सार्वजनिक सवारी साधनको भाडा घट्दैन : विभाग

२०७२ श्रावण २० गते, बुधबार

काठमाडौँ, २० साउन । पेट्रोलियम पदार्थको भाउ घटे पनि सार्वजनिक सवारी साधनको भाडा तत्काल नघट्ने भएको छ ।
पेट्रोलियम पदार्थको भाउ रु पाँचभन्दा बढी घटेमात्र सार्वजनिक सवारी साधनको भाडा घट्ने व्यवस्था वैज्ञानिक भाडा पद्धतिमा गरिएकाले तत्काल भाडा नघट्ने यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले विसं २०६५ फागुन २१ गते वैज्ञानिक भाडा पद्धति लागू गरेको थियो ।
विभागका प्रवक्ता मुक्ति केसी पेट्रोलियम पदार्थको भाउ घटेर रु पाँच पुगेपछि मात्र सार्वजनिक सवारी साधनको भाडा घट्ने बताउनुहुन्छ । “वैज्ञानिक भाडा पद्धतिअनुसार इन्धनको मूल्यमात्र नभई सवारी साधनमा प्रयोग हुने अन्य चीजबीजको बजार भाउलाई पनि आधार मानेर भाडामा समायोजन गर्ने व्यवस्था भएकाले अहिलेलाई भाडा घट्दैन”, उहाँले भन्नुभयो ।
नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि डिजेल, मट्टीतेल र पेट्रोलमा दुई रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासमा रु ३५ भाउ घटाएको थियो । घटाएपछि पेट्रोलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ ५० पैसा कायम भएको छ भने डिजेल र मट्टीतेलको ८४ रुपैयाँ ५० पैसा कायम भएको थियो । भाउ घटेपछि खाना पकाउने ग्यासको मूल्य रु एक हजार ४३५ कायम भएको छ ।
निगमले हवाई इन्धनको मूल्य पनि घटाएको थियो । हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १५ रुपैयाँ घटाएर ११८ रुपैयाँ कायम गरेको र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ७५ डलर घटाएको थियो । हवाई इन्धनको भाउ घटेपछि नेपाल हवाई सङ्घले मङ्गलबार हवाई यातायातको भाडा घटाएको थियो ।
यससँगै सार्वजनिक यातायातमा भाडा घटाउन सरकारसँग माग गरिएको नेपाल विद्यार्थी सङ्घका प्रवक्ता यूपी लामिछानेले जानकारी दिनुभयो । “सरकारले विसं २०७१ पुस ९ र माघ २६ गते सार्वजनिक सवारी साधनमा घटाएको भाडादर पनि अझ लागू भएको छैन, अहिले पनि विद्यार्थी सङ्गठनका तर्फबाट संयुक्त रुपमा इन्धनको भाउ घटेअनुसार भाडा घटाउन माग गरेका छौँ, कार्यान्वयन भएन भने आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने सन्दर्भमा छलफल गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
यात्रुले भने सार्वजनिक सवारी साधनको भाडा घट्नुपर्ने माग गर्न थालेका छन् । उपभोक्ता मञ्चका अध्यक्ष हरेन्द्रबहादुर श्रेष्ठ यसअघिदेखि निगमले घटाएको भाउ हिसाब गर्दा रु पाँच पुगिसके पनि भाडा नघटाउन विभाग र यातायात व्यवसायी मिलेको गुनासो गर्नुहुन्छ । “इन्धनको भाउ बढ्दा त्यही दिन सवारी साधनले भाडा बढाउँछन्, घट्दा सरकारले निर्णय गरेको महिनौँ बित्दा पनि भाडा नघट्नु उपभोक्तामाथिको अन्याय हो, यस्तो क्रियाकलापका विरुद्ध नउत्रिएसम्म भाडा घट्दैन”, उहाँले भन्नुभयो । रासस

प्रतिक्रियाहरु