नयाँ जनवादी क्रान्तिबिना समस्याको समाधान हुँदैन – मोहन वैद्य ‘किरण’, अध्यक्ष, नेकपा-माओवादी

२०७० असार १ गते, शनिबार

० पार्टी र्पुनर्गठन भएको एक वर्षभएको छ, यो अवधिको कसरी मूल्यांकन गर्नुहुन्छ ?
मुख्यरूपमा विचारधारात्मक राजनीतिक उपलब्धि नै हो । नेपालमा जनवादी क्रान्ति गर्ने पार्टी माओवादी पार्टी हो । मार्क्सवाद, लेनिनवाद, माओवादको पथप्रदर्शनमा हिँडेको पार्टी हो । देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने पार्टी हो । जनताको जनतान्त्रिक हक, अधिकारका निम्ति लड्ने पार्टी माओवादी पार्टी हो भनेर आमजनताबीच स्थापित भएको छ । हामीले अहिले सामान्य प्रकारका संर्घष्ाका कार्यक्रमहरू ल्याएका छौँ, यद्यपि ठूला संर्घष्ाका कार्यक्रमहरू हामीले ल्याउन सकेका छैनौँ । यही संर्घष्का बीचबाट हाम्रो राजनीतिक कार्यदिशाबाट एउटा नयाँ पहिचानसहितको क्रान्तिकारी पार्टीको रूपमा स्थापित भएको छ, मुख्य कुरा यही हो ।
० तपाईंहरूले अग्रगमनका लागि पार्टी र्पुनर्गठन गर्नुभयो, देश त झन् पश्चगमनतिर धकेलिइरहेको छ, के भन्नुहुन्छ ?
हामीले पार्टी गठन गर्ने बित्तिकै देशलाई अग्रगमनतिर लैजान तुरुन्तै सम्भव नहुने कुरा भयो । क्रान्ति भन्ने कुरा ‘तात्तै खाउँ जल्दै मरुँ’ भन्नेजस्तो होइन । अहिले भन्ने बित्तिकै सम्भव हुँदैन । त्यो एउटा निम्न पुँजीवादी दृष्टिकोण हुन जान्छ । देशको राज्यसत्ता सबैलाई ध्वस्त पार्नको निम्ति दस वर्षो जनयुद्ध गरियो, तर यो दक्षिणपन्थी विचलनमा फस्यो, त्यसका विरुद्ध हामीले संर्घष् गर्यौँ । क्रान्ति एकछिनमा त्यतिकै हुने कुरा होइन, क्रान्ति भोजभतेर होइन ।
० पार्टी एकीकरणको चर्चा पनि चलिरहेको छ, वास्तविकता के हो ?
यो गलत कुरा हो । यस विषयमा हामीले वक्तव्य जारी गरेर प्रस्ट पारिसकेका छौँ । यस विषयमा अरु थप भन्नुपर्ने केही छैन ।
० दस वर्षो जनयुद्ध र १९ दिने जनआन्दोलनको मर्मविपरीत बनेको सरकारले चुनावको मिति घोषणा गरेको छ, के भन्नुहुन्छ ?
यो एकदम गलत भइरहेको छ । हामीले यो असंवैधानिक र अलोकतान्त्रिक कदमको समग्ररूपमा विरोध गर्दै आएका छौँ । यो असंवैधानिक र अलोकतान्त्रिक कदम खारेज हुनुपर्छ । यो असंवैधानिक सरकार खारेज गरेर र्सवपक्षीय गोलमेच सभाका बीचबाट नयाँ निकास निकाल्नुपर्छ । सरकार प्रमुख पनि दलहरूबाटै बन्नुपर्छ । राष्ट्रिय संयुक्त सरकार बन्नुपर्छ, यसको विकल्प छैन ।
० तपाईंको पार्टीकोमहाधिवेशनले जनयुद्धको जगमा जनव्रि्रोहको कार्यदिशा लिएको थियो, अहिले जनव्रि्रोह गर्ने बेला भएको हो त ?
जनव्रि्रोह भनेर मात्र हुँदैन, त्यसको निम्ति तयारी गर्नुपर्छ । अहिले जनव्रि्रोहको निम्ति वस्तुगत, आत्मगत आधार तयार पार्दै अगाडि बढ्ने बेला हो । पार्टी यही दिशातिर अगाडि बढिरहेको छ ।
० त्यसको लागि नेपाली जनताले कति दिन कुर्नुपर्ला त ?
यो ज्योतिषीले जस्तो पात्रो हेरेर भन्ने विषय होइन । जुन बेला वस्तुगत र आत्मगत परिस्थितिको संयोजन हुन्छ, त्यहीबेला क्रान्ति हुन्छ । अहिले संकट छ, संकटको समाधान नयाँ जनवादी क्रान्तिबेगर हुन सक्दैन । यस विषयमा सबै जनताहरू, देशभक्त, गणतन्त्रवादी सब एक ढिक्का भएर अगाडि बढ्नुपर्छ, अनि मात्र क्रान्ति सम्पन्न हुन्छ ।
० क्रान्तिको कुरा गर्नु भयो तर पार्टीभीत्र एकमत छैन, अन्तरसंर्घष् चर्कंदै गएको छ भनिन्छ । यथार्थता के हो प्रस्ट्याइदिनुहोस् न ?
यो झूठ कुरा हो । हाम्रो पार्टीले महाधिवेशनले लिएको कार्यदिशामा कुनै मतभेद छैन । पार्टीभीत्र एकमत छ । पार्टीभीत्र एकमत छैन भन्ने झूठो प्रचारबाजी मात्र हो । हो, एउटा पार्टीभीत्र अन्तरविरोधहरू भइरहन्छन्, त्यो स्वभाविक कुरा हो । अन्तरसंर्घष् भएन भने पार्टी मरिहाल्छ नि । त्यसकारण अन्तरसंर्घष् पार्टीको जीवन हो । पार्टीभीत्र सामान्य किसिमका अन्तरविरोध भइरहन्छन् । मूलभूतरूपमा पार्टीलाइनको विषयमा हाम्रो पार्टीभीत्र मतभेद छैन, एकढिक्का छ ।
० तपाईंको पार्टीलाई देशभित्रका दलको पनि साथ र सहयोग छैन, विदेशी मित्रराष्ट्रहरूको पनि साथ र सहयोग छैन, अनि कसरी क्रान्ति सम्पन्न गर्नुहुन्छ ?
हिजो जनयुद्ध सुरु गर्ने बेलामा पनि कसैको साथ र सहयोग थिएन । यी सबै दलहरूले हाम्रो विरोध गरेका थिए । हामीले पार्टी एकता गर्ने भनेर एकताकेन्द्र बनायौँ, त्यही पनि फूट भयो । त्यसपछि हामीले माओवादी पार्टी गठन गरेका हौँ । त्यसपछि हामीले क्रान्ति गरेका हौँ । त्यसकारण हामीसँग थुप्रै अनुभवहरू छन् । अवसरवादीहरूलाई कारवाही गर्न थालेपछि पार्टी बलियो बन्छ भन्ने हामीलाई राम्रोसँग थाहा छ । त्यसैले अवसरवादीहरूले हामीलाई साथ र सहयोग गर्ने कुरै भएन । हामी जनताको बीचमा जान्छौँ । जनताका समस्याहरूलाई पक्रेर हामी क्रान्तिमा अगाडि बढ्छौँ । अहिले क्रान्तिको मैदान खाली छ । अहिले क्रान्तिको मैदानमा कोही छैनन्, कोही पछि हटे, कोही भागे, त्यसैले अहिले नेपालमा नयाँ जनवादी क्रान्तिका लागि मैदान खाली छ । त्यो मैदानमा रहेर क्रान्तिको नेतृत्व गर्दै अगाडि बढ्न सक्छौँ भन्नेमा हामी ढुक्क छौँ ।
० त्यसो हो भने नेपाली जनताले तपाईंको पार्टीलाई मुक्तिदाता हो भनेर विश्वास गर्ने आधारहरू के-के छन् बताइदिनुहोस् न ?
हामी जनताप्रति पूणरूपमा प्रतिबद्ध छौँ, मुख्य कुरा यही हो । हामीले मात्र भनेर भएन कि जनताले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । जनता सहभागी नभई केही हुँदैन । त्यसकारण जनतासँगको हाम्रो सम्बन्ध प्रगाढ बन्नुपर्छ । जनताले हाम्रो नेतृत्व स्वीकार गर्नुपर्यो । जनताले हामीलाई खुराक पनि दिनुपर्यो, जनताले हामीलाई उत्प्रेरित पनि गर्नुपर्यो । जनता हाम्रो आधार हो । जनताको विश्वास प्राप्त गर्न सक्याँै भने हामी अगाडि बढ्न सक्छौँ । जनतालाई हामी आश्वास्त पाछौ । जनताले पनि हामीलाई सहयोग गर्नुपर्यो, उत्प्रेरित गर्नुपर्यो । पार्टी, जनताको बीचको सम्बन्ध प्रगाढ हुनुपर्छ । जनता यदि जमिन हुन् भने पार्टी बीउ हो । त्यसैले यी दुइबीचको असल सम्बन्धले क्रान्ति पूण् हुन्छ ।
० तपाईंहरूको विरोधका बीच सरकारले चुनावको मिति घोषणा गरेको छ, आन्दोलनका कस्ता कार्यक्रमहरू ल्याउँदै हुनुहुन्छ ?
यस विषयमा अहिले हामी छलफलमा जुटिरहेका छौँ, हामीले विभिन्न विरोधका कार्यक्रमसहित नेपाल बन्दसम्मको कार्यक्रमहरू ल्याउँदैछौँ । हामी ३३ दललगायत अन्य दलहरूको सहभागितामा आज नेपाल बन्दको कार्यक्रम राखेका छौँ । त्यसपछि बाँकी कार्यक्रमहरू छलफल गरेर अगाडि बढाउँछौँ ।
० अन्त्यमा आमजनसमुदायलाई के भन्न चाहनुहुन्छ ?
जनताले अवसरवादी प्रतिक्रियावादीहरूको भ्रममा नपरी आफ्नो मुक्तिका निम्ति क्रान्तिकारी शक्तिलाई साथ दिनुपर्छ । जनताले क्रान्तिकारी शक्तिलाई माया गर्दै उत्प्रेरित गर्दै जानुपर्छ । हामीले पनि जनताबाट यही अपेक्षा गरेका छौँ ।

प्रतिक्रियाहरु