कपिलवस्तुमा कालो दिनको स्मरण गरिदै

२०७१ भाद्र ३० गते, सोमबार


काठमाडौँ ,३० भदौ । कपिलवस्तुमा सात बर्ष अघि घटेको घटनाको सम्झना गर्दै आजको दिनलाई कालो दिनको रुपमा स्मरण गरिदै छ ।२०६४ भाद्र ३० गतेका दिन अज्ञात समूहको गोली प्रहारबाट स्थानिय समाजसेवी अब्दुल मोइद खानको मृत्युपछि चन्द्रौटा लगायतका क्षेत्रमा साम्प्रदायिक हिंसा भड्किएको थियो ।
१४ जनाको हत्या, ७ सय बढि पसल, घरटहरा लुटपाट, आगजनी भएको थियो भने ३ सय बढि सवारी साधनमा आगजनी गरिएको थियो । घटना अनुसन्धान गर्न सरकारले पूर्व न्यायधिश लोकेन्द्र मल्लिकको संयोजकत्वमा आयोग गठन गरेको थियो ।
आयोगले सवारी साधन बाहेक करिब ४ करोड बढि क्षति भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदनलाई आधार मान्दै ८ गाविसका ३ हजार बढि घटना पीडितले क्षतिपूर्ति माग गर्दै आएका छन् । घटनाको ७ बर्ष पुगिसक्दा पनि पीडितहरुले क्षतिपूर्ति नपाउदा राज्यको न्याय तथा सरकारको आश्वासनबाट विश्वास उठिसकेको पीडित अगुवा महादेव पोख्रेलले बताए ।
पीडितहरुले मल्लिक आयोगको प्रतिवेदनलाई आधार मानि २०६८ सालमा सर्वोच्च अदालतमा सरकार विरुद्ध मुद्धा दायर गरेका थिए । घटना पछिका हरेक वर्षहरुमा घटनापिडितहरुले भाद्र ३० गतेलाई कालो दिनको रुपमा स्मरण गर्दै आएका छन् ।

प्रतिक्रियाहरु