० वर्षीय रामकुमार खठरीया, २७ वर्षीय सन्दरलाल कठरिया, २० वर्षीय दिलबहादुर चौधरी, २४ वर्षीय राजकुमार कठरिया मनुवा–४ बस्ने २२ वर्षीय हरिनारायण चौधरी, भजनी–५ बस्ने ४१ वर्षीय प्रेमबहादुर चौधरी रहेका छन् ।
प्रदर्शनका क्रममा सोमबार प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दार श्यामबहादुर खड्का र प्रहरी जवान लोकेन्द्रबहादुर चन्द तथा सशस्त्र वरिष्ठ हवल्दार ललित सावद र सशस्त्र हवल्दार रामबिहारी थारुको हत्या गरिएको थियो ।
यसैबीच, टीकापुरमा तीन दिनअघि भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थिति आज केही सामान्य देखिएको छ । शान्ति सुरक्षाको स्थिति बिग्रन नदिन सेना र प्रहरीको गस्ती परिचालन गरिएपछि त्यहाँको स्थिति सामान्य बन्दै गएको हो । प्रहरी र सेनाको संयुक्त गस्तीसँगै आज त्यहाँ तोडफोडजस्ता हिंसात्मक क्रियाकलाप हुन नपाई स्थिति मङ्गलबारको तुलनामा सामान्य देखिएको इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख सुमन धितालले बताए । स्थानीय प्रशासनले घटनालगत्तैबाट टीकापुर नगर क्षेत्रमा अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको छ । यस्तै, टीकापुर नगर र भजनी–त्रिशक्ति नगरपालिकासहित आसपासका गाविस क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरिएको छ । दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएका गाउँबस्तीमा सेना र प्रहरीसहितले गस्ती गरेपछि आसपासका गाविस क्षेत्रमा एकखालको सन्नाटा छाएको मात्र नभई स्थानीय अझै आतङ्कित नै छन् । निषेधाज्ञाको उल्लङ्घन गर्दै मङ्गलबार टीकापुर र आसपासका केही गाउँमा एक समूहले मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का सभासद् जनकराज चौधरीको घरका साथै स्थानीय केही सर्वसाधारणका घर÷पसलमा तोडफोड गरेपछि अझै पनि हिंसा भड्किन सक्ने भन्दै स्थानीय आतङ्कित बनेका हुन् ।
यसैगरी, टीकापुर घटनापछि सो क्षेत्रबाट प्रकाशन हुँदै आएका पत्रपत्रिकाको प्रकाशन बन्द भएको छ । टीकापुरबाट चार÷पाँचवटा पत्रिका प्रकाशन हुँदै आएका थिए । त्यहाँस्थित रेडियो फूलबारी एफएममा मङ्गलबार भएको तोडफोडपछि त्यसको प्रसारणसमेत बन्द भएको छ । एफएममा भएको तोडफोड र स्थानीय केही पत्रकारमाथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घले विरोध गरेको छ ।

प्रतिक्रियाहरु