सांस्कृतिक रूपान्तरण र वैकल्पिक संस्कृति – खेम थपलिया

२०७१ भाद्र ५ गते, बिहीबार

(क) विषयारम्भ
विराट आयाम बोकेको संस्कृतिको जन्म, प्रयोग, रूपान्तरण र विकल्पहरू निर्माण गर्ने विषयको गाम्भीर्यबारे सिङ्गो जगत् स्पष्टै छ । विषयको यही गाम्भीर्यलाई ध्यान दिँदै यहाँ अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीद्वारा प्रस्तुत ‘सांस्कृतिक रूपान्तरण र वैकल्पिक संस्कृतिको प्रश्न’ शीर्षक रहेको कार्यपत्रले सांस्कृतिक रूपान्तरण र वैकल्पिक संस्कृतिले सांस्कृतिक क्षेत्रमा विशेष एवम् गम्भीर बहसको माग गर्नु स्वाभाविकै हो । धर्म र संस्कृति फरक फरक विषय हुन् तर नेपाली समाजमा संस्कृति धर्मसित अन्तर्सम्बन्धित भएर आएको छ । यहाँ धर्म र संस्कृतिलाई छ्यासमिस बनाइएको छ । बहुराष्ट्रिय कम्पनीले यसलाई झन् मिहीन मिसावट गर्दै आफ्नो व्यापार साधन बनाएको छ । अहिले संस्कृति कुन हो ? धर्म कुन हो ? व्यापार कुन हो भन्ने कुरा छुट्याउनै नसकिने स्थिति छ । यसलाई कतिपयले व्यक्तिगत स्वतन्त्रतका रूपमा परिभाषा गर्ने गरेको पनि पाइएको छ । कतिपयले यसलाई मानव अधिकारसित पनि जोड्ने गरेका छन् । राजनीतिक परिवर्तनको तुलनामा सांस्कृतिक परिवर्तन दीर्घकालीन महत्वको विषय हो । यो दीर्घकालिक कोर्स हो । यो क्षेत्रमा राज्य अनुदार रहँदै आएको छ । धर्म–संस्कृतिका माध्यमबाट राज्यद्वारा हुँदै आएको उत्पीडनको महाआख्यानबाट सायद कोही पनि अनभिज्ञ छ्रैनन् । धर्म, व्यक्तिगत स्वतन्त्रताबारे महान् अक्टोबर क्रान्तिका नायक लेनिनले भनेका छन्– “जहाँसम्म राज्यको सम्बन्ध हो, धर्मलाई व्यक्तिगत मामिला मानिनुपर्छ तर जहाँसम्म पार्टीको सबाल हो, हामीले धर्मलाई कुनै पनि हालतमा व्यक्तिगत मामिला मान्न सक्तैनौँ । धर्मसित राज्यको कुनै सरोकार हुनुहुँदैन र धार्मिक संस्थाहरूको पनि सरकारी सङ्गठनहरूसित कुनै प्रकारको सम्बन्ध हुनुहुँदैन । … समाजवादीहरू प्रायः गरेर धर्मप्रतिको आफ्नो दृष्टिकोण यसै अर्थमा प्रयोग गर्दछन् तर यस भनाइको ठिक ठिक व्याख्या गरेर मात्र गल्ती र भ्रमबाट बच्न सकिन्छ अर्थात् यसको सही व्याख्या हुन जरुरी छ ।”
संस्कृतिको चर्चासँगै बुर्जुवा संस्कृति, बुर्जुवा मानवतावादको कुरा आउने गरेको छ, जुन जनताका लागि धोका हो । हामीले बुर्जुवा पाखण्डवाद धेरै देखेका छौँ । संस्कृति भनेको मनोविज्ञानसित अभिन्न रूपले जोडिएको विषय होे । माक्र्सका अनुसार रचनात्मक सत्ताको आफ्नै स्वत्व हुन्छ । अमेरिकी साम्राज्यवादले आफ्नो सांस्कृतिक अतिक्रमणको गतिलाई तीव्र बनाएको छ । साम्राज्यवादी संस्कृति भनेको लुटखसोट, युद्ध, हत्या, आतङ्कबाट आर्जन गरिएको वैभव हो । यही अकूत वैभवको आडमा उसले आधुनिक विद्युतीय सञ्चार माध्यमहरूको माध्यमबाट आफ्नो संस्कृतिको तामझामपूर्ण प्रसारण गर्दै आइरहेको छ । उसका उत्पादित सामानहरू, खाद्य पदार्थहरू, उसको संस्कृतिलाई उँचो देखाउने चलचित्रहरू, विज्ञापनहरू प्रदर्शन गरेर अन्य पिछडिएका मुलुकका मानिसलाई भ्रम छर्ने काम गरिरहेका छन् । उसका सांस्कृतिक तन्तुहरू र स्वदेशीय सामन्तवादी संस्कृतिका तन्तुहरूका बीचमा अवैध सम्बन्ध छ । यो साम्राज्यवादी संस्कृति र सामन्ती संस्कृतिबीचको अवैध सम्बन्धलाई तोड्न नेपाली मौलिक तथा वैज्ञानिक संस्कार संस्कृतिबारे गम्भीर बन्नैपर्छ । लेनिनले अर्को एक ठाउँमा भनेका छन्– “सर्वहारा संस्कृति भनेको आकाशबाट झरेर आउने कुरा होइन । सर्वहारा संस्कृति त्यस ज्ञानराशिको स्वाभाविक विकासको देन हुनुपर्दछ, जुन मानवजातिले पुँजीपति समाज, भूमिपतिहरूको समाज र नोकरशाही समाजको जुवामुनि नारिएर सिर्जना गरेको थियो ।” अहिले एकातिर सामन्ती सांस्कृतिक सत्ताको आडमा वैदेशिक सांस्कृतिक सत्ताले व्यापक दमन गरिरहेको छ भने अर्कोतिर परम्परागता संस्कृतिले सामाजिक अग्रगमनको धारालाई पछाडि धकेलिरहेको छ । सांस्कृतिक अग्रगमनको आलोकमा हामीले हाम्रा सांस्कृतिक बहस र छलफल केन्द्रित गर्दै रूपान्तरण र विकल्पको निर्माण गर्दै जानु उपयुक्त हुन्छ । आजको परिवेशमा आन्तरिक संस्कृतिसँगै बाह्य संस्कृति पनि अन्तर्सम्बन्धित भएकाले यसलाई गम्भीरतापूर्वक ग्रहण गर्दै बहस–अन्तक्र्रिया गर्न आवश्यक हुन्छ नत्र ‘जङ्गल सम्झिँदा रूख बिर्सने र रूख सम्झिँदा जङ्गल बिर्सने’ तरिकाले हामी गन्तव्यमा पुग्न सक्तैनौँ ।
(ख) अवधारणपत्र सम्बन्धमा
प्रगतिवादी साहित्यकार तथा संस्कृतिकर्मी ईश्वरचन्द्र ज्ञवालीद्वारा प्रस्तुत ‘सांस्कृतिक रूपान्तरण र वैकल्पिक संस्कृतिको प्रश्न’ शीर्षक रहेको कार्यपत्र अध्ययन भयो । प्रस्तुत कार्यपत्रको प्रस्तावनाको स्पिरिटले सहजानुभूति गराएको छ । सो कार्यपत्र तथ्यपरकभन्दा ज्यादा भावपरक रहेको अध्ययन वा श्रवण गर्ने जो–कोहीलाई पनि सहजै अनुभूति हुने विषय हो । माक्र्सवादीहरूले विषयको वस्तुगत तथ्यलाई महत्व दिने भएकाले प्रस्तुत कार्यपत्रलाई अझ ठोस र वस्तुपरक बनाउनु उपयुक्त हुन्छ । संस्कृतिको आफ्नै किसिमको आदर्श र सत्ता हुन्छ । जनपक्षीयकरण र प्रगतिशीलकरण यसको केन्द्रीय विषय हो ।
आफ्नो टाउकोमा आफैँले आगो लगाउने संस्कृतिको निर्माण नगरीकन हामीले सोचे जस्तो सैद्धान्तिक, राजनीति, दार्शनिक, सांस्कृतिक मूल्य स्थापित गर्न सक्तैनौँ । शाब्दिक रटानले मात्र सांस्कृतिक रूपान्तरण भएको कहीँ कतै छैन । मानिसका राजनीतिक, वैचारिक तथा दार्शनिक आधारमा व्यवहारमा त्यसअनुरूपका जीवनपद्धति बनाएको देखिँदैन । यो समस्या प्रगतिशील खेमामा अझ बढी मुखरित हुने गरेको छ । सत्तामा पुगेपछि नेपालका माक्र्सवादीहरूको कथित भगवान्को शरणमा जानु र राज्यकोषबाट धार्मिक अनुष्ठान गर्नु उनीहरूको सैद्धान्तिक विचलन हो । बुर्जुवाहरूले समेतले नगर्ने काम यहाँका प्रगतिशीलहरूले गरिरहेका छन्, जुन रूपान्तरणका सबालमा गम्भीर प्रश्न हो । सङ्कटका घडीमा नेपालका कम्युनिस्टहरू खाँटी सिद्धान्तवादी देखिन्छन् तर एक चरणको सफलतापश्चात् उनीहरूको आदर्श खिइने गरेको छ । एकपल्ट सत्ताको शिखरमा पुगेपछि ओर्लन नचाहँदा उनीहरू विभिन्न उपायको खोजी गर्छन् । एउटाले पूजा गर्दा बलियो भइन्छ भनिदिन्छ । अर्कोले औँठी लगाउँदा भाग्य ठूलो हुन्छ भनिदिन्छ । अन्ततः उनीहरू यस्तै–यस्तैको पछि लाग्नाले गम्भीर विचलनको सिकार हुन पुगेका छन् । उनीहरू ज्योतिषी, गुभाजु, झाँक्री धाएर साइत र जोखना हेराउँछन् । भाकल पूरा गराउन तीर्थस्थल पनि धाइरहेकै छन् । हातका आँैलाभरि सजिएका विभिन्न धातु, पत्थर, मुगा, रत्न र मोतीजडित औँठीहरू कम्युनिस्ट नेताहरूको रूढिग्रस्त मानसिकताको परिचायक हो । यी र यस्ता केही सांस्कृतिक सन्दर्भ छन्, जो जनसांस्कृतिक फाँटका निमित्त गम्भीर चुनौती बनेका छन् । आंशिक रूपमै भए पनि यी प्रश्नहरूको उत्तर दिने जमर्को पनि प्रस्तुत कार्यपत्र हो ।
(ग) विकृत संस्कृतिक सम्बन्धमा
विश्वमा नयाँ नयाँ प्रयोग र विकास जति जति हुँदै गएको छ, त्यति त्यति त्यसले नकारहरू पनि उत्पन्न गर्दै लगेको छ । दुनियाँमा राजनीति त बिग्रिएकै छ, त्योभन्दा बढी संस्कृति नै बिग्रिएको छ । हामीले हाम्रो जीवनअनुसार जीवनपद्धति, हाम्रो दृष्टिकोणअनुसार हामीले आफूलाई अगाडि बढाउन सकिरहेका छौँ कि छैनौँ ? यो व्यक्तिको समस्या, समुदायको समस्या, राष्ट्रको समस्या, संसारभरि नै अनेकन् यस्ता सांस्कृतिक समस्या छन्, चाहे विकसित राष्ट्र होस्, चाहे अविकसित । स्वदेश तथा विदेशमा भएका केही विकृत सांस्कृतिक उदाहरण यहाँ उल्लेख गर्न उपयुक्त नै हुनेछ ः
१. इजिप्टमा ‘सामाजिक सञ्जाल’ फेसबुक हेरेको आरोपमा त्यहाँको स्थानीय समुदायद्वारा एक किशोरीलाई ढुङ्गाले हानेर मारियो । यो घटनाले संसारभरका मानिसलाई इजिप्टेली समाजको अन्धविश्वासले आश्चर्यचकित तुल्याएको छ ।
२. पाकिस्तानमा धर्मगुरुलाई सामाजिक सुधारसम्बन्धी एसएमस पठाएको आरोपमा पन्जाबको एक स्थानीय अदालतले एक नवविवाहित दम्पतीलाई मृत्युदण्डको फैसला सुनायो । उक्त फैसला कार्यान्वयन पनि गरियो । यो घटनाले पाकिस्तानमा धार्मिक रूढता र कट्टरताको गम्भीर द्योतन गरेको छ ।
३. बङ्गलादेशमा वर्षको एकपटक पोखरीमा महिलाहरूलाई पुरुषले लात्तीले हानेर डुबाउने पर्व हुने गर्छ । परम्परागत रूपमा चलिआएको यस्तो पर्वले त्यहाँको सांस्कृतिक अवस्थितिलाई छर्लङ्ग बनाएको छ । यो महिलामाथि हुने गरेको सांस्कृतिक ज्यादती हो ।
४. मध्य–नेपालको सिन्धुली हत्पते– ४ मा दलितको विवाहमा ३ प्रकारको भान्सा गराइयो ः बाहुन÷क्षेत्रीको भान्सामा खसी काटियो । जनजातिको भान्सामा राँगो काटियो र दलितको भान्सामा सँुगुर काटियो । त्यहाँ तीन गाउँका माओवादी, एमाले, काङ्ग्रेसलगायत दलका स्थानीय नेता पनि थिए । यसरी भान्सासमेत फरक फरक गरियो । यसले नेपाली समाजमा जातिगत अन्धता र दलित जातिमाथिको उत्पीडनको अवस्था प्रस्ट पारेको छ । त्यस्तै, खोटाङमा भान्सा छोएको निहुँमा एक युवकमाथि बन्चरो प्रहार गरियो । विवाह भोजमा दाहाल थरका व्यक्तिको भान्सा छोएको भन्दै बन्चरो प्रहर गर्दा खार्मी ५ का २३ वर्षीय पूर्णबहादुर श्रेष्ठ गम्भीर घाइते भएका थिए ।
५. कमलनयनाचार्यबाट एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधव नेपाल, नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला आदिबाट आशीर्वचन थाप्ने काम भयो । यसले जनयुद्धको जगमा उठेको २०६२÷०६३ सालको आन्दोलनले स्थापित गरेको धर्मनिरपेक्षताको भावलाई गम्भीर रूपमा कुण्ठित गरेको छ । यो प्रकरणले नेपालका राजनीतिक दल र तिनका शीर्षस्थ नेताहरूको धार्मिक सांस्कृतिक चिन्तनधारामाथि गम्भीर प्रश्न उठाइदिएको छ ।
६. तिब्बतमा दलाई लामाको दिसा पिसाबलाई प्रसादका रूपमा ग्रहण गरिन्छ । २१ औँ शताब्दीमा योभन्दा लाजमर्दो विषय सायदै अरू केही हुन सक्ला ! यो केको प्रतीक हो ? समाज आज कहाँ छ ? संस्कार कस्तो छ ? सवालहरू गम्भीर छन् ।
७. बुल्गेरियामा वर्षको दुईपटक यस्तो पर्व हुँदै आएको छ, जहाँ बुबा आमाले छोरी चेलीहरूलाई बिक्री गर्ने गरिन्छ । यसको न्यूनतम मूल्य सात हजार डलर राखिएको हुन्छ । त्यसभन्दा बढी ग्राहकको आफ्नो खुसीको कुरा हुन्छ । यसले त्यो देशको संस्कृति र चिन्तनधारा के कस्तो रहेछ भन्ने कुराको बोध गराउँछ ।
८. कमरेड अशोक सुवेदीकी आमाको निधन भएपछि हामी मध्यरातमा आर्यघाटमा पुग्यौँ । उनले परम्परागत किरियाकर्म कुसंस्कारको उपज भन्दै बहिष्कार गर्ने निर्णय गरेका थिए । फलस्वरूप उनी मुडुलिएनन् । त्यहाँ एकातिर प्राकृतिक हावाहुन्डरी आइरहेको थियो भने अर्कोतिर उनीमाथि सामाजिक रूढिवादको हावाहुन्डरी पनि चलिरहेको थियो । प्राकृतिक हुन्डरीसँगै कृत्रिम हुन्डरीले उनलाई कम्ती पिरोलेको थिएन । त्यहाँ उनलाई भन्न केही पनि बाँकी राखिएन, मोबाइलको नम्बर डिलिट गर्ने काम भयो । उनका विरुद्ध चितामा हात राखेर कसम खानेसम्मको विचित्रको दृश्य देखाप¥यो । बहिष्कार गर्ने घोषणा गरियो । यसको प्रतिबिम्बन रामेछापमा आयोजित जूनमाया सुवेदीको श्रद्धाञ्जलीसभा र ‘परम्परागत संस्कार संस्कृतिको विकल्पको खोजी’ विषयक गोष्ठीमा पनि राम्ररी नै परेको देखियो । यो नेपाली समाजमा रहेको मृत्यु संस्कारसम्बन्धी जडताको पराकाष्ठा थियो ।
९. सुनसरीको चतराधाममा बा¥हबर्से मेला आयोजना भयो । राज्यले यो मेलालाई ठूलै रकम विनियोजन ग¥यो । नेपालका मात्र नभएर भारतदेखि ठूलो सङ्ख्यामा मानिसहरू त्यस मेलामा सहभागी भए । यसले राज्य स्वयम्ले पनि धर्मनिरपेक्षताको स्पिरिटलाई सम्मान गर्न नसकेको प्रस्ट हुन्छ । चतराधाम मेला धर्मपन्थीको गाईजात्रे प्रतीक हो ।
१०. नेपाल सरकारका ३०० भन्दा बढीको सङ्ख्यामा रहेका उच्चपदस्थ कर्मचारीहरूको डीभी, पीआर र ग्रिनकार्ड रहेको तथ्य फेला प¥यो । यसले राज्यको केन्द्रमै तरङ्ग पैदा ग¥यो । राष्ट्रको सेवा गर्छु भनेर सपथ खाएका कर्मचारीहरूको यस्तो हर्कतले चरम अवसरवादी चरित्र र राष्ट्रद्रोही संस्कृति कुन रूपमा फैलिरहेको रहेछ भन्ने कुरा प्रमाणित गर्दछ । यसले राष्ट्रमा स्वाधीन संस्कृतिको अपरिहार्यताको द्योतन पनि गरेको छ ।
११. तुलनात्मक रूपमा धेरै महिलाहरूको मठमन्दिरमा घुइँचो लाग्ने गरेको छ । यसमा शिक्षित अशिक्षित दुवै पर्छन् । समाजमा महिलाहरूलाई धर्म वा ईश्वरप्रतिको विशेष मोहले पुरुषप्रधान समाजको उत्पीडनलाई प्रस्टै सङ्केत गरेको छ । यसै भएर माक्र्सले सायद धर्मलाई उत्पीडितहरूको सुस्केरा र अफिम भनेका होलान् । यो धार्मिक अन्धताको पराकाष्ठा हो ।
१२. एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको भैँसी पूजा, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले श्रीमती गायत्रीलाई खुट्टा ढोगाएको घटना, डा. विकासानन्दका कार्यक्रममा गएर एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले भौतिकवाद र आध्यात्मिकवादको फ्युजन गर्नुपर्ने भाषण गर्नु, एमाओवादीका तत्कालीन उपाध्यक्ष डा. बाबुराम भट्टराईको महायज्ञ, तत्कालीन वाईसीएल उपत्यका संयोजक चन्द्रबहादुर थापा ‘सागर’ को रक्षाबन्धन, नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले डेढ घन्टा लाम लागेर गरेको बगलामुखीको दर्शनलगायत सार्वजनिक कार्यक्रममा खादा लगाउने प्रचलन आदिआदि परिघटनाले नेपालमा सांस्कृतिक रूपान्तरणसम्बन्धी वर्तमान अवस्थाको चरित्र चित्रण गर्दछ ।
१३. अस्पतालमा डाक्टरले ठूलाठूला अपरेसन गरेपछि आफन्त तथा शुभचिन्तकहरूलाई “हामीले सक्दो प्रयास गरेका छौँ, अब भगवान् भरोसा गर्नुस्” भन्ने गरेको पाइन्छ । मेडिकल साइन्स पढेका, थुप्रैथुप्रैको जीवन र मृत्युको साक्षात्कार भएकाहरूको यस्तो भनाइले विज्ञानकै अपमान हुने गरेको छ । यो प्रचलन संसारभर नै रहेको छ । यो व्यक्तिभित्र गडेर बसेको ईश्वरीय आशक्तिको प्रतिबिम्बन हो ।
१४. अन्तरिक्षमा रकेट प्रक्षेपण गर्नुलाई भौतिक विज्ञानको विकासको उच्चतम रूप मानिन्छ । यो अभियानमा विश्वप्रसिद्ध वैज्ञानिकहरू बर्सौं अथक मेहनत गर्दछन् र सफलता प्राप्त गर्दछन् । त्यसलाई उनीहरूले अन्तरिक्षमा प्रक्षेपण गर्दछन् तर आश्चर्यको कुरा, अन्तरिक्षमा रकेट प्रक्षेपण गर्र्नुअघि उनीहरू भगवान्को प्रार्थना गर्ने गर्दछन् । उनीहरू जिसस क्राइस्टको प्रार्थना गर्दछन् । धार्मिक प्रार्थनाले विश्वकपको खेलकुदमा पनि गतिलै चर्चा पायो । यी र यस्तै सन्दर्भहरूले भौतिकवादीहरूको गम्भीर प्रकारका विचारधारात्मक परिस्थिति उद्घाटन गर्दछ ।
(घ) विकल्पको सन्दर्भ
आदरणीय विद्वान् ईश्वरचन्द्र ज्ञवालीबाट प्रस्तुत कार्यपत्रसित सम्बन्धित भएर उपर्युक्त सन्दर्भहरू प्रस्तुत गरियो । यसले विसद् विश्लेषण माग गर्दछ तर पनि यी साङ्केतिक सन्दर्भ मात्र हुन् । यिनै सन्दर्भसित सानिध्य राख्दै रुसी क्रान्तिका महान् नायक भीआई लेनिनको घन्टाको प्रसङ्ग यहाँ उल्लेख गर्न आवश्यक ठान्दछु । यो उदाहरण किन पनि आवश्यक ठान्दछु भने यो कार्यक्रम र यसमा प्रस्तुत गरिएको कार्यपत्रको मुख्य ध्येय भनेको सांस्कृतिक रूपान्तरणका विकल्प के हुने भन्ने नै हो । हामी राम्रा कुरा गर्न सक्छौँ । व्याख्या गर्ने कुरा एउटा हो, लेख्ने कुरा एउटा हो, बदल्ने कुरा अर्कै हो । बदल्ने दिशामा, रूपान्तरण गर्ने दिशामा हामी जान्छौँ भने त्यो लेनिन र उनको घन्टाको प्रसङ्ग उल्लेख गर्नु उपयुक्त नै हुनेछ । यसै प्रसङ्गसित विकल्पका स्वरूपहरू पनि परिपूरक भएर आउने भएकाले यी सबैलाई यहाँ क्रमिक रूपमा उल्लेख गर्नु उपयुक्त ठान्दछु ः
१. सोभियत सङ्घमा महान् भीआई लेनिनको नेतृत्वमा क्रान्ति सम्पन्न भइसकेपछि उनलाई भेट्न गाउँका किसानहरू आए । जुन किसानबस्तीमा भीआई लेनिनले युद्धकालमा धेरै समय बिताएका थिए, त्यो ठाउँमा लेनिनले धेरै काम गरेका थिए । किसानहरूले क्रान्तिको स्पिरिटअनुसार काम गर्न, विचारलाई केन्द्रमा राख्न, जनताको स्तर विकास गर्न, मुुलुकको आर्थिक विकास गर्न सल्लाह दिए । किसानहरूले भने– “क्रान्तिको स्पिरिटअनुसार काम गर्नुस्, हामी अरू केही चाहँदैनौँ ।” त्यहाँ धेरै कुराकानी भए । अन्तिममा बिदा हुने बेलामा लेनिनले भने– “मैले तपाईंहरूलाई के गर्नुप¥यो ?” त्यसपछि किसानहरूले भने– “हामीलाई केही पनि चाहिँदैन कमरेड । बरु एउटा ठूलो घण्ट दिनुहोस् । हामी त्यसलाई गाउँको बीचमा राख्न चाहन्छौँ ।” किसानहरूको त्यस्तो कुरा सुनेपछि एकछिन् त लेनिन आश्चर्यचकित भए । मैले यत्रो क्रान्ति गरेँ तर पनि जनताको सांस्कृतिक धार्मिक स्तर त जस्ताको तस्तै रहेछ भन्ने कुरा उनले महसुस गरे । ओहो ! जनताको धार्मिक चेतना कहाँ रहेछ त ! हाम्रो संस्कृति कहाँ रहेछ त ! नेपालमा नेताहरूसित यस्ता कुरा गर्ने हो भने त झडङ्ग रिसाउँथे होलान् तर लेनिनले मुसुक्क हाँसेर भने– “ठीक छ । तपाईंहरूलाई म एउटा ठूलो घण्टको व्यवस्था गरिदिन्छु तर तपाईंहरूले मेरो एउटा कुरा मानिदिनुपर्छ ।” त्यसो भनेपछि किसानहरूले “हुन्छ” भने । लेनिनले भने– “तपाईंहरूले त्यो घन्टा बिहान १० बजे र अपरान्ह ४ बजे सबै गाउँले र तिनका केटाकेटीले सुन्ने गरी बजाइदिनुस् ।” उनको आशय थियो– बिहान १० बजे घण्टको आवाज सुनेपछि बालबच्चाहरू विद्यालय जाऊन् र बेलुका ४ बजेको घन्टाको आवाज सुनेपछि ‘लौ अब विद्यालय छुट्टी भयो’ भन्दै बालबच्चाहरू घर जाऊन् । यसले समाजको समयको सूचना प्रवाह गर्दछ ।
यसरी भीआई लेनिनले परम्परागत धर्म–संस्कार र संस्कृतिलाई जनपक्षीकरण वा परिवर्तनीकरण गरेको उदाहरण हामी पाउन सक्छौँ । परम्परागत संस्कार संस्कृतिलाई जनताका पक्षमा कसरी वैकल्पिक स्वरूप दिन सक्छौँ भन्ने यो सन्दर्भ नेपाल र नेपालीलाई उपयुक्त दृष्टान्त हुन सक्छ ।
२. हामीकहाँ सांस्कृतिक रूपान्तरणसम्बन्धी धेरै राम्रा कुरा लेखेको, सुन्दर कुरा लेखेको, धेरै राम्रा कुराहरू बोलेको हामी पाउन सक्छौँ । कतिपयका त सुनिरहूँजस्तो पनि हुने गर्दछ तर जसले जे भनिरहेको हुन्छ, उसले जीवन व्यवहारमा कति प्रयोग गरिरहेको छ भन्ने कुराचाहिँ निकै महत्वपूर्ण हुने गर्दछ । यसका लागि हामीले केही प्रसङ्ग स्मरण गर्नैपर्छ । जस्तो कि आदर्श राज्यको परिल्पना गर्ने प्लेटोले आफैँले आदर्श राज्य बनाउन सकेनन् । बरु उनले विभिन्न देशका राजकुमारहरूलाई प्रशिक्षण दिँदै हिँड्नुप¥यो । हामी विश्वविख्यात साहित्यकार लियो टल्सटायको पनि उदाहरण लिन सक्छौँ । उनले आफ्नो किशोरावस्थामै ब्रह्मचार्यको प्रतिबद्धता व्यक्त गरेका थिए । उनको त्यो प्रतिबद्धता कति वैज्ञानिक थियो, त्यो विश्लेषणको अलग पाटो हुन सक्ला तर सबभन्दा बढी महिलामाथि सांस्कृतिक ज्यादती उनैबाट भयो । किन ? यो प्रश्न सामान्य छैन । उनको यो सन्दर्भ सबैलाई थाहा नै छ । त्यस्तै, साम्यवादी लेखक राहुल साङ््त्यायनबारे झन् धेरैलाई थाहा छ । यो महाद्वीपमा उनको अधिक प्रशंसा नै रहेको छ तर पनि उनको चर्र्को सांस्कृतिक विचलनका बारेमा कोही पनि अनभिज्ञ छैनन् । उनी जहाँ जहाँ पुग्थे, त्यहीँ त्यहीँ महिलामाथि उत्पीडन गर्दै हिँडेका थिए । यसरी हामी आफ्नो विचारलाई जीवन व्यवहारमा उतार्ने कुरा कति महत्वको रहेछ भन्ने कुराको बोध गर्न सक्छौँ ।
पुष्पकमल दाहाल, जसको नेतृत्वमा नेपालमा क्रान्तिको थालनी भयो, नेपाललाई विश्वक्रान्तिको आधारक्षेत्र बनाउँदै क्रान्तिको लप्काले दक्षिण एसियालाई लपेट्दै विश्व क्रान्तिको आधारक्षेत्र बनाउने भनेकै हो । आखिर उनी कमलनयनाचार्यको आशीर्वचन थाप्दै कमलनयनाचार्य जिन्दावाद भन्न पुगे । उनी माक्र्सवाद र अध्यात्मवादको फ्युजन गर्नुपर्ने तर्क गर्ने ठाउँमा पुगे । त्यसैले विचारधारात्मक बुझाइलाई व्यवहारमा ढाल्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसो भयो भने विश्वसनीयता पनि कायम हुन्छ । मेरो नेताले यसो गर्नुभएको थियो, यस्तो गर्नुहुन्छ, मैले अर्थात् हामीले पनि यसो गर्नुपर्छ भन्ने कुरा हुन्छ । त्यसैगरी विकल्पको कुरा गर्दा नेतृत्व तहबाट नै यसको परिपालना हुनुपर्छ । त्यो नै सांस्कृतिक विकल्पका रूपमा विकास हुँदै परिस्थिति बन्छ ।
३. के हाम्रो समाजले अपनाउँदै आएका सबै संस्कार संस्कृतिहरू खराब छन् ? के सबै संस्कृतिलाई एकैचोटि डोजर लाउन सकिन्छ, डोजर लगाउन हुन्छ ? त्यसरी डोजर लगाउँदा त्यो समाज र ती समुदायको मनोविज्ञानमा कस्तो आघात पर्छ ? यो विषय निकै संवेदनशील हुने गर्दछ । लेनिनले भनेका छन्– “डन्डा लगाएर सांस्कृतिक रूपान्तरण गर्न सकिँदैन ।” नेपालमा सयभन्दा बढी जातजाति, धर्म सम्प्रदाय, भेषभूषालगायत समग्र पक्षको विशेष अध्ययन गरेर तिनलाई तीन भागमा विभाजन गर्नुपर्छ ः संरक्षण गर्नुपर्ने कति, परिमार्जन परिष्कार गर्नुपर्ने कति र हटाउनुपर्ने कति ? त्यसरी विभाजन गरेपछि सोहीअनुसार प्रयोगमा लैजाँदा परम्परागत संस्कार संस्कृतिको विकल्प तयार हुँदै जान्छ ।
४. हरेक राष्ट्रमा संस्कार संस्कृतिसम्बन्धी निर्णायक अधिकार प्रयोग गर्ने निकायहरू हुन्छन् । नेपालमा पनि ती निकायहरू रहेका छन् । प्रतिष्ठित व्यक्तिहरू पनि रहेका छन् । उनीहरूको सुझावअनुसार राज्यले ती कुराहरू कार्यान्वयनमा ल्याउने गर्दछ । सांस्कृतिक रूपान्तरणसम्बन्धी सरोकार राख्ने व्यक्ति वा सङ्घ संस्थाहरूले तिनीहरूसित बसेर छलफल गरी निश्चित धारणा बनाउँदै राज्यस्तरमा विकल्प दिन सकिन्छ । यो पनि एउटा परम्परागत संस्कार संस्कृतिको विकल्प तयार बनाउने उपाय हुन सक्छ ।
५. सूचना तथा सञ्चारमा सांस्कृतिक क्षेत्र निकै पछाडि परेको क्षेत्र हो । जनतासित जोडिएका, दलितसित जोडिएका विषयहरू सञ्चार क्षेत्रमा कम स्थान पाएका छन् । हरेक राष्ट्रमा उत्पीडनमा परेका समुदायले महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । राष्ट्रको मुक्तिको प्रश्नमा दलितहरूले, जनजातिहरूले, महिलाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । परिवर्तनका निमित्त आदिवासी जनजातिहरूको पसिना बग्नुपर्ने, जनताको छोरो सडकमा मर्नुपर्ने, रगत बगाउनुपर्ने तर शासकले ‘ईश्वर’ का नाममा सपथग्रहण गर्ने विडम्बना हामी सबैसामु छर्लङ्गै छ । यसको न्यूनीकरणतर्फ हाम्रो पहलकदमी अझ बढाउनुपर्ने आवश्यकता छ । सम्बन्धित अभियन्ता, व्यक्तित्व, सम्बन्धित संस्थाले यसतर्फ विशेष पहलकदमी बढाउनुपर्ने आवश्यकता पनि हामी सबैले महसुस गरेकै विषय हो । त्यसैले खासखास परिस्थितिमा खासखास पहलकदमीद्वारा विकास भएको नयाँ परिवेश पनि परम्परागत संस्कार संस्कृतिको नयाँ विकल्प बन्न सक्छ ।
६. परम्परागत संस्कार संस्कृतिको विकल्पको कुरा गरिरहँदा जनयुद्धको सन्दर्भ अनिवार्य रूपमा उपस्थित हुने गर्दछ । माक्र्सवादी सौन्दर्यशास्त्री एवम् जनयुद्धका एक प्रमुख नायक कमरेड मोहन वैद्य ‘किरण’ लाई बिर्सनुहुँदैन । महान् जनयुद्धको उठान, विकास र यहाँसम्म ल्याउनका लागि कमरेड किरणको धेरै महत्वपूर्ण भूमिका छ । उहाँ नेकपा–माओवादीका आदरणीय अध्यक्ष पनि हुनुहुन्छ । विशेषगरी जनयुद्धकालमा सांस्कृतिक पक्ष कस्तो थियो भन्ने कुराको अध्ययन र विश्लेषण गर्न आवश्यक हुन्छ । जनयुद्धमा मूलतः निर्देशित र नियन्त्रित संस्कृति रहेको थियो । नियन्त्रित र निर्देशित संस्कृतिले एक हदसम्म जनपक्षीय संस्कृतिको विकासमा सकारात्मक भूमिका खेलेकै थियो । त्यतिखेर दसैँ, तिहार, तीजजस्ता परम्परागत चाड पर्व, संस्कार संस्कृतिका विकल्पमा नयाँ चेतना फैलाइएको थियो । सोहीअनुसार व्यवहार गर्न पनि थालिएको थियो । ती चाडपर्वहरूलाई पार्टीको योजना मुताबिक सहयोगी हुने गरी जनपक्षीय तरिकाले मनाइने गरेको इतिहास छ । त्यसबेला त्याग, तपस्या, बलिदानको भव्य पिरामीड खडा भएको थियो । त्यसलाई नेकपा–माओवादीले नयाँ यथार्थका रूपमा परिभाषित पनि गरेको थियो तर अहिले त्यो नयाँ यथार्थ कहाँ छ ? यो गम्भीर समीक्षाको विषय रहेको छ । आज जनपक्षीय कलाकारहरू किन लोकदोहोरी धाउन विवश छन् ? हामी कहाँ चुकिरहेका छौँ ? के जनसंस्कृतिकर्मीहरूको विकल्प लोकदोहोरी हो ? त्यसलाई आज जनकलाकारहरू जीवन निर्वाहको माध्यम बनाउन किन बाध्य भएका छन् ? त्यसैले सांस्कृतिक रूपान्तरणको कुरा गर्दा सीप, कला र क्षमताको प्रवद्र्धन गर्ने काम पनि महत्वपूर्ण हुने रहेछ । उनीहरूको दक्षताको अभिवृद्धि र व्यवस्थापन पनि निकै महत्वपूर्ण हुने रहेछ । त्यसलाई कुशल व्यवस्थापनद्वारा पनि परम्परागत संस्कार संस्कृतिको विकल्प खडा गर्न सकिन्छ ।
७. दुनियाँ परिवर्तनशील छ । उपरिसंरचनामा निकै परिवर्तन देखापरेका छन् तर सारतः नेपाल नेकपा–माओवादीले संश्लेषण गरेजस्तै अर्धसामन्ती र नवऔपनिवेशिक अवस्थामा छ । हाम्रो सङ्घर्षका आधारभूत निशाना उही छ । महान् जनयुद्धका प्रतिनिधिमूलक मोर्चाहरू, तिनका वीरतापूर्ण स्थानहरूको प्रचार भएकै छैन । आज संसारभरका मानिसहरू माक्र्स, लेनिन जन्मेको ठाउँमा किन पुग्छन् ? ती स्थानहरूलाई पर्यटनसित जोड्ने कुरा, तिनलाई उत्पादनसित जोड्ने कुरा महत्वपर्ण हुने रहेछ । सांस्कृतिक नमुना गाउँ आदि यसका थप रूप हुन सक्छन् । यसरी त्यसलाई जीवनसित जोड्दै जाँदा नयाँ संस्कृतिको विकास पनि हुँदै जान्छ । संस्कृतिलाई जीवनसित जोड्न सकियो, संस्कृतिलाई उत्पादनसित जोड्ने कुरा भयो भने त्यो समाजको जीवन पद्धति बन्दै जान्छ । यसले नयाँ सांस्कृतिक जीवन प्रदान गर्दै जान्छ । त्यसो भयो भने पनि परम्परागत संस्कार संस्कृतिको अर्को विकल्प तयार हुन्छ ।
८. सांस्कृतिक रूपान्तरणको कुरा गर्दा घरपरिवारलाई बिर्सनुहुन्न । यसमा प्रत्येक घरका आमाहरूको ठूलो भूमिका हुने गर्दछ । हरेक आमाहरूले आफ्नो घर परिवारमा आफ्ना बालबालिकालाई वैकल्पिक संस्कृतिको कुरा गर्दै, सिकाउँदै जाने वातावरण बन्न सक्छ । यसमा विद्यालयका शिक्षक शिक्षिका, तिनको पठनपाठनले पनि सांस्कृतिक रूपान्तरणमा निकै ठूलो महत्व राख्ने गर्दछ । यस्ता विषयलाई पाठ्यपुस्तकमा समेत समावेश गर्दै जान आवश्यक हुन्छ । यसले युवा पुस्तामा प्रगतिशील संस्कृतिको विकासमा सकारात्मक प्रभाव पार्छ । यसरी पनि हामी परम्परागत संस्कार संस्कृतिको विकल्प बनाउँदै जान सक्छौँ ।
९. हामी जनताको मुक्तिको कुरा गर्दछौँ । भाषण पनि गर्दछौँ र सुन्दछौँ पनि । यसबारे लामा लामा लेख पनि लेख्छौँ । वास्तवमा मुक्ति कार चढेर आउँदैन । मुक्ति भन्ने कुरालाई रातो किस्तीमा राखेर कसैले पनि दिँदैन । दाम चढाएर त झन् आउँदै आउँदैन । यो हामी आफैँले आर्जन गर्ने कुरा हो । यो हामी आफैँले लडेर ल्याउने कुरा हो । त्यसैले सांस्कृतिक क्षेत्रमा हामी जुन अभियानमा छौँ, हामी आफैँले पहल गर्न आवश्यक छ । निश्चित रूपमा त्यो पहलकदमी पुगेको छैन । यसलाई अझ तीव्रता दिन आवश्यक छ । वर्गसङ्घर्षमा भाग लिनु यसको आधारभूत सर्त हो । जति जति वर्गसङ्घर्ष तीव्र हुँदै जान्छ, उति उति परम्परागत संस्कार संस्कृतिका पर्खालहरू भत्कँदै जान्छन् । अन्ततः यसले नयाँ संस्कृतिको नयाँ क्षितिज पैदा गर्दछ । यसैले यसको परिवर्तनशीलता र गतिशीलताको तीव्रतालाई पक्रँदै जाँदा पनि अर्को विकल्प बन्न सक्छ ।
१०. मृत्यु संस्कारबारे अलि बढी गम्भीरतापूर्वक सोच्न आवश्यक छ । नेपाली समाजमा यसले निकै पिरोलिरहेको छ । यो कुरा कार्यपत्रमा पनि आएको छ । यस्तो बेलामा सबै मिलेर शोकमा परेका सदस्यलाई सान्त्वना दिन सकिन्छ । त्यसलाई सामाजिकीकरण गर्न सकिन्छ । मृतकका असल कामको प्रशंसा गर्ने र समाजका लागि प्रेरणाको विषय बनाउन सकिन्छ । मृत्युसंस्कारसम्बन्धी पुरानो परम्पराका ठाउँमा नयाँ विकल्प दिई शोकमा पनि मानिसलाई धैर्य, साहस, उत्साह दिनेजस्ता कार्यक्रम बनाउन सकिन्छ । मृतकका योगदानको चर्चा पनि एउटा सन्दर्भ हुन सक्छ । त्यसलाई जनहित र समाज हितका पक्षमा सुन्दर कार्यक्रम बनाउन सकिन्छ । गरुड पुराणमा व्यक्त गरिएको अवैज्ञानिक र असान्दर्भिकताबारे खुलेर समाजमा बहस गर्नुपर्छ र त्यस्ता विषयहरूलाई हटाउँदै लैजानुपर्छ । यो सन्दर्भमा अशोक सुवेदीलगायत नेपाली समाजका केही प्रगतिशील अगुवाहरूले आरम्भ पनि गरिरहेका छन् । यो प्रक्रियालाई तीव्रता दिँदै जाँदा पनि सांस्कृतिक रूपान्तरणका विकल्पहरू तयार हुँदै जान्छन् ।
११. अहिले सांस्कृतिक क्षेत्रमा बाह्य हस्तक्षेप तीव्र भएको छ । यहाँको मौलिक संस्कृतिको जगेर्ना गर्ने सवाल एकातिर छ भने अर्कोतिर यसलाई प्रगतिशिलीकरण गर्नुपर्ने चुनौती पनि छँदैछ । यस्तो बेलामा सांस्कृतिक रूपान्तरणको विकल्पको कुरा गरिरहँदाखेरि यस क्षेत्रमा बल प्रयोगको सिद्धान्त लागू हुन्छ कि हुँदैन भन्ने अहिले गम्भीर बहसको विषय बनेको छ । मलाई लागेको कुरा के हो भने सांस्कृतिक क्षेत्रमा पनि खासखास सन्दर्भमा बल प्रयोग गर्नुपर्छ । जनयुद्धकालमा पनि यो विधिको प्रयोग गरिएको थियो । यो विषय अलि बढी आत्मिक भएकाले बल प्रयोग उचित हुँदैन भन्ने कुरा पनि सुनिन्छ तर पनि यसलाई निरपेक्ष होइन, सापेक्ष ढङ्गबाट बुझ्न आवश्यक छ । यसबारेमा थप प्रस्टीकरण संस्थागत रूपमा नेतृत्व तहबाट आउँदा यसले थप मूर्तता पाउनेछ । त्यसले सांस्कृतिक विकल्पको सम्भावना पनि देखाउँछ ।
१२. सांस्कृतिक रूपान्तरणको कुरा गर्दा स्कुलिङको कुरा पनि धेरै महत्वपूर्ण हुने गर्दछ । हामी कमरेड किरणको स्कुलिङबाट परिचालित छौँ । हामी किरणको स्कुलिङबाट अभिप्रेरित छौँ भन्छौँ भने त्यसलाई हामीले हाम्रो जीवन व्यवहारमा के कति प्रयाग गरेका छौँ भन्ने कुरा आउँछ । अहिले यो सवाल पनि गम्भीर रूपमा उठेका छन् । स्खलन र मूल्यहीनताको यस्तो निचतापूर्ण प्रतिस्पर्धामा यो जिज्ञासा उठ्नु अस्वाभाविक होइन । हामी कमरेड किरणले अगुवाइ गरेको पार्टीमा छौँ, कमरेड किरणले पथप्रदर्शन गर्नुभएको पथगामी भएका छौँ । उहाँको स्कुलिङअनुसार हामी कति इमानदार भएर व्यवहारमा प्रयोग गरिरहेका छौँ ? यो बहस नेकपा–माओवादीभित्र मात्रै होइन, बाहिर पनि त्यत्तिकै छ । यतातर्फ पनि अलि ख्याल गरियो भने हामीले नयाँ विकल्प दिन सक्छौँ । माक्र्सवादी स्कुलले माक्र्सवादी संस्कार संस्कृतिको माग गरेको हुन्छ । त्यसलाई जीवन व्यवहारमा उतार्ने प्रक्रियामा नयाँ नयाँ विकल्पको विकास हुँदै जानेछ ।
१३. सांस्कृतिक रूपान्तरणकै कुरा गर्दा शक्तिको स्रोतको पनि चर्चा गर्नुपर्ने हुन्छ । तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो सत्ता टिकाउन चरुको मात्र होम गरेनन्, खुर्सानीको समेत होम गरे । नेपालका मात्र नभएर भारतका प्रायः सबै मठ मन्दिरको पूजा आजा गरे, दान दक्षिणा चढाए । आखिर उनको सत्ता टिक्न सकेन । जनताले सङ्घर्षको बलद्वारा उनको गद्दीलाई रद्दीको टोकरीमा फालिदिए । नेपाललाई धर्मभीरुहरू तेत्तीसकोटि देवताको देश भनेर चर्चा गर्ने गर्दछन् । ईश्वर थियो भने, कुनै दैवी शक्ति थियो भने ज्ञानेन्द्रको सत्ता टिकाइदिन्थे होलान् तर त्यो सम्भव थिएन र भएन पनि । जनता नै शक्तिको स्रोत हो । यो कुरालाई मान्ने हो भने हामीले पनि जनताबाट कट्ने काम कहिल्यै गर्नुहुँदैन । कम्युनिस्टहरू आफ्नो पार्टीलाई जनताको पार्टी भन्छन् तर तिनले व्यवहारले त्यो देखाएको उदाहरण धेरै कम छ । एक समय राम्रै काम गरे पनि अन्ततोगत्वा तिनका आदर्श ढल्ने गरेका छन् । यसरी आफ्नो आदर्शलाई कायम राख्दै जनतासित सुमधुर सम्बन्ध कायम गरियो भने हामीले परम्परागत संस्कार संस्कृतिको विकल्प दिन सक्छाँै ।
१४. संस्कृति राज्यसत्तासित जोडिएको विषय हो । संस्कृति वर्गीय हुन्छ । आफ्नो वर्गको सांस्कृतिक चिन्तनमा इमानदार बन्नु यसको पहिलो काम हो । बुर्जुवाहरूले अभिजात संस्कृतिको पक्षपोषण गरिरहेका हुन्छन् भने श्रमजीवी वर्गको संस्कृति श्रमसित जोडिएर आएको हुन्छ । मूलतः जनसंस्कृतिमा जनताको स्वत्व कायम गरिएको हुनुपर्दछ । माओले भनेका छ्न्– “संस्कृतिबिनाको राजनीति बोधो हुन्छ ।” राजनीतिको उपरिसंरचना संस्कृति हो । त्यसैले असल संस्कृतिको पक्षपोषण गर्दै जाँदा विकल्पहरू पनि तयार हुँदै जान्छन् ।
१५. आज युगान्डामा नेपाली लोकगीत निकै लोकप्रिय बनेको छ । तान्जानियाँमा धनुकाँडे सुरक्षा पनि त्यत्तिकै लोकप्रिय छ । हाम्रा मौलिक तथा सरल र वैज्ञानिक संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक छ । यसलाई विचारसित जोड्न आवश्यक छ । सांस्कृतिक आन्दोलनको मुख्य समस्या विचारधारात्मक समस्या हो । आत्मिक संस्कृतिलाई भौतिक संस्कृतिमा बदल्न आवश्यक छ । नेपालमा अहिले जनवादी संस्कृति कुन चरणबाट गुज्रिरहेको छ भन्ने कुरामा पनि स्पष्ट हुन आवश्यक छ । वस्तुगत पहिचानबिना गरेको कामले खासै उल्लेख्य भूमिका हासिल गर्न सक्तैन । महान् जनयुद्धबाट सिर्जित नयाँ यथार्थलाई आत्मसात् गर्दै जाँदा सांस्कृतिक रूपान्तरणका नयाँ नयाँ विकल्पहरू तयार हुँदै जान्छन् ।
१६. सांस्कृतिक रूपान्तरणमा आत्मसङ्घर्ष, अन्तर्सङ्घर्ष र वर्गसङ्घर्षको भूमिका महत्वपूर्ण हुने गर्दछ । कड्वेलले भनेका छन्– “विज्ञानले संसारलाई बदल्छ, कलाले मनुष्यलाई बदल्छ ।” सत्य, न्याय, परिवर्तन र प्रगतिका पक्षमा निरन्तर लागिरहे नयाँ नयाँ सांस्कृतिक विकल्प तयार हुँदै जानेछन् ।
१७. सांस्कृतिक बजारीकरण हाम्रो सांस्कृतिक आन्दोलनमा जब्बर बनेर देखापरेको समस्या हो । अहिले संस्कृति, राजनीति, व्यापार एकआपसमा गुजुल्टिएर आएको छ । संस्कृतिसित भारतीय संस्कृति, अमेरिकी संस्कृति, नवऔपनिवेशिक संस्कृति घालमेल भएर आएको छ । यो व्यापार बनेको छ । यसविरुद्धको सङ्घर्ष अब परम्परागत ढङ्गले सम्भव छैन । प्रगतिवादी कला साहित्यले जीवन र जगत्को क्रान्तिकारी कलात्मक पुनर्सिर्जन गर्दै सर्वहारावर्गले चलाइरहेको आन्दोलनलाई ठोस सहयोग पु¥याउनुपर्छ । यसका निम्ति नयाँ मोडेलको कार्यविधि बनाउन आवश्यक छ । लेनिनले भने झैँ जनसंस्कृति आकाशबाट झर्दैन । त्यसैले यही धर्तीमा जनसमुदायले संस्कृतिका विभिन्न विकल्प तयार पार्दै जान्छन् ।
१८. अनलाइनबाट पशुपतिको दर्शन गरिन्छ । यो सूचना प्रविधिले ल्याएको विकास र यसले सांस्कृतिक क्षेत्रमा पारेको प्रभावको उदाहरण हो । त्यस्तै, अहिले महिलाहरूले पनि किरियाकर्म गर्न थालेका छन् । कैयौँ क्षेत्रमा परिवर्तनका सङ्केतहरू पनि देखा नपरेका होइनन् । कैयौँ विदेशीले पनि नेपालमा प्रचलनमा रहेका धर्म संस्कृतिलाई अवलम्बन गर्न थालेका छन् । यसले संस्कृति, सांस्कृतिक मौलिकता, यसमा आएको प्रयोगात्मक विविधताको उजागर गर्दछ । यो कुरालाई पनि हृदयङ्गम गर्न सके यो क्षेत्रको नयाँ सम्भावना पहिल्याउन सकिन्छ ।
१९. अनसनमा पनि साम्राज्यवाद घुसेर आएको छ । नेपालमा बेला–बेलामा मानव अधिकारवादीहरूको आवरणमा अनसनमा बसेको देखिन्छ । यो सिधासिधा साम्राज्यवादी योजना हो । अधिकारी दम्पतीको अनसन पनि त्यसैको पछिल्लो कडी हो । नेपालका कथित अधिकारकर्मीहरू अहिले एकआपसमा पोलापोल गर्न थाल्नुले यो कुरा प्रमाणित हुन्छ । यो साम्राज्यवादी र समाजवादी क्रान्तिको दुवै युग हो । यसमा कसले पहलकदमी लिने भन्ने कुरा मात्र हो । यसको सिधा सम्बन्ध राजनीतिक पार्टीसित हुन्छ । क्रान्तिकारी पार्टीका क्रान्तिकारी कार्यदिशा, त्यसको सांस्कृतिक कार्यदिशासित परिपूरक हुनाले राजनीतिक क्रान्तिसँगै यसको रूपान्तरणको गति पनि निर्भर रहेको हुन्छ । संशोधनवादी र दलाल संस्कृतिका विरुद्ध हामीले जति सङ्घर्षलाई तेज बनाउँदै लैजान्छौँ, उति नै यसका नवीन नवीन सांस्कृतिक स्वरूपहरू देखापर्दै जान्छन् । त्यसैले राजनीतिकर्मीले यसलाई गम्भीरतापूर्वक आत्मसात् गरे भने पनि यसले नयाँ विकल्पको दिशा प्रदान गर्दछ ।
२०. सांस्कृतिक रूपान्तरणको कुरा गर्दा सांस्कृतिक क्षेत्रमा संयुक्त मोर्चाको प्रश्न पनि सँगै जोडिएर आउने गर्दछ । नेपालमा २००९ सालमा स्थापना भएको प्रगतिशील लेखक सङ्घले यस क्षेत्रमा संयुक्त मोर्चाका रूपमा काम गरिरहेको छ । यसले अपेक्षाकृत प्रगति नगरे पनि यो अहिलेसम्म आफ्नै सापेक्षित गतिमा हुनुले यसको सुन्दर भविष्यको सङ्केत गरेकै छ । यसलाई अझ सुदृढ गराउँदै अगाडि बढाउन सके यसद्वारा पनि सांस्कृतिक विकल्प निर्माण गर्ने क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउन सकिन्छ । यद्यपि नेपालमा संयुक्त मोर्चाको संस्कृति अझै विकास भइसकेको छैन । यो न्यूनतालाई पूर्ति गर्दै अघि बढ्न सम्बन्धित नेतृत्व तयार हुन जरुरी हुन्छ ।
२१. नेपालमा आज पनि केही मानिसहरू राजतन्त्रको कुरा गरिरहेका छन् । नेपालमा यो धर्म संस्कृतिसित जोडिएको विषय हो । माक्र्सले भने झैँ मानिसले धर्मको सृष्टि गर्छ, धर्मले मानिसको सृष्टि गर्दैन । अमेरिकी विद्वान् नोम चम्स्की सीएनएन हेर्दैनन् र भन्छन्– “यो अमेरिकी विदेश मन्त्रालयको प्रवक्ता हो ।” सांस्कृतिक आन्दोलन असभ्यताबाट सभ्यतातिर, अँध्यारोबाट उज्यालोतिर र विपन्नताबाट सम्पन्नतातिरको यात्रा हो । यो मृत्युविरुद्ध जीवनको शङ्खघोष हो । आधुनिकतालाई स्वीकार गर्नु त पर्छ तर यसको सारलाई पक्रिन सकिएन भने ठूलो समस्या आइपर्छ । यसलाई अहिले विभिन्न कोणबाट आधुनिकताको गलत प्रचार गरिएको छ । आधुनिकता भनेको राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षता हो । यी तीन कुरालाई इमानदारीपूर्वक आत्मसात् गरियो भने पनि नयाँ नयाँ विकल्प तयार हुँदै जानेछन् । यसका निम्ति सबैले आ–आफ्ना तर्फबाट काम गर्न आवश्यक छ ।
(ङ) विकल्पका पहलहरू
१. सांस्कृतिक रूपान्तरण दुई किसिमले हुने गरेको छ– एउटा, समयक्रमसँगै रूपान्तरण हुँदै गएर बन्ने विकल्प र अर्को सचेतन प्रयत्नद्वारा रूपान्तरण हुँदै निर्माण भएको नयाँ विकल्प । अहिले नेपालका धेरै संस्कारहरू फेरिँदै जान थालेका छन् । नयाँ नयाँ विकल्पहरू तयार पनि हुँदै गएका छन् । नेपाली समाजमा मनाउँदै आएको राष्ट्रिय चाडपर्व तथा मृत्युसंस्कारसम्बन्धी संस्कृति पेचिलो बन्ने गरेको छ । मृत्युसंस्कार शोक र समवेदनाको विषय भएकाले पनि यो नेपाली समाजमा जटिल परम्परा बनेको हो । परम्परागत रूपमा रहेको नेपाली समाजमा सो¥ह संस्कार अहिले प्रचलनमा छैन । आफ्नो कार्यपत्रमा ज्ञवाली लेख्छन्– ‘सो¥ह संस्कारभित्र गर्भाधान संस्कारदेखि पुंसवन, सीमन्तोनयन, जातकर्म, नामकरण, निष्क्रमण, अन्नप्रासन, कर्णवेधन, विद्यारम्भ, चूडाकर्म, उपनयन, वेदारम्भ, केशान्त, समावर्तन, विवाह, अन्त्येष्टि संस्कारसम्म पर्छन् तर यीमध्ये गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, वेदारम्भ, केशान्त, समावर्तनजस्ता संस्कार कट्टर संस्कारवादीहरूले पनि छोडिसकेका छन् । त्यस्तै जातकर्म, कर्णवेधन, विद्यारम्भ, वेदारम्भ, चूडाकर्म पनि प्रायः हराउँदै गएका छन् । गर्नेले पनि विधि विधान, नियम–पद्धतिअनुसार होइन, सामान्य देखावटी रूपमा मात्र गर्ने गरेको पाइन्छ । खाली नामकर्म, अन्नप्रासन, उपनयन, विवाह र अन्त्येष्टि कर्म मात्रै अझै बाँकी रहेका छन् । त्यसैले यी संस्कारहरूबाट पनि विज्ञानअनुकूल सोच्नु जरुरी छ । वैज्ञानिकतामा बदल्न जरुरी छ ।’
२. हिन्दूलगायत सबै धर्मका चाडपर्व, व्रतपूजा, धार्मिक संस्कारहरू नेपाली समाजमा व्याप्त नै रहेको छ । यसले सकारात्मकभन्दा नकारात्मक सन्देश नै बढी मात्रामा प्रवाह गरेका छन् । यसको नकारात्मक प्रवाहलाई बदलेर सकारात्मक प्रवाहमा ल्याउन आवश्यक छ । यो कुरा व्यक्ति वा समुदायको विचारधारासित सम्बन्धित रहेको हुन्छ । यसबारे माक्र्सवादी सौन्दर्यचिन्तक किरण भन्छन्– “सांस्कृतिक रूपान्तरणको मूल लक्ष्य पुरानो विचारधारा र संस्कृतिलाई विस्थापित गर्दै नयाँ विचारधारा र संस्कृतिलाई स्थापित तुल्याउनु हो’, (माक्र्सवाद र संस्कृति, पृ. १३) । अहिले नेपाली समाजमा नाम राख्ने प्रचलन बदलिएको छ । व्रतबन्धको चलन हट्दै गएको छ । प्रणय तथा अन्तर्जातीय विवाह बढ्दै जानु सामाजिक जागरणको परिचायक हो । यी मानिसमा आएको चेतना र त्यसको आलोकमा बन्दै गएको सांस्कृतिक विकल्पसम्बन्धी पहल हुन् । यसलाई तीव्रता दिन आवश्यक छ ।
३. नेपाली समाजमा मानिसको अन्त्येष्टिसम्बन्धी संस्कार अझै पनि पेचिलो प्रश्न बनेको छ । यसले हिन्दूधर्मावलम्बीहरूलाई बढी प्रभाव पारेको छ । यो शोक र समवेदनासित जोडिएको विषय भएकाले पनि यस्तो भएको हुन सक्छ । अन्त्येष्टिबारे ज्ञवाली आफ्नो कार्यपत्रमा थप प्रस्ट पार्छन्– ‘अन्तिम संस्कार बढी समस्यापूर्ण छ । कोरा बस्ने, किरिया गर्ने, सेतो कपडामा बर्खी बार्ने, छोइछिटो गर्ने, ते¥ह दिन नुन बार्ने, गरुड पुराण लगाउनेजस्ता सबै कुरामा परिमार्जन गर्नुपर्छ । दान दक्षिणा, पिण्ड–दातव्यबाट परलोकको सुधारका कुरा गफ मात्रै हुन् । त्यसो नभए पुरोहितले दानै लिने थिएन, बरु दिन्थ्यो । काल्पनिक गरुड पुराणका कुरामा भ्रमित हुने र त्यसको निर्देशनमा चल्ने गर्दा मर्नेका कारण बाँच्नेले दुःख पाउने सही होइन । आफ्ना पुर्खाको सम्झना, सम्मान र श्रद्धा गर्नु राम्रो हो । त्यसको एक दिवसीय कार्यक्रम हुन सक्छ । यसले अतीतको वंश जीवनलाई ताजा बनाउँछ तर पुरोहितकर्मको झम्मारबाट भने मुक्त हुनुपर्छ । तीन दिन आफ्ना मृत पिता माता, पूर्वजहरूलाई सम्झना गर्नु, शोक मनाउने गर्नु र त्यसपछि पूर्ववत्, सामान्य अवस्थामा फर्कने कुरा गर्नु नै सही हुन्छ । सेतो कोरामा वर्षभरि बर्खी बार्ने कुरा खारेज गर्नुपर्छ । दान दातव्यभन्दा पुरस्कार, छात्रवृत्ति, सामाजिक काम, स्मृति–प्रतीक बनाउनु पुर्खाको सही सम्मान र सम्झना हुन्छ ।’
४. हामी २१ औँ शताब्दीभित्र प्रवेश गरिसकेका छौँ । हामीले सोचेजस्तो राजनीतिक तथा सामाजिक विकल्प तयार पार्न सकेका छैनौैैैँ । त्यसमा पनि सांस्कृतिक क्षेत्र निकै पछि परेको छ । त्यसैले यो क्षेत्रमा विकल्प तयार पार्दै अघि जान विलम्ब हुँदै गएको छ । हामीले आफ्ना उपलब्धिहरूलाई संस्थागत पनि गर्न सकिरहेका छैनौँ । यसतर्फ हाम्रो आवश्यक मात्रामा ध्यान पुगेको जस्तो लाग्दैन । यसबारे किरण थप्छन्– ‘जनयुद्ध दिवस, सहिद सप्ताह, सांस्कृतिक बलिदान र प्रतिरोध दिवसद्वय वीरता र बलिदानको रातो मसीले लेखिएका नेपाली जनताका नयाँ तिहार हुन् । यहाँ धेरै रगत, आँसु र पसिना पोखिएका छन् । यहाँ वेगवान् संवेदना, भावना र विचारको सङ्गम छ । यी महान् पर्वहरू नयाँ सांस्कृतिक मूल्यबोधका उज्ज्वल विचार र प्रतीक बन्न गएका छन् । यी महान् पर्वहरू सदैव अत्यन्त मूल्यवान् बनेर अङ्कित भइरहनेछन् ।’
नेपाली समाजमा जिउँदो रहेको संस्कार र चालचलन, परम्परा, रीतिस्थितिबारे निनु भन्छन्– “कुरा भौतिकवादको गर्ने तर अध्यात्मवादी आचार–व्यवहार नछाड्ने, मुखले अदृश्य शक्तिको विरोध गर्ने तर घरभित्र ईश्वरको पूजा गर्ने कार्यलाई निरन्तरता दिने, कुराकानीमा शोषणको विरोध गरे जस्तो गर्ने तर व्यवहारमा भने शोषणलाई भरथेग गर्न बनाइएका संस्कार र चालचलन, परम्परा, रीतिस्थितिलाई शोषक वर्गले जस्तै मानिरहने यो वास्तवमा पाखण्डबाहेक अर्थोक केही होइन’, (सन्दर्भ ः संस्कृति र सांस्कृतिक रूपान्तरण, १५९)
५. बीपी कोइराला, खगेन्द्र सङ्ग्रौला, केवलपुरे किसान, चित्रबहादुर केसी, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, नारायण शर्मा, बाबुराम भट्टराई, अशोक सुवेदी, चन्द्रहरि सुवेदी अटल, रूपचन्द्र बिष्ट थाहालगायतले आफ्ना बा–आमाको धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार मृत्यु संस्कार गरेनन् । बीपी माक्र्सवादी नभएर पनि उनले भौतिकवादीलाई स्वीकार गरे तर उनले पनि विकल्प दिएनन् । उनले आफ्नो क्रिया नगर्नचाहिँ सुझाए । खगेन्द्र गरुण पुराण सुने तर त्यसको प्रतिवाद गरे । केवलपुरे किसानले क्रियाकर्म मानवता विरोधी भएकोले नगर्न आफ्ना सन्तानलाई पनि पोत्साहित गरे । अरूले पनि आफूलाई यसमा विश्वास नभएको बताए । अशोक सुवेदीकी आमाले आफ्ना सन्तानलाई आफ्नो किरिया नगर्नु भने तर सामाजिक दबाबपछि जेठो र कान्छो छोराले किरिया गरे पनि अशोकले बहिष्कार गरे र विकल्पका रूपमा श्रद्धाञ्जलीसभा, गोष्ठी, अन्तत्र्रिmयाको आयोजना गरे र परम्परागत संस्कार संस्कृतिको विकल्प खोज्दै एउटा अभियान सञ्चालन गरे । उनले बाबुआमाका नाममा स्थापना गरेको साहित्यिक प्रतिष्ठान, हरेक वर्ष गर्दै आएको साहित्यिक यात्रा, साहित्यिक प्रतियोगिता र बाबुआमाका नाममा गाउँ, जिल्लादेखि मुलुकका विभिन्न स्थानमा सञ्चालन गरेको अभियान आफ्ना अग्रजहरूा नाममा हुँदै आएका परम्परागत कर्मका विकल्पका रूपमा देखिएका छन् ।
६. चितवनमा प्रेमबहादुर पण्डितको नाममा प्रेमबहादुर पण्डित–डम्बरकुमारी पण्डित साहित्य प्रतिष्ठान निर्माण गरेर प्रत्येक वर्षको उनको वार्षिकीमा साहित्यकारहरलाई जिल्लाकै सबैभन्दा ठूलो साहित्यिक पुरस्कार दिने गरिएको छ । यो पनि परम्परागत संस्कार र संस्कृतिको क्षेत्रमा निर्माण हुँदै गरेको विकल्प हो । यस्ता सन्दर्भहरू नेपाली समाजमा बढिरहेका छन् । यसलाई अझ व्यवस्थित रूपमा बढाउन आवश्यक छ । यसमा हामी सबैको साथ, समर्थन र सहयोग तथा सिर्जनात्मक चिन्तनधारामा पनि वैज्ञानिकीकरण गर्न आवश्यक छ । यो सांस्कृतिक विकल्पका क्षेत्रमा भएका पहल हुन् । यसलाई थप व्यवस्थित बनाउँदै तीब्रता दिन आवश्यक छ । त्यस्तै, किराँत समुदायले जन्म तथा मृत्यु संस्कारमा प्रयोग हुँदै आएको जाँड र सुँगुरको प्रयोगलाई हटाउँदै लगेका छन् । यो समुदायले मनाउँदै आएको उधौली र उभौली पर्वमा केही विकृतिका लक्षणहरू देखापरे पनि यसलाई वैज्ञानिक बनाउन प्रयास भइरहेको बुद्धिजीवी तथा वरिष्ठ पत्रकार गोपाल छाङ्छा राईको भनाइ छ । मृत्युपछि तीन वा पाँच दिनमा चोख्याउने नाममा यो समुदायले गर्दै आएको धुमधामको शैलीलाई पनि कम गर्दै लगेका छन् । यो समुदायको पहललाई सकारात्मक नै मान्नुपर्दछ । गलत संस्कार र प्रवृृत्ति हटाउँदै जाँदा समाजका संस्कार र संस्कृतिलाई एकैचोटि निषेध गर्दा हुने प्रत्युत्पादक परिणामतर्फ पनि सचेतता अपनाउन जरुरी छ ।
७. नेपाली समाजमा जागरण बढ्दै गएको छ । यसो हुनुमा १० वर्षको जनयुद्धको मुख्य भूमिका रहेको छ । यद्यपि नेपाली समाजको आधारभूत चरित्रमा परिवर्तन आएको छैन । नेकपा माओवादीको नेतृत्वमा भएको महान् जनयुद्धले छाउपडी, छुवाछूत, पर्व र व्रतहरू मात्र तोडिएनन्, महिलामाथिका हिंसा, अपराध कम भएका थिए । नेपाली समाजमा रहेका हिन्दू, बौद्ध, क्रिस्चियन, मुस्लिमलगायत धर्म र यसद्वारा अनुप्राणित परम्परागत संस्कार संस्कृतिमा सापेक्षित रूपमा नै भए पनि परिवर्तन आएका छन् । यसलाई योजनाबद्धतामा विकल्प निर्माण गर्दै जानु बुद्धिमानी हुन्छ । धार्मिक अतिक्रमणले पैदा गरेका विकृतिमाथि पनि चनाखो रहनु आवश्यक छ । आधुनिकताको नाममा मौलिक संस्कृतिको उपेक्षा गर्ने र विदेशी संस्कार संस्कृति अपनाउने कुरा गलत छ । राम्रा तथा वैज्ञानिक कुराहरू जो कोहीबाट पनि सकिन्छ तर आफ्नो स्वत्व तै गुम्नेगरी भएका र हुने विषयहरूलाई निषेध गर्न आवश्यक छ । जनताका सङ्घर्ष र त्यसद्वारा अनुप्राणित संस्कार संस्कृतिको सम्मान र व्यवहारमै ग्रहण गर्दै जानुको विकल्प छैन ।
८. सरकारले सांस्कृतिक क्षेत्रलाई व्यवस्थित बनाउन बेला–बेलामा विभिन्न ऐन नियमहरू पनि बनाउने गरेको छ । यद्यपि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । पछिल्लो चरणमा नेपाल सरकारले एक यस्तो सामाजिक व्यवहार सुधार विधेयक ल्याएको छ जसले दाइजो लिए वा दिएमा विवाह नै बदर गर्नेसम्मको व्यवस्था गरिएको छ । यो पनि विकल्पमा क्षेत्रमा भएको प्रयास हो । त्यसैगरी हालसालै गुल्मीका सचेत युवाहरूले मृत्युसंस्कारलाई मितव्ययी र सरल बनाउन एउटा अभियान नै सुरु गरेका छन् । उनीहरूले १३ दिन गरिने काजक्रियालाई ३ दिनमा झार्नेलगायत माग गरेका छन् । व्यापक हस्ताक्षर अभियान सुरु गरेका उनीहरूले नेपाल सरकार र सरोकार पक्षहरूमा दबाब सिर्जना गरी सामाजिक तथा सांस्कृति रूपान्तरण र विकल्प तयार गर्ने पक्षमा भएको बताइएको छ । निश्चय पनि यी र यस्ता कामहरू निकै प्रशंसनीय मान्नुपर्दछ । यो पनि सांस्कृतिक विकल्प निर्माणको क्षेत्रमा भएको पहल हो ।
९. डाँगीहाट ३, मोरङका चूडामणि गिरीले आफ्नी आमाको मृत्यु भएपछि क्रिया गरेनन् । उनले बहिष्कार गरेको क्रियाकर्म र त्यसक्रममा पाएका प्रताडनालाई समेटेर पुस्तक तयार पारेका छन् । यसमा उनले परम्परागत रूपमा गरिँदै आएको मृत्युसंस्कारसम्बन्धी आफ्ना विचार मात्र दिएका छैनन््, सांस्कृतिक पाखण्डको भण्डाफोरसमेत गरेका छन् । यस्ता कामको सिलसिलामा केही तीव्रता त आएको छ तर सम्बन्धित पक्षको यथेष्ट ध्यान पुगेको पाइँदैन तर पनि लेखक साहित्यकार, संस्कृतिचिन्तकहरूबाट यो क्षेत्रमा जे जति पहल भएका छन्, ती सबै विकल्पका क्षेत्रमा भएका प्रयास हुन् ।
१०. माओवादीले दसैँलाई पृथक् तरिकाले मनाउँदै आएको छ र कतिपय सन्दर्भमा यो क्रम अझै पनि कायम छ । जनयुद्धकालमा दसैँको बेला पार्टीले एकतर्फी रूपमा युद्धविरामको घोषणा गर्दथ्यो । त्यतिखेर जनताका घरदैलोमा गएर योजनाहरू राखिन्थ्यो । जनताले प्राप्त गरेको विजयका रूपमा पो मनाउने हो भन्थे जनमुक्ति सेनाहरू । दसैँ भेटघाटको एउटा अवसर पनि थियो । खासमा क्रान्तिकारीहरूले दसैँलाई सैन्य अभ्यास, खेलकूद आदिका माध्यमबाट मनाउँदै आएको इतिहास पनि छ । त्यतिखेर पुराना संस्कारलाई प्रगतिशील संस्कार र संस्कृतिमा बदलेर यस्ता पर्वलाई नयाँ ढङ्गबाट मनाउने गरिएको थियो । संस्कृतिलाई चेतनागत पक्षसित जोडेर हेर्न थालिएको थियो । मानिसहरू जनवादी संस्कृतिमा अभ्यस्त हुँदै गएका थिए । अहिले दसैँ, तिहार, तीज, छठलगायत चाडपर्वहरूलाई बहुराष्ट्रिय कम्पनीले आफ्नो व्यापारको साधन बनाइरहेको छ । उपभोक्तावादी संस्कृतिले हाम्रा चाडपर्वलाई खर्लप्पै निलेको छ । धर्म–संस्कृति मनोविज्ञान, जीवन व्यवहार, अर्थतन्त्र र राज्यसत्तासित अभिन्न रूपले जोडिएको विषय भएकाले यसको रूपान्तरण जटिल छ तर असम्भव छैन । सांस्कृतिक क्षेत्रमा क्रियाशील सङ्घ संस्थाहरूको पहल अझ बढाउन आवश्यक छ । यसको विकल्पको क्षेत्रमा भएका व्यक्तिगत तथा संस्थागत पहलहरूलाई थप व्यवस्थित बनाउँदै निरन्तर अघि जान सके यसले सुखद परिणाम दिनेछ ।
(च) निष्कर्ष
हामो संस्कृति जनसंस्कृति हो । संस्कृति नै नभएको राजनीति बोधो हुन्छ भन्ने माओको उक्ति छ । राजनीतिको एउटा महत्वपूर्ण उपरिसंरचना संस्कृति हो । मात्र यसको जनवादीकरण गर्नु हाम्रो दायित्व हो । अपसंस्कृति मौलाइरहेको वर्तमानमा सामन्तवादका नाइकेको अन्त्य भए पनि त्यसका सांस्कृतिक अवशेषहरू ज्यूँकात्यूँ छन् । हाम्रो राष्ट्रिय संस्कृति वैज्ञानिक र सामन्तवाद विरोधी छ । यसलाई जनवादीकरण गर्दै अघि बढ्नेखालको हाम्रो सांस्कृतिक आन्दोलनको मूल दिशा हुनुपर्दछ । मूलतः हाम्रा शब्द र कर्मबीच मेल गराउँदै हामीले हाम्रो रूपान्तरणलाई समृद्ध गर्न सक्छौँ । नवीन विचार, चेतना, चिन्तन र शैलीगत संस्कृतिको जन्म वर्गसङ्घर्षबाट, उत्पादनका लागि सङ्घर्षको क्रममा र वैज्ञानिक प्रयोग गर्दा हुन्छ । जसरी पानीविनाको माछाको जीवन रहँदैन, त्यसैगरी नवीन विचार, चेतना र चिन्तनबिना असल संस्कृतिको जन्म, वृद्धि र सुदृढीकरण असम्भव छ । सांस्कृतिक रूपान्तरण वस्तुतः यथार्थसँग गाँसिएको हुन्छ । यो असभ्यताबाट सभ्यतातिर, अँध्यारोबाट उज्यालोतिर, विपन्नबाट सम्पन्नतातिरको यात्रा हो । यो मान्छेको पुरानो मानसिक तथा आत्मिक संसार भत्काएर नयाँको निर्माण पनि हो । यो मृत्युविरुद्धको सुन्दर जीवनको शङ्खघोष पनि हो । आत्मरूपान्तरणबिना रूपात्मक रूपान्तरणले मात्र परिवर्तन हुन सक्दैन । विचारधारात्मक प्रस्टता आत्मरूपान्तरणको प्रमुख कडी हो । यसो पनि सकिन्छ– सांस्कृतिक रूपान्तरण भनेको परिवर्तनको जरा हो । यो कुरा विचारधारासित जोडिएको हुन्छ । सुधारवाद र संशोधनवादमा फसेकाहरूबाट यसको रूपान्तरणको आशा गर्नु बेकार छ । चैतन्यले भनेका छन्– “क्रान्तिकारी संस्कृतिको निर्माणका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्व अनिवार्य रूपमा आवश्यक हुन्छ । टुप्पीदेखि पैतालासम्म सुधारवाद र संशोधनादको भासमा फसेकाहरूबाट नयाँ संस्कृति निर्माणको आशा, अपेक्षा तथा कल्पना गर्नै सकिन्न ।”
सांस्कृतिक रूपान्तरण र वैकल्पिक संस्कृतिको प्रश्न गुरुत्तर मूल्य बोकेको सवाल हो । मूल्यस्खलित वर्तमानमा यो सवाल झनै संवेदनशील बनेर उभिएको छ । आज आदर्शमा, बलिदानको मूल्यमा स्खलन आएको छ । आज एउटा कोणबाट महान् जनयुद्धलाई ‘अनावश्यक’ को संज्ञा दिन थालिएको छ । यसले महान् सहिदहरूको घोर अपमान गर्दछ । त्यसैले बलिदानको मूल्यमाथि गम्भीर सङ्कट पैदा हुँदै गरेको यो घडीमा हामीले बलिदानको मूल्यको रक्षा गर्नु, क्रान्तिको उपलब्धिको संवद्र्धन गर्दै बाँकी रहेको क्रान्तिको कार्यभार पूरा गर्न अझै बलिदानको कोटा चुक्ता गर्न तयार रहन जरुरी छ । हामीलाई थाहा छ– लाखौँलाख दासहरूको मुक्तिका लागि स्पार्टाकसको विद्रोहकै क्रममा सहादत भयो । जर्दानो बु्रनोले सत्यको वकालत गर्दा कट्टरपन्थी धर्मगुरुले फाँसी दिए । सुकरातले विष पिउनुप¥यो । चार्वाक भौतिकवादी ऋषि थिए । उनले वास्तविकताको वकालत गर्दा ढुङ्गाले हानेर मारियो । थुप्रै दार्शनिकहरूलाई सत्यको पक्षपोषण गर्दैगर्दा फाँसीको सजाय दिइयो । ब्रुनोलाई ढुङ्गाले हानेर मारिएको थियो । ग्यालिलियोले समेत ढाँट्नुपरेको सबैलाई थाहा नै छ । कैयौँ विद्वान्हरू फाँसीमा झुन्डिन तयार भए, उनीहरू मृत्यु स्वीकार्न तयार भए तर आपूmलाई डगमगाएनन् । उनीहरूलाई बलिदान प्यारो लाग्यो । के उनीहरूलाई त्यसो गर्नु रहर थियो, फासीमा झुन्डिन कसैलाई रहर हुन्छ ? ढुङ्गाको कुटाइबाट मर्न कसैलाई रहर हुन्छ ? समाजबाट बहिष्कृत हुन कसैलाई रहर हुन्छ ? हाम्रै आन्दोलनमा पनि कृष्ण सेन ‘इच्छुक’ ले सत्यका पक्षमा लड्दालड्दै महेन्द्र पुलिस क्लबमा यातनाले थिलथिलो हुँदा पनि आफ्नो आस्था र निष्ठा कायम राखे । उनलाई सहादत प्रिय बन्यो । त्यो इच्छुकको रहर थियो ? पक्कै थिएन । महान् लेनिनले सबै जनताले गुलियो चिनी भएको चिया खान नपाएसम्म चिनी नै नखाएको उनको सङ्कल्प हामी संस्मरण गर्न तयार छौँ ? हाम्रो आन्दोलनलाई उठाउनका निम्ति, सांस्कृतिक आन्दोलनलाई नयाँ दिशा दिनका निम्ति, जनतालाई नयाँ संस्कृतिको नयाँ क्षितिज उघारिदिनका निम्ति के हामी बलिदान दिन तयार छौँ ? के हाम्रो नेतृत्व बलिदान दिन तयार छ ? के हाम्रो पुस्ता बलिदान गर्न तयार छ ? तयार छैनौँ भने विकल्प पनि तयार हुनेछैन । हामी परिवर्तनका खातिर, मुक्तिका खातिर बलिदान गर्न तयार छौँ भने परम्परागत संस्कार संस्कृतिको विकल्प पनि तयार हुनेछ र हुँदै जानेछ ।

प्रतिक्रियाहरु