भूकम्प पीडितलाई सघाउन माओबादी दौडाहा

२०७२ बैशाख २६ गते, शनिबार

काठमाडौं । नेकपा माओवादी भुकम्पबाट पीडितहरुलाई सघाउन घरदैलो कार्यक्रममा जुटेको छ । माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता प्रकाण्ड लगायत केन्द्रिय नेताहरु, भूकम्प पीडितहरुको सहयोगार्थ आफै सक्रिय भएर लागेका छन् । यसैक्रममा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता प्रकाण्ड र केन्द्रीय सदस्य उमा भूजेलसहितको टोलीले भूकम्पको केन्द्रविन्दु रहेको बारपाक पुगेर भूकम्प पीडितलाई सहयोग गरेका छन् । महासविच विप्लव नेतृत्वको टोलीले शनिबार भूकम्पको केन्द्र विन्दु बारपाकका पीडितका लागि १ सय ५० क्विन्टल चामल र लत्ताकपडा सहितको राहत वितरण गरेको छ । महासचिव विप्लवसहितका नेता कार्यकर्ताले राहत वितरणका साथै केही दिन बारपाकमा नै बसेर घरबारविहीन भएकालाई अस्थाई घरटहरा बनाउनका लागि सहयोग गर्ने प्रवक्ता प्रकाण्डले जानकारी दिए ।
यसैक्रममा माओवादीले गत बैशाख १२ गते गएको विनासकारी भूकम्प प्रभावित जिल्लामा अवास पूर्ननिर्माण गरेर भुकम्प पीडितलाई सघाउन जिल्ला जिल्लामा आफ्नो कार्यकर्ता खटाएको छ । माओवादीले गत बिहिबार राजधानीको पद्यमकन्या क्याम्पस डिल्लीबजारमा पत्रकार सम्मेलन गर्दै १४ जिल्लाका प्रभावित क्षेत्रमा घर पूर्ननिर्माण गरी सघाउने जानकारी दिएको थियो । पार्टीका महासचिव विप्लवले पार्टीको युवा दस्तालाई भूकम्पबाट प्रभावित १४ जिल्लाहरुमा गएर पुर्ननिर्माणको लागि सघाउन निर्देशन दिएका थिए । विप्लवले देशका विभिन्न क्षेत्रबाट आएका आफ्ना युवाहरुको भेलामा उक्त निर्देशन दिएका हुन् । माओवादीले प्रभावित क्षेत्रमा घरहरु पुननिर्माणका लागि अन्य जिल्लाहबाट २ सय जनाको टोली परिचालन गरिने बताइएको छ । यसमा केन्द्रीय सदस्यदेखि पोलिटब्युरो सदस्यहरुको समेत सक्रिय सहभागिता रहने माओवादीले बताइएको छ ।
महासचिव विप्लवले युवाहरुलाई पीडितहरुलाई तत्काल अस्थायी बसोबास गर्दै पुनःनिर्माण कार्यमा खटाउन आयोजित विदाई कार्यक्रममा बोल्दै भूकम्पबाट घरवारविहिन भएको जनतालाई तत्काल बसोबासको लागि अस्थायी घर टहरा निर्माण गर्न निर्देशन दिएका थिए । ‘जनताप्रति जिम्मेवार राजनीतिक पार्टी भएकाले जनतालाई बसोबासको व्यवस्था गर्नु हाम्रो कर्तव्य हो’ कार्यक्रममा महासचिव विप्लवले भने । महासचिव विप्लवले भूकम्पले ठूलो संकट निम्त्योकोले अरुसबै छोडेर आफ्नो पार्टी जनताको सेवामा लागेको भन्दै युवाहरुलाई प्रभावित ठाउँमा गएर खट्न निर्देशन दिएका थिए ।
महासचिव विप्लवको निर्देशन बमोजिम गोरखा, सिन्धुपाञ्चोक, काभ्रे, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर लगायत अति प्रभावित १२ जिल्लामा युवाहरु परिचालन गरिएको छ । गोरखा र सिन्धुपाल्चोकमा दुई समूह खटिएका छन् भने बाँकी जिल्लमा एक एक समूह खटिएको छ । यस अघि महासचिब विप्लव स्वम काठमाडौँ र ललितपुरमा घरवारविहिन भूकम्प पीडितहरुको घर टहरा निर्माण गर्दै हिँडेका थिए ।
यसैबीच भूकम्पबाट घरवारविहन भएका जनतालाइँ तत्काल अस्थायी रूपमा भएपनि बसोबासको लागि घर टहरा बनाउँदै हिँडेको नेकपा माओवादीले भक्तपुरको चाँगुनारायण नगरपालिका ३ तापाका घर निमार्ण गरेको थियो । पार्टीका महासचिव विप्लव आफँै सहभागी भइँ घर खुला आकाशमुनी बस्न बाध्य जनताका घर बनाइँ दिएका थिए । पार्टी निकट कर्मचारी संगठन राष्ट्रिय कर्मचारी महासंघ लगायत विभिन्न जनवर्गिय संगठनको सहभागी रहेको थियो । वैशाख १२ गते देखि खुला आकाशमुनी बस्न बाध्य स्थानियबासी निकै खुशी हुँदै निर्माण टोलीसँग बसेर फोटो खिचाएका थिए । बेघर भएकाहरु निकै खुशी भएर नेकपा माओवादीलाई धन्यावाद दिएका थिए ।
यसअघि माओवादीले महाविनाशकारी भूकम्पबाट पीडितहरुको उद्धारका लागि थालेको अभियानका क्रममा टोखामा भत्केका घरहरु निर्माणमा जुटेका थियो । माओवादीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड र नेता धर्मेन्द्र बास्तोला सहितका नेताहरु टोखामा पुगेर भत्केका घरहरु बनाउने काममा जुटेका थिए । टोखा नगरपालिकाको वाड नं ८ झोर भन्ने ठाउँमा उनीहरु सर्वसाधारणका घर बनाउन जुटेका थिए ।

प्रतिक्रियाहरु