सम्पुर्ण परिवर्तनकारी शक्तिहरु एक ठाउँमा आउनुपर्छ

सुशील सी, स्थायी समिति सदस्य- नेपाल कम्युनिस्ट पार्टी २०८० पुष १४ गते, शनिबार


नेकपाले हालै केन्द्रिय समितिको विशेष बैठक सम्पन्न गरेको छ र केहि विशेष निर्णयहरु पनि लिएको बुझिएको छ । यहाँहरुले विशेष बैठक नै बस्नुपर्ने परिस्थिति के- कति कारणले उत्पन्न भयो ?
देशमा जुन ढंगले नयाँ परिस्थितिको विकास भयो ,त्यो विकसित परिस्थितिको विश्लेषण गर्न, त्यसबारे पार्टी पंक्तिमा बुझाइमा एकरुपता कायम गर्न र आगमी योजनाको निर्माण र कार्यान्वयन गर्नका लागि हामीले अहिले केन्द्रिय समितिको विशेष बैठक गरेका हौं । यो विशेष बैठक विगतमा हामीले बनाएका योजनाहरुको समिक्षा पनि हो । साथसाथै नेतृत्वको केन्द्रिकरणका हिसाबले पनि यसको विशेष महत्व छ ।

विगतमा तीन बुँदे सहमति जसरी भएको थियो, त्यस अनुसार जुन बन्दीहरुको रिहाईको कुरा थियो, झुट्टा मुद्दाहरु खरेजीको कुरा थियो, त्यसको कार्यान्वयन हुनुको साटो हाम्रो पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायतका नेताकार्यकर्ता विरुद्द जो पक्राउ पुर्जी जारी भयो, त्यसले मुलुकमा विशेष परिस्थिति सिर्जना भयो । त्यसैले हामीले तीन बुँदे सहमतिको कार्यान्वयनका लागि दबाव सिर्जना गर्ने, त्यो वातावरण बनाउनका लागि देशमा संघर्षका कार्यक्रम संचालन गर्ने निर्णय गरेका हौं ।
सरकारले तिनबुँदे सहमतिको पालना नगरेको भन्दै संघर्ष गर्ने कुरा गर्नु भयो । यहाँहरुले संचालन गर्ने संघर्षको स्वरुप कस्तो हुन्छ होला ?
हामीले आन्दोलनको आवश्यकता अनुसार बैधानिक र अबैधानिक दुबै प्रकारका संघर्षहरु विगतदेखि नै गर्दै आइरहेको कुरा प्रष्टै छ । तर अहिले हामी सुरुवातमा संघर्षको बैधानिक बाटोबाटै अगाडी बढ्छौ । हामीले समाजवादी मोर्चाको घोषणापत्रको १३ नम्बर बुँदा र मोर्चाको उदेश्यमा पनि विभिन्न आन्दोलनको क्रममा लगाइएका झुट्टा मुद्दाको खारेजी र बन्दीहरुको रिहाईको लागि पहल गर्ने भनेका छौँ । माओवादी घटकहरुको बालुवाटारमा केहि समय पहिले सम्पन्न बैठकमा पनि आन्दोलनको क्रममा घाईते भएकाहरुको विषय र झुट्ट् मुद्दा खारेजीको विषयमा सम्वाद/ सहमति भएको थियो । त्यस्तै तीन बुँदे सहमतिको कार्यान्वयनको विषयमा विभिन्न राजनिति दल र तिनका नेताहरुसँग जुन ढंगले छलफलहरु भएका थिए, त्यसको कार्यान्वयनको सट्टा उल्टै पक्राउ पुर्जी जारी गर्ने , अशान्ति र अस्थिरता पैदा गर्ने जुन काम भएको छ , त्यसका विरुद्द वैधानिक ढंगले जनपरिचालन सहित संघर्ष गर्नु अनिवार्य छ ।
यहाँहरु तीनबुँदे सहमति कार्यान्वयन नभएको कुरा उठाउँदै आउनु भएको छ, सरकार र दलहरुवीच कार्यान्वयन गर्ने सहमतिहरु हुँदै पनि आएका छन् , तर पनि सहमति कार्यान्वयन भएनन । यसको पछाडि के कारणले काम गरिरहेको छ जस्तो लाग्छ ?
सर्वप्रथम विगत लामो समयदेखि नेपालको आन्तरिक मामलामा साम्राज्यवाद र विस्तारवादले हस्तक्षेप गर्दै आइरहेको छ भन्ने कुरामा स्पष्ट हुन जरुरी छ । उनिहरुले नेपालमा अस्थिरता, अविकास र परिवर्तनको पक्रियालाई अवरोध सिर्जना गर्ने प्रयत्न गर्दै आएका छन् । नेपालमा जसले क्रान्ति गर्न चाहान्छ, जसले समाजवादी क्रान्तिको अभिभारा पुरा गर्ने अठोट गर्छ र जनताको सेवा गर्न खोज्छ, ति शक्तिहरु विरुद्ध विभिन्न समयमा षड्यन्त्र हुँदै आएका छन् । नेपालमा एकिकृत क्रान्तिमार्फत समाजवादको निर्माण गर्न जो प्रयास भइरहेको छ, त्यो अभियानबाट केहि शक्तिहरु आतङकित भएको स्थिति, देशको जनभावना नेकपासँग जोडियको स्थिति, महासचिव विप्लव नेपाली राजनितिको वैकल्पिक लिडरको रुपमा स्थापित हुँदै गएको स्थितिमा यी विभिन्न कारणहरुले साम्राज्यवादीहरु नेकपालाई शान्तिपुर्ण रुपमा काम गर्न नदिने, नेकपालाई आम जनताबाट आइसोलेटेड गर्ने प्रयास गरिरहेका छन् । यसमा देशी विदेशी शक्तिहरु त छन नै, साथै नवसामन्तहरु पनि जोडिएका छन । यी शक्तिहरुले नै नेकपा नेतृत्वलाई वारेन्ट जारी गरेको देखिन्छ ।
तपाइले समाजवाद निर्माणको प्रसंग ल्याउनु भयो , नेपालको संविधान देखि काँग्रेस -एमाले सबैले समाजवाद भन्छन, समाजवादको नाममा पार्टीहरु नै खोलिएका छन । अरुले भनिरहेको समाजवाद र तपाईहरुको समाजवादको अन्तरहरु के के हुन प्रष्ट पारिदिनुस न !
समाजवाद दुई प्रकारको हुन्छ – एउटा वैज्ञानिक र अर्को काल्पनिक । कसैलै काल्पनिक ढंगले समाजवाद ल्याउने वा वकालत गर्ने वा काल्पनिक पार्टी खडा गर्ने सपना देख्न सक्छ । हाम्रो उदेश्य त्यो होइन । हामीले देशमा जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्तिको प्रक्रियामा अगाडी बढ्ने उदेश्य लिएका छौं । समाजवाद दुई चरणमा ल्याउँने हाम्रो कुरा छ । एउटा प्रारम्भिक समाजवाद र अर्को विकसित समाजवाद । प्रारम्भिक समाजवादमा जनपक्षिय क्रान्तिकारी शक्तिहरुको संयुक्त अधिनायकत्व हुन्छ, जहाँ सर्वहारा अधिनायकत्व हुदैन । उत्पिडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी अधिनायकत्व रहन्छ । तर विकसित समाजवादमा यसका सम्पुर्ण पुर्वाधारहरु सहित साम्यवादमा जाने कुरा हुन्छ । त्यसैले अहिले हामीले भनिरहेको विषय भनेको नेपाली विशेषताको समाजवाद हो । यसको अर्थ भनेको नेपालको सन्दर्भमा समाजवादको नयाँ मोडल बनाउन सक्रिन्छ भन्ने नै हो । यसका मुलत दुईवटा कुराहरु छन् पहिलो, समाजवाद र दोस्रो ,नेपाली विशेषताको सवाल । त्यसलाई गहिरो गरी हेर्दा दुईवटा अर्थ लाग्न सक्छन् । समाजवादको विषय विश्वव्यापी छ । यसका विभिन्न मोडल र विशेषताहरुको प्रयोग विभिन्न ढङ्गले भएका छन् । त्यस्तैगरी नेपालको विशेषता नेपालको हकमा लागु हुने कुरा हो । यसैगरी नेपाली विशेषताको समाजवादको दृष्टिकोण के हुन सक्छ भन्दा देशका राजनीतिक पार्टीहरुको स्थिति, हाम्रो इतिहासको स्थिति, भुगोल, भाषा र संस्कृतिको अवस्था, शिक्षा- स्वास्थ्य रोजगारको अवस्था, सुरक्षा प्रणालीको अवस्था, विदेश सम्बन्धको स्थिति, यी सबै विषयलाई आधार बनाएर हामी हाम्रो समाजवादको स्तर के हुन सक्छ भन्ने बारेमा गम्भिर बहसमा छौं । नेपाली विशेषताको समाजवादले न्युनतम रुपमा शिक्षा, स्वस्थ्य र रोजगारीको ग्यारेण्टीको माग गर्छ । यसले नेपालको दलाल पुँजीवादको अन्त्यको माग गर्छ । अर्थात नेपाली विशेषताको समाजवाद भनेको अहिलेको व्यवस्थाभन्दा विकसित, समृद्व र जनपक्षिय हुन्छ । र क्रान्तिकारी पनि हुन्छ ।
नेकपाले हालै कपिलवस्तुमा सम्पन्न केन्द्रिय समितिको विशेष बैठकद्वारा लोकतान्त्रिक गणतन्त्रवादी र दलाल पुँजीवादीहरुवीच ध्रुवीकरण गर्ने प्रस्ताव पारित गरेको छ ,यो भनेको के हो ?
लोकतान्त्रिक गणतन्त्रवादीहरु र दलाल पुँजीवादकावीचमा आधारभूत रुपमा अन्तर छ । यी दुबै शक्तिहरु एउटै होइनन् । दलाल पुँजीवाद साम्राज्यवाद र विस्तारवादद्वारा निर्देशित हुन्छ । यो नेपाली जनता,देशको स्वाधिनता र समृद्वि विरुद्व छ ।
तर लोकतान्त्रिक गणतन्त्र तत्कालिन ७ दल र माओवादी बीच भएको १२ बुँदे सहमतिको आधारमा निर्माण भएको आन्दोलनको जगमा प्राप्त भएको हो । समाजवादी क्रान्तिका लागि लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य जरुरी छ । लोकतान्त्रिक शक्तिहरु भित्र पनि इमान्दार, जनपक्षीय र देशभक्त मानिसहरु छन भन्ने कुरालाई विचार गर्नुपर्छ । उनिहरु अग्रगमन र विकासको पक्षमा भएसम्म हामी सहकार्य गर्दै जानुपर्छ । यो कुरा एकिकृत क्रान्तिको स्पिड पनि हो ।
लोकतन्त्रवादीहरुसँग सहकार्यको कुरा गर्नु भयो । यसको अर्थ समाजवादी क्रान्ति र आजको विशिष्ट परिस्थितिमा काँग्रेससँग पनि सहकार्य गर्न सकिन्छ भन्न खोज्नु भएको हो ?
काँग्रेसभित्र पनि इमान्दार लोकतन्त्रवादीहरु छन् ।उनिहरुसँग सहकार्य गर्न सकिन्छ । तर उनिहरुभित्र दलाल पुँजीवादी प्रवृति र पात्रहरु छन भन्ने कुरालाई पनि भुल्न सकिदैन । त्यसैले अहिले हामीले कुनै पनि पार्टीभित्र रहेका दलालहरुसँग सम्बन्ध बिच्छेद गर्ने र लोकतान्त्रिक तथा देशभक्तहरुसँग सहकार्य गर्ने नीति लिएका छौँ ।
समाजवादी क्रान्तिमा मध्यम वर्गसँग सहकार्य तथाआधार वर्गको रुपमा थप वातावरण बनाउने कुरामा जोड गरिरहनु भएको छ । यसले कालान्तरमा तपाईहरुको पार्टी नै मध्यम वर्गिय पार्टीमा परिणत हुनसक्छ भनेर तपाँईहरु कै शुभचिन्तक/ समर्थकहरुको चासो छ भनिन्छ नि?
विगतमा मध्यम वर्ग सङ्ख्यात्मक हिसाबले कमजोर थियो । त्यो वेला एकातिर आधारभूत वर्ग र अर्कातिर सामन्ती वर्गहरु थिए । अहिले नेपालमा मध्यमवर्गको सङ्ख्या बढिरहेको छ । यसको शक्ति र प्रभाव पनि थप विस्तार भैरहेको छ । अर्कातिर मध्यमवर्गलाई पनि दुईटा हिसाबले हेर्नुपर्छ । एउटा स्वाधिन चरित्रको मध्यमवर्ग र अर्को दलाल मध्यमवर्ग । दलालहरु १० प्रतिशत वरिपरि होलान भने स्वाधिन मध्यमवर्ग ९० प्रतिशत होलान । जस्तो डाक्टर, वकिल, पाईलट, इन्जिनियर, पत्रकार, व्यापारी, कर्मचारीहरु उनिहरु आफ्नो श्रम बेचेर काम गरिरहेका स्वाधिन मध्यम वर्गहरु हुन । उनिहरु देश र जनताका पक्षमा सेवा गरिरहेका छन् । यो समाजको बिकासको स्तरले निर्धारण गर्ने कुरा पनि हो । यसको अर्थ अरु उत्पिडित वर्ग, समुदायलाई छोडेर क्रान्ति हुन्छ भन्ने पनि होईन । उत्पिडित वर्गलाई मुख्य आधार बनाएर हामी अगाडी जान्छौँ । समाजवादी क्रान्तिको नेतृत्व पनि मध्यम वर्गले गर्न सक्तैन, त्यो आधारभूत वर्गले नै गर्छ । मध्यम वर्गले लोकतान्त्रिक क्रान्तिमा राम्रो भुमिका खेल्छ तर समाजवादी क्रान्तिमा आधाभूत वर्गले नै नेतृत्व गर्छ भन्ने कुरामा पनि हामी स्पष्ट हुनुपर्दछ । तर मध्यमवर्ग विना पनि अब क्रान्ति अगाडि बढ्न सक्तैन ।
नेपालको क्रान्तिको सन्दर्भमा विश्वपरिस्थितिको चर्चा गर्दा विश्व बहुध्रुवीय बन्दै गएको व्याख्या गरिरहनु भएको छ । यसले नेपाली क्रान्तिमा पार्ने प्रभाव र विश्वपरिस्थितिको मुल्याङ्कन बारे अलिकति चर्चा गर्दा होला कि ?
अन्तराष्ट्रिय परिस्थितिको सामान्य मुल्याङकन गर्दा विश्व बहुध्रुवीय बन्दै गएको छ । अहिले साधन श्रोतका हिसाबले विश्वको ध्यान एशियातिर केन्द्रित हुदैछ । आर्थिक हिसाबले पनि चीन, भारत, जापानजस्ता देशहरु एशियामा अगाडि आइरहेका छन् । सैन्य हिसाबले पनि अबको विश्व एसिया केन्द्रित हुदैछ । अमेरिकाको हस्तक्षेप जहाँ जहाँ थियो, त्यहाँ त्यहाँ उनिहरु असफल हुँदै गैरहेको छन् । अफगानिस्तान, इराक, इरान, सिरिया र पछिल्लो युक्रेन र इजराईल- प्लेस्टाइन युद्वसम्म आईपुग्दा उनिहरु असफल हुँदै गएका छन् । विश्वव्यापी रुपमा कब्जा गर्ने अमेरीकी साम्रज्यवादको जुन नीति छ, त्यसको प्रतिरोधमा विभिन्न देशहरु संगठित हुँदै गैरहेका छन् । यसैले नेपाल लगायत विश्वका समाजवादी क्रान्तिको पक्षमा बिश्वमा थप सकारात्मक परिस्थिति बन्दैछ ।
अहिले माओवादी लगायत सबै कम्युनिष्टहरुको एकताको कुरा गरिरहनु भएको छ । यसका आधार र संभावनाहरु के के होलान् ?
साम्राज्यवादले अहिले माओवादीहरु आपसमा लडाउने, एमालेहरुलाई लडाउने, कम्युनिष्ट पार्टीहरुवीच विभाजन ल्याउने योजना अनुसार देशमा काम गरिरहेको छ । यो बाह्य पक्ष हो । कम्युनिष्ट पार्टीभित्र पनि आन्दोलनलाई एकिकृत गर्ने आधार बारेमा समान बुझाई अझै निर्माण भएका छैनन् । तर अहिले कम्युनिष्ट आन्दोलनको एकताको आवश्यकता छ । नेपाली क्रान्तिको अनिवार्य शर्त भनेको माओवादी घटकहरुको एकता र कम्युनिष्टहरुको एकता हो । नेपालमा ६२ प्रतिशत भन्दा बढी जनमत समाजवाद र कम्युनिष्ट आन्दोलनको पक्षमा छ । युरोप–अमेरिकामा पनि समाजवाद चाहनेहरु छन् ।तर त्यहाँ समाजवादी क्रान्ति भैरहेको छैन । त्यहाँ कम्युनिष्ट पार्टी नै नभएपछि समाजवादी क्रान्ति हुने कुरा पनि भएन / हुन सक्तैन । नेपालमा समाजवादी क्रान्तिको राम्रो सम्भावना छ । किनकि यहाँ कम्युनिष्ट पार्टी र कम्युनिष्ट जनमत दुबै छ । यो कुनै लहडको विषय होइन । समाजवादी क्रान्तिका लागि माओवादीहरु र कम्युनिस्टहरुको एकता हाम्रो पार्टीले अघि सारेको कार्यनीति हो ।
तपाइहरुले कम्युनिष्ट एकताको कार्यनीतिको कुरा गरिरहँदा एमाले लगायत पार्टीहरु मिशन ०८४ को पछि छन नि ?
मिसन ०८४ होइन, हामीले मिशन समाजवाद भनेका हौँ । विद्यमान राजनीति संकटको सहि सम्बोधन गर्ने हो भने वा देशमा समाजवादी व्यवस्था निर्माण गर्ने हो भने मिशन ०८४ वा अरु केही भन्नुको केही अर्थ छैन् । समाजवादी व्यवस्था निर्माणका लागि सबै पार्टी र शक्तिहरुसँग छलफल संवाद गर्दैछौं । यसले वृहत छलफल र विमर्शको थप माग गरिरहेको छ ।
भ्रष्टाचार, मिटरव्याज, महङ्गी एनसेल प्रकरण जस्ता मुद्वाहरु विरुद्व नेकपाले संघर्ष गरिरहेको भएपनि विषयहरु उठाउने तर निष्कर्षमा नपुग्दै सेलाउने स्थिति बन्दै गएको भनिन्छ । यो सवाललाई कसरी डिल गर्नुहुन्छ ?
हम्रो कार्यदिशा, नेतृत्व र नीति अनुसार हामी सहि बाटोबाट अगाडी बढिरहेको कुरा अब छलर्ङगैं भएको छ । तर भ्रष्टाचार, मिटरव्याज, महङ्गीं, एनसेल प्रकरण र एमसीसी विरुद्द थप शक्तिलाई जोड्ने, मोर्चाबन्दी गर्ने र हस्तक्षेप गर्ने कुरामा अपुगता छ ।यसलाई व्यवस्थित गर्दै संघर्ष गर्छौं ।
अन्तमा केही भन्न चाहनुहुन्छ
देशका सम्पूर्ण युवाहरु, परिवर्तनकारी जनता, देशभक्तहरु सबै मिलेर विद्यमान संकटको निकास र समाजवाद निर्माणमा अगाडि बढ्न जरुरी छ । समाजवादी व्यवस्था र क्रान्तिका लागि प्रतिबद्दता, सहभागिता र देशको सुरक्षाका निम्ती अगाडि बढ्न हामी आह्वान गर्दछौ । र सम्पुर्ण परिवर्तनकारी शक्तिहरु एक ठाउँमा आउनुपर्छ । हाम्रो पार्टीले त्यसको नेतृत्व गर्नेछ ।-शेरबहादुर बिश्वकर्मा

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु