घरजग्गा मेला वैशाख २५ देखि

२०७१ बैशाख ११ गते, बिहीबार


काठमाडौं, ११ बैशाख। नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा वैशाख २५ देखि ‘एनएलएचडीए घरजग्गा मेला’ हुने भएको छ । संघले चौथो पटक आयोजना गर्न लागेको मेला भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुनेछ । मेलाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव तथा एक्स्पो संयोजक मीनमान श्रेष्ठले घरजग्गा कारोबार व्यवस्थित र गतिशील बनाउन एक्स्पोबाट सहयोग पुग्ने बताए ।’सेवाग्राहीका लागि सही र विश्वसनीयता छनोट, समुचित मूल्य र बजारको यथार्थ अवस्थाबारे जानकारी गराउनेछौं,’ उनले भने । मेलाबाट घरजग्गाबारे उपभोक्तामा देखिएको दुविधा हटाउने उनले दाबी गरे ।
संघका अध्यक्ष इच्छाराज तामाङले २ वर्षयता यस क्षेत्रमा सुधारको संकेत देखिएकाले संघले दिएको सुझाव सरकारले अविलम्ब कार्यान्वन गर्नुपर्ने बताए । घरजग्गा क्षेत्रमा केही व्यवसायीको त्रुटिका कारण केही समस्या देखिए पनि एक्स्पोमा उपभोक्तालाई बुझाउनुपर्ने उनले बताए । कान्तिपुर मिडियाका कर्पोरेट चिफ महेश स्वाँरले एक्स्पोले खरिदकर्ताको आत्मविश्वास बढाउने बताए । ‘मेलामा उपभोक्ता र विक्रेताबीच व्यापक अन्तरक्रिया हुन्छ । अवलोकनकर्ताको जिज्ञासा मेटाउने उपयुक्त थलो हुनेछ,’ उनले भने । मेलामा १ सय ५० भन्दा बढी प्रदर्शनीकर्ताले बसोवास क्षेत्रमा उपभोक्तालाई जानकारी गराउनेछन् ।

प्रतिक्रियाहरु