दशैंको लागि अग्रिम टिकट बुकिङ खुल्ला

२०७१ भाद्र २५ गते, बुधबार


काठमाडौँ, २५ भदौ । दसैंका लागि राजधानी बाहिरिने यातायातको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ ।सरकार र व्यवसायीबीचको पूर्वसहमतिअनुसार आजबाट टिकट बुकिङ खुलेको हो । केही व्यवसायीले तोकिएको समय अगावै टिकट बिक्री गरेको पाइएपछि यातायता व्यवस्था भिवागले ती व्यवसायीमाथि कारबाही प्रक्रिया थालेको छ ।
यसैबीच सरकारले टिकट बिक्री सहज बनाउन व्यवसायीलाई निर्देशन दिएको छ । सरकारले चाडपर्वका बेला गाडी भाडा नबढाउन पनि भनेको छ । यातायात व्यवस्था कार्यालयले व्यवसायीको दबाबमा केही समयअघि मात्र गाडी भाडा बढाउन सहमति दिएको थियो ।
यसैबीच ,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीको संयोजकत्वमा भएको सरकारी निकाय र यातायात व्यवसायीबीच भएको छलफलमा सरकारले भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सैद्धान्तिक सहमति दिए पनि अहिले उपभोक्ता मर्कामा पर्ने हुँदा यातायात व्यवसायीलाई सामाजिक व्यावसायिक उत्तरदायित्व समेतलाई ध्यानमा राखी दसैँ अगाडि भाडा नबढाउन सरकारले अनुरोध गरेको हो ।
यातायात र गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक महाशाखा एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, वायुसेवा सञ्चालक सङ्घ र राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीसँग भएको छलफलमा बुधबार बिहान ७ बजेदेखि मात्र अग्रिम टिकट सुरक्षित गर्न खुला गर्ने, सिट क्षमताभन्दा बढी टिकट नकाट्ने, एउटै सिटमा दुई टिकट सुरक्षित नगर्ने र त्यस्तो भएमा पहिलो खरिदकर्तालाई सिट उपलब्ध गराउने तथा दोहोरो टिकट काट्नेलाई कारबाही गर्ने सहमति भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
साथै महिला र अपाङ्गता भएका व्यक्तिका लागि सुरक्षित सिटमा अन्यलाई यात्रा नगराउन र छ घन्टाभन्दा लामो रुटमा चल्ने सवारी साधनमा अनिवार्य रुपमा दुई चालकको व्यवस्था गर्नेलगायत सहमति भएको छ । हवाई यात्रीलाई सहज रुपमा हवाई टिकट पाउने गरी टिकट बिक्रीको व्यवस्था मिलाउने तथा दुर्गम तथा पहाडी जिल्लामा थप उडान सञ्चालन गर्नेबारेमा पनि सहमति भएको जनाउँदै कार्यालयले राष्ट्रिय राजमार्ग तथा मूल सडकको नियमित मर्मतसम्भार गर्ने र सडकमा भएका खाल्डा तथा बिग्रेभत्केका स्थानको दसैँ अगावै उच्च प्राथमिकताका साथ मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिएको छ ।
टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउने, सबै टिकट काउन्टरबाटै बिक्री गर्ने, बिचौलियालाई प्रवेश गर्न नदिने एवम् सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुको बढ्दो सङ्ख्याअनुरुप थप सवारी साधनसमेत सञ्चालनमा ल्याउने तथा सहज रुपमा यातायातका साधन सञ्चालन गर्न नागढुङ्गालगायत अन्य आवश्यक स्थानमा ट्राफिक प्रहरीले थप जनशक्ति परिचालन गरी सवारीको प्रभावकारी व्यवस्थापन गन सहमति भएको जनाइएको छ ।

प्रतिक्रियाहरु