ग्रीसका प्रधानमन्त्रीद्वारा राजीनामा

२०७२ भाद्र ४ गते, शुक्रबार

काठमाडौं, ४ भदौ । ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले राजीनामा दिएका छन् । उनले चाँडै मध्यावधी चुनाव गर्ने घोषणासमेत गरेका छन् । युरोपेली ऋणदाताले ग्रीसका लागि तेस्रो राहत प्याकेजमा सम्झौता गरेपछि प्रधानमन्त्री सिप्रासले वामपन्थी विचारधारा बोकेको आफ्नै सिरिजा पार्टीभित्र अन्तरविरोधको सामना गर्नुपरेको थियो । ग्रीसले बिहीबारमात्रै पहिलो किस्तामा १३ अर्ब युरो ऋण प्राप्त गरेको थियो । जसमध्ये ग्रीसले युरोपियन सेन्ट्रल बैंकलाई ३ अर्ब युरो फिर्ता दिएको थियो । तर सम्झौताका लागि खर्च कटौती र कर बढाउने सर्तलाई प्रधानमन्त्री सिप्रासको पार्टीका केही नेताले अस्वीकार गर्दै आएका थिए । ग्रीसलाई आगामी तीन वर्षका लागि युरोपियन युनियनले ८६ अर्ब युरो ऋण दिने छ । यो विगत पाँच वर्ष यता ग्रीसका लागि तेस्रो राहत प्याकेज हो । टेलिभिजनमार्फत राजीनामाको घोषणा गर्दै सिप्रासले भने, ‘ऋणको पहिलो किस्ता प्राप्त भएको छ र अब ग्रीसका जनताको फैसला सोध्ने नैतिक जिम्मेवारी ममाथि आएको छ ।’ – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु