सेतीवेनी–मिर्मी खण्डमा यसै वर्षभित्र ट्रयाक खोलिने

२०७२ जेष्ठ २५ गते, सोमबार

काठमाडौ , २५ जेठ । सेतीवेनी–मिर्मी खण्डमा यसै आर्थिक वर्ष भित्रमा ट्रयाक खोलिने भएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गमा पर्ने पर्वतको सेतीवेनीदेखि स्याङ्गजाको पिडीखोला – मिर्मी सम्मको बाँकी ट्रयाक असारसम्ममा पूरा गर्ने तयारी भएको हो । भारतसँगको सीमाना सुनौलीदेखि उत्तरमा चीनको तिब्बती सीमा कोरल्लासम्म पुग्ने सुनौली–मिर्मी–फलेबास–जोमसोम–कोरल्ला’ सडक ३ सय ७७ किलोमिटर लामो छ ।
सेतीबेनी –मिर्मी खण्डामा पर्ने पिंडीखोलाको ठूलो खोलादेखि मिर्मीसम्मको १ हजार २ सय मिटर ट्रयाक यसै वर्षभित्र खोली सक्नेगरी काम अगाडी बढाइएको उत्तर दक्षिण लोकमार्ग , करिडोर कार्यालय पाल्पाले जानकारी दिएको छ । बाँकी ट्रयाक खोल्नका लागि विष्फोट गर्न नेपाली सेनाको सहयोग लिइएको आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले बताए । ट्रयाक खोल्न बाँकी १ हजार २ सय मिटर मध्ये ४ सय मिटर कडा चट्टान भएकाले सेनाको सहयोग लिएको हो । सेनाको सहयोगमा विष्फोटको काम भएपछि असारसम्ममा काम पूरा हुने उनको भनाई छ । ‘असार सम्ममा ट्रयाक खोल्ने लक्ष्य सहित काम अघि बढेको छ’ उहाँले भने ‘काम द्रुत गतिमा भएकाले असारसम्म सकिनेमा विश्वस्त छौं ।’
पर्वत क्षेत्र नं २ बाट निर्वाचित सभासद विकास लम्साल र स्याङ्गजा क्षेत्र नं ३ बाट निर्वाचित सभासद मुक्तिप्रसाद पाठकले संयुक्त रुपमा विष्फोटनको शुरुवात गरे । यसवर्ष फलेबासदेखि आँधी मुहानसम्म वर्षायाममा पनि सिधा यातायात सञ्चालन गर्ने तयारीका साथ काम अगाडि बढाउन संभव भएसम्मका सबै प्रयास गरिएको सभासद लम्सालले बताए ।
फलेवासदेखि कुर्घासम्मको केही भाग, पाङ्गराङ्गको कर्नास, बाच्छा र बर्राचौरको बिचमा पर्ने खबराको भीर लगायतका ठाउँमा मर्मत र केही नयाँ ट्रयाक बनाउने काम तीब्र पार्न आयोजना कार्यालय र सडक डिभीजन कार्यालय पोखरा मार्फत काम भैरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु