३४ दाताले गरे भूकम्पले क्षति पुर्याएको विश्व सम्पदा सूची अवलोकन

२०७२ असार ९ गते, बुधबार

काठमाडौँ , ९ असार । नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन यहाँ आउनुभएका विशिष्ट पाहुनाले भूकम्पबाट क्षति भएको विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका क्षेत्रको बुधबार अवलोकन गरेका छन । भूकम्पले सो क्षेत्रका करिब ८० प्रतिशत ऐतिहासिक एवम् पुरातात्विक भवनलाई क्षति पुर्याएको छ । काष्ठमण्डप, भाजु देवल, नारायण मन्दिर, लक्ष्मीनारायण मन्दिर, शिवपार्वतीको मन्दिर, नौतलेदरबारमध्ये तीनतला, गद्दी बैठक, सिंहढोका, कागेश्वर मन्दिर, तलेजु मन्दिर, पञ्चमुखी हनुमानजस्ता जीवन्त संस्कृतिको धरोहरलाई क्षति भएको छ । पूर्ण क्षति नभएका संरचनालाई फलाम तथा काठको टेकाद्वारा अड्याइएको छ ।
विशिष्ट पाहुनालाई हेलमेट, पञ्जा, मास्क र ज्याकेट लगाई सो क्षेत्रको अवलोकन गराइएको थियो । सम्मेलनमा भाग लिन आउनुभएका ३४ जना विशिष्ट अतिथिले सो अवसरमा अवलोकन गरेका थिए । बढो उत्सुकतापूर्वक उहाँहरुले ती क्षेत्रका ऐतिहासिक महत्वका बारेमा जानकारी लिएका थिए । हनुमानढोका हेरचाह अड्डाका प्रमुख सरस्वती सिंहले विशिष्ट अतिथिलाई सो क्षेत्रको बारेमा अवगत गराएका थिए । अवलोकनमा सहभागी हुन आउनुभएका युनेस्को प्रतिनिधिमण्डलका प्रमुख क्रिस्टिन मार्टिनले अवलोकनका क्रममा रासससँग सङ्क्षिप्त कुरा गर्दै यी ऐतिहासिक, पुरातात्विक स्थलको पुनःनिर्माणका लागि सहयोग गर्ने र यसका लागि क्षति मापन भइरहेको जानकारी दिए ।
‘‘पुरातात्विक स्थलको पुनःनिर्माणका लागि विस्तृत कार्ययोजना युनेस्कोको तर्फबाट पनि बन्ने छ’’ उनले भने ।जापानी सहयोग नियोग जाइकाका प्रमुख डा आकिहिको तानाकाले भूकम्पले पुर्याएको पुनःनिर्माणका लागि आवश्यक पर्ने सहयोग प्रदान गर्न जाइका तयार रहेको बताए ।श्रीलङ्काका विपद् व्यवस्थापन मन्त्री ए एचएम फौजेले भूकम्पले नेपालमा पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनःनिर्माणमा सहयोग गर्न आफ्नो देश तयार रहेको बताए । रासस

प्रतिक्रियाहरु