आज गौरापर्व

२०७१ भाद्र १७ गते, मंगलवार

काठमाडौ, १७ भदौ । आज गौरापर्व उमा महेश्वरसहित दुबोको पूजा गरेर मनाइदै छ ।विशेषगरी सुदूरपश्चिमका नारीले यो पर्व मनाउने गरेका छन् । भाद्र शुक्ल अष्टमी अगाडि नै अगस्ति ऋषिको उदय भएको अवस्थामा भने भाद्र कृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीकै दिनमा गौरापर्व मनाउनुपर्नेमा यस वर्ष अगस्ति ऋषिको उदय यही भदौ १९ गते दशमी तिथिका दिनमा हुने भएकाले त्यस पूर्व भाद्र शुक्ल अष्टमीका दिनमा गौरापर्व मनाउन मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुबो जसरी फैलिन्छ त्यसरी नै सन्तान दर सन्तान फैलियून् भन्ने कामनाले यो पर्वमा उमामहेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ ।
भाद्र शुक्ल अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुबोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको पनि गौतमले बताए । अष्टमी तिथिभर ज्येष्ठा र मूल नक्षत्र नपरेमा भने दुबोको पूजा गर्नुहुन्छ भन्ने शास्त्रीय मान्यता रहेको उनले जानकारी दिए ।
आज दिउँसो २ बजेर २२ मिनेटसम्म अनुराधा नक्षत्र र त्यसपछि ज्येष्ठा नक्षत्र परेकाले २ः३० बजे अगाडि दुवोको पूजा गरी सायंकालमा ज्येष्ठा नक्षत्रको पूजा गर्ने शास्त्रीय विधान छ ।
गौरापर्वको अवसरमा उमामहेश्वरको पूजा गरी मनोकामना पूरा होस् भन्ने कामना गर्ने गरिएको सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्नुहुने पत्रकार भीष्म ओझाले जानकारी दिए ।यो दिनमा सुदूरपश्चिमवासी देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गर्छन् । काठमाडौँको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सुदूरपश्चिमवासी मनोरञ्जन गर्नेछन् । यस पर्वको उपलक्ष्यमा सरकारले आज राष्ट्रिय बिदासमेत दिएको छ ।

प्रतिक्रियाहरु