पुनर्निर्माणका लागि झण्डै ४ खर्ब

२०७२ असार १० गते, बिहीबार

काठमाडौं,१० असार । महाविनाशकारी भूकम्पबाट ध्वस्त संरचना पुनर्निमार्णका लागि नेपाल सरकारले आयोजना गरेको दाता राष्ट्र सम्मेलनमा झण्डै ४ खर्ब रुपैयाँ सहयोगको आश्वासन नेपाललाई प्राप्त भएको छ । पुनर्निर्माणका लागि आवश्क पर्ने झण्डै ७ खर्ब रुपैयाँ जोहो गर्नका लागि नेपाल सरकारले आयोजना गरेको ‘नेपालको पुनर्निमार्णका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा भारत सरकारले सबैभन्दा ठूलो रकम १०० अर्ब सहयोगको घोषणा गरेको छ । सहयोग रकममध्ये २५ प्रतिशत अनुदान दिने भारतीय विदेश मन्त्री सुस्मा स्वराजले सम्मेलनमा घोषणा गरेकी हुन् ।
यसैगरी चीन सरकारले ७६ अर्ब सहयोगको घोषणा गरेको छ । सम्मेलनमा चिनीयाँ विदेश मन्त्री वाङलीले सहयोगको घोषणा गर्दै नेपालको पुनर्निर्माणका लागि पहिलो चरणमा २०१६-१८ भित्र झन्डै ५० अर्ब चिनियाँ प्रदान गर्ने बताएका छन् । नेपाल निर्माणका लागि विश्व बैंकले ५० अर्ब रूपैयाँसम्म सहयोग गर्ने बचन दिएको छ ।
विश्व बैंकका अध्यक्षको भिडियो सन्देश सम्मेलनमा प्रशारण गर्दै उक्त सहयोगको घोषणा गरिएको थियो । यस्तै एडिबीले भूकम्पपछिको पुननिर्माणका लागि २५ अर्ब रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। उसले सहयोग रकम ६० अर्बसम्म पुर्‍याउन सकिने बचन दिएको छ । नेपाललाई सहयोग गर्ने सन्दर्भमा एडिबीले २० अर्ब रूपैयाँ पुर्वाधार निर्माणका लागि सहुलियत पूर्ण ऋण र ५ अर्ब बजेटका लागि अनुदान दिने बताएको छ ।
यस्तै युरोपियन युनियन(इयु) ले ११ अर्ब रूपैयाँ अनुदान दिने बताएको छ । सम्मेलनमा बोल्दै इयुका प्रतिनिधिले उक्त अनुदानको घोषणा गरेका थिए ।
अमेरिकाले १३ अर्ब रूपैयाँको सहयोग दिने भएको छ । सम्मेलनमा बोल्दै नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेले अमेरिकी विदेश मन्त्री जोन केरीको सन्देश पढ्दै उक्त सहयोगको घोषणा गरेका थिए ।
नेपालको पुनर्निमार्णका लागि जापान सरकारले २६ अर्ब रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । दाताराष्ट्र सम्मेलनमा बोल्दै जापानका विदेश राज्यमन्त्री मिनोरु कियुचीले सहयोग रकम घोषणा गरेका थिए ।
यस्तै नर्वे सरकारले नेपाललाई ३ अर्ब रूपैयाँ सहयोग गर्ने सार्वजनीक गरेको छ । सरकारले झण्डै ७ खर्ब सहयोग रकम जुटाउने लक्ष्यका साथ यो सम्मेलन आयोजन गरे पनि आवश्यक रकम जुटाउन असफल बनेको छ ।

प्रतिक्रियाहरु