महिला मुक्ति र अधिकारको दुश्मन पुँजीपति वर्ग र त्यसको दोहोरो शोषण हो

प्रकाण्ड सी, प्रवक्ता– नेपाल कम्युनिस्ट पार्टी २०८० कार्तिक १३ गते, सोमबार

०             यहाँहरुले यो संसदीय व्यवस्थालाई खारेज गरेर समाजवाद प्राप्त गर्न सञ्चालन गरेको एकीकृत जनक्रान्ति अहिले कसरी अगाडि बढी रहेको छ ?

नेपालमा दलाल पुँजीपति वर्ग र त्यसको दलाल संसदीय व्यवस्थाले नेपाली सत्ता राजनीतिको इतिहासमा पहिलो पटक देश र नेपाली जनतालाई चरम संकटको डरलाग्दो भूमरीमा पु-याएपछि यसबाट देशलाई निकाल्ने अहम् जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टीको काँधमा आएको छ । पार्टीको नेतृत्वमा सञ्चालित एकीकृत जनक्रान्ति दलाल पुँजीपति वर्ग, त्यसको राज्यसत्ता र दलाल संसदीय व्यवस्थाले पैदा गरेको संकटको क्रान्तिकारी समाधानको विकल्प नेपाली श्रमिक जनता र देशको प्रतिनिधित्व गर्ने श्रमिक वर्गीय राज्यसत्ता, वैज्ञानिक समाजवादी शासन व्यवस्था र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व भएको ‘नयाँ राजनैतिक मार्गचित्र’ अगाडि सारेर राष्ट्रिय रुपमा चौतर्फी एवम् घनिभूत पहल गरीराखेको छ । नेपाली राष्ट्रियता माथि साम्राज्यवादी हस्तक्षेपका विरुद्ध जनसंघर्ष, साम्राज्यवाद र दलाल पुँजीवादको विरुद्ध समाजवादी मोर्चाको निमार्ण एवम् अभ्यास, आर्थिक परिचालन एवम् देशव्यापी उत्पादन अभियान सञ्चालन, जनसेवा, सी संस्कृतिको अभ्यास र अन्तर्राष्ट्रिय मोर्चाका काम लगायत यसका प्रमुख मोर्चा हुन् । यसको मुख्य उद्देश्य भनेको विद्यमान दलाल पुँजीवादी राज्य व्यवस्थाको अन्त्य गर्ने र वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्ने हो ।

०             एकीकृत जनक्रान्तिमा छात्रा तथा महिलाहरुको सहभागिता कस्तो छ ?

हाम्रो पार्टीको नेतृत्वमा सञ्चालित एकीकृत जनक्रान्ति आमनेपाली श्रमिक महिलाहरुको क्रान्ति पनि हो । जुन दलाल पुँजीवादको वर्गीय शोषण र पुरुषप्रधान समाजको लैङ्गिक उत्पीडनको दोहोरो मारमा परेका छन् । महिला मुक्तिको आकाङ्क्षा, पार्टी र एकीकृत जनक्रान्तिप्रतिको अगाध विश्वास, ऐतिहासिक जिम्मेवारीबोधसहित उल्लेख्य र नमुनाकोरुपमा नेपाली महिलाहरुको सहभागिता एवम् आवद्धता हाम्रो पार्टी र जनक्रान्तिमा छ । सचेतना, भौतिक सामथ्र्य, मुक्तिको चाहना र छात्रा-युवा जोसका कारण विद्यार्थी आन्दोलन र एकीकृत जनक्रान्तिमा छात्राहरुको सहभागिता र आकर्षण भर्भराउँदो नै छ ।

०             नेपालका सबै राजनीतिक पार्टीहरुले हरेक क्षेत्रमा महिलाहरुलाई नेतृत्व तहमा ल्याउनुपर्छ भनेर नारा दिँदै आएका छन् तर अझै पनि नेतृत्व तहमा महिलाहरुलाई जिम्मा दिन सकिरहेका छैनन्, नेपाल कम्युनिस्ट पार्टीले उठाउँदै आएको मुद्दा महिला–पुरुष समान हो विभेद, भेदभाव गर्न हुँदैन, सबै तहमा समान जिम्मेवारी हुनुपर्छ भन्दै आइरहेको छ, पार्टी र जबसहरुमा लागू गर्नु भएको छ ?

नेपाल कम्युनिस्ट पार्टी र हामी कम्युनिस्ट क्रान्तिकारीहरु शोषक वर्ग र वर्तमान साम्राज्यवादी वा विश्व पुँजीवादी राज्यव्यवस्थाले लुटका खातिर कृत्रिम रुपमा पैदा गरेका सबै किसिमका विभेद र असमानताका विरोधी हौँ । हामी विश्व मानव समाज र नेपाली समाजको पुराका पुरा समानता चाहन्छौँ । यसको प्राप्तिका निम्ति वा स्थापनाको निम्ति एकीकृत जनक्रान्ति चलाएका छौँ । नेपाली राजनीतिमा पार्टीहरुको चरित्र कम्युनिस्ट क्रान्तिकारी, यथास्थितिवादी र दलाल पुँजीवादी गरी तीन प्रकृतिको रहेको छ । दलाल संसद्वादी र यथास्थितिवादी चरित्रका राजनीतिक पार्टीहरुबाट आममहिला सहभागितासहितको महिला क्रान्ति, महिला उर्जाको वास्तविक पहिचान, संरक्षण र समान अवसर प्रदान सम्भव छैन । किनकि महिला मुक्ति र अधिकारको दुश्मन नै पुँजीपति वर्ग र त्यसको दोहोरो शोषण हो । संशोधनवादी यथास्थितिवाद साम्राज्यवाद र दलाल पुँजीवादको छुपा प्रतिनिधि भएकाले त्योबाट पनि सम्भव छैन ।

हाम्रो पार्टीको नेपाली महिला र आन्दोलनप्रतिको दृष्टिकोण श्रमिक वर्गीय छ । ब्यवहार कम्युनिस्ट छ । यसर्थ आमनेपाली महिलाको निम्ति हाम्रो पार्टी राजनीतिक प्रतिनिधि बनेको छ भने एकीकृत जनक्रान्ति मुक्तिको विचार बनेको छ । पार्टी र जनक्रान्तिमा आममहिलाहरुको आस्था, विश्वास र सहभागिता आशालाग्दो छ । पार्टीको स्थायी समिति, पोलिटब्यूरो, केन्द्रीय समिति, केन्द्रीय प्रतिनिधि समिति, आमपार्टी पंक्ति र जनवर्गीय संगठनमा महिला नेता कार्यकर्ताको विकास विशेष प्रकृतिको र उदाहरणीय बन्दै गएको छ । हामी अझ बढाउँदै जाने छौँ ।

०             नेपालमा महिला तथा छात्राहरुमाथि विभिन्न हिंसाहरु बेलाबखत भैरहेका छन्, यसलाई रोक्नको निम्ति तपाईंहरुको योजना के के छन् ?

नेपालमा महिला हिंसाको कारकतत्व साम्राज्यवाद, दलाल पुँजीवाद र पुरुषवाद हो । आमनेपाली जनतामा यसका विरुद्धको क्रान्तिकारी राजनीतिक जागरण र साम्राज्यवाद एवम् दलाल पुँजीवादी हिंसाका विरुद्ध सशस्त्र महिला संघर्ष नै हिंसालाई रोक्ने र उन्मूलन गर्ने अस्त्र हो । एकीकृत जनक्रान्तिको सञ्चालन नै महिला हिंसाविरुद्धको पार्टीको शक्तिशाली योजना पनि हो ।

०             तपाईंहरुले स्थापना गर्ने भनेको समाजवादी राज्य व्यवस्थामा छात्रा तथा महिलाहरुको अबस्थामा कस्तो परिवर्तन आउँछ ?

समाजवादी राज्यव्यवस्था भनेको श्रमजीविहरुको व्यवस्था हो जहाँ श्रमले शासन गर्छ । श्रमिक वर्गले त्यो शासन व्यवस्था सञ्चालन गर्छ । कम्युनिस्ट पार्टीले त्यसको विचारधारात्मक नेतृत्व गर्छ । जहाँ राष्ट्र र जनता उन्मुक्त हुन्छन् । हस्तक्षेप, अतिक्रमण, शोषण र विभेद सबैलाई खरानी बनाउने राज्यव्यस्था वैज्ञानिक समाजवाद हो । आमनेपाली महिला पूर्ण स्वतन्त्रता र अधिकारसहित समाजवादी राज्यव्यवस्थाका सञ्चालक हुन्छन् । समाजवादी व्यवस्थामा नेपाली महिलाहरुले शुरुमा विशेष अधिकारको प्रयोग गर्नेछन् । असमानता निर्मूल पारिसेकपछि समानताको जीवन अभ्यास गर्नेछन् । जहाँसम्म छात्राको विषय छ । तपाईंले जोड दिन खोजेको शैक्षिक अधिकारको सवाल होला ? नेपाली छात्राहरुको निम्ति शिक्षा मौलिक अधिकार हुनेछ । छात्रसरह छात्राहरुले समान शिक्षा र समान अवसर प्राप्त गर्नेछन् । आमविद्यार्थीहरुका निम्ति शिक्षा निःशुल्क हुनेछ । शिक्षा वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको दायित्वभित्र आउनेछ । छात्राहरुलाई त उच्च शिक्षासम्म निःशुल्क व्यवस्था गर्नुपर्ने देखिन्छ । उत्पीडित वर्ग, महिला र उत्पीडित समुदायको लागि असमानता अन्त्य गर्न उच्च शिक्षासम्म विशेष व्यवस्था गर्नुपर्ने हुन्छ ।

०             स्कुल, क्याम्पसहरुमा अध्यनरत छात्रा विद्यार्थीहरु तपाईंको पार्टी अथवा जबसमा किन संगठित हुने ?

हाम्रो पार्टी भनेको नेपाली उत्पीडित महिलाहरुको राजनीतिक प्रतिनिधि हो । त्यस्तै नेपाली छात्राहरुको पनि राजनीतिक प्रतिनिधि पार्टी हो । विद्यालय, क्याम्पस र विश्वविद्यालयमा अध्ययनरत छात्राहरु सर्वप्रथम नेपाली समाजका सदस्य हुन् । नेपाली समाजलाई साम्राज्यवादी हस्तक्षेप र दलाल पुँजीवादको शोषणबाट मुक्त गर्न छात्राहरु आफ्नो वर्गको नेपाल कम्युनिस्ट पार्टीमा वा आफ्नो विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा संगठित हुनुपर्छ । सचेततापूर्वक एकीकृत जनक्रान्तिमा सहभागी हुनुपर्छ । छात्राहरुले आफ्नो शैक्षिक अधिकार प्राप्तिका निम्ति पहल एवम् संघर्ष गर्न, आफ्नो अधिकार र मुद्दाको प्रतिनिधित्व गर्न क्रान्तिकारी जनसंगठनमा आवद्ध हुनुपर्छ । छात्राहरु त आमशैक्षिक अधिकारका हिमायती हुनुले आमविद्यार्थीको प्रतिनिधित्व गर्ने क्रान्तिकारी राजनीतिक संगठन भएकोले अखिल (क्रान्तिकारी) मा आवद्ध हुनुपर्छ ।

०             तपाईंको पार्टीमा जनयुद्धमा सहभागी महिला र अहिले भन्नुभएको एकीकृत जनक्रान्तिमा सहभागी छात्राहरुबीच के भिन्नता पाउनुभएको छ ?

जनयुद्धमा त्यो बेलाको समय, परिस्थिति र जनयुद्धको विशेषतामा महिलाहरुको सहभागिता एवम् भूमिका ऐतिहासिक, अभूतपूर्व र विश्व उदाहरणीय थियो । जनयुद्धमा महिलाहरुले राजनीतिक, वैचारिक, सांगठनिक, जनसंघर्ष, जनसेना, फौजी मोर्चा, जनसेवा र जनसत्ता अभ्यासलगायतका जिम्मेवारीमा महान् र नमूनायोग्य भूमिका निर्वाह गर्नु भयो । यो सर्वहारावर्गको नेपाली क्रान्ति र विश्वक्रान्तिमा विशेष विशेषता र महत्वको छ ।

एकीकृत जनक्रान्ति जनयुद्धको विकसित नेपाली विशेषतामा संश्लेषण गरी प्रयोगमा गइराखेको नेपाली श्रमिक जनताको राजनीतिक सैन्य कार्यदिशा हो । यो अहिलेको विश्वपरिवेश, नेपालको वर्तमान परिस्थिति, समय र नेपाली समाजको आवश्यकतामा सञ्चालन गरिएको छ । अहिलेको वस्तुगत अवस्था, एकीकृत जनक्रान्तिको विशेषता, नेपाली महिलाहरुको चेतना र भोग्नु परेको अन्याय एवम् असमानताको धरातलमा नेपाली महिलाहरुको सहभागिता एकीकृत जनक्रान्तिमा आक्रामकरुपमा भइराखेको छ ।

अहिले छात्राहरुको एकीकृत जनक्रान्तिमा सहभागिता २१ औँ शताब्दीको तेस्रो दशकको विश्व र नेपालमा त्यसको प्रभाव, विज्ञान र प्रविधिको विकास एवम् सूचना प्रविधिमा पारेको प्रभाव, दलाल पुँजीवादले नेपाली जनताको जीवन संकटपूर्ण अवस्थामा पु-याएको वस्तुस्थितिमा जनचेतना, समर्पण र दक्षतापूर्वक सहभागिता भइराखेको छ । दश वर्षको जनयुद्धले धक्का खाएपछि गम्भीर शिक्षासहित सचेतनापूर्वक सहभागी भएका छात्राहरुको हिस्सा हो । एकीकृत जनक्रान्तिमा सहभागी छात्राहरुमा प्रतिक्रान्ति माथि विजय हासिल गरेर एकीकृत जनक्रान्तिलाई सफलताको मञ्जिलमा पु-याउने विचार र दृढता छ । यो जनयुद्धभन्दा नयाँ र विकसित विशेषता हो । जनयुद्धका महिलाले प्रतिक्रान्तिको सामना गरेका थिएनन् तर अहिले नेपाली छात्राहरुले प्रतिक्रान्तिको सामना गरेर एकीकृत जनक्रान्तिमा सहभागी छन् । समानता र भिन्नता यसमा छ ।

०             तपाईंले भनेको वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका निम्ति छात्रा÷विद्यार्थीहरुले कस्तो भूमिका निर्वाह गरिदिएको भएजस्तो लाग्छ ?

एकीकृत जनक्रान्ति नयाँ युगको नेपाली श्रमिक जनताको नयाँ क्रान्ति हो । नयाँ क्रान्तिमा नयाँ पुस्ताको भूमिका उल्लेख्य हुन्छ । छात्रा र आमविद्यार्थीहरु एकीकृत जनक्रान्तिका वाहक शक्ति हुन् । चेतना, इच्छा शक्ति, भौतिक सामथ्र्य र उल्टो धारसँग खेल्ने विशेषताका दृष्टिले नेपाली छात्रा र विद्यार्थीको भूमिका नेतृत्वदायी, दक्ष क्रान्तिकारी, बलिदानी भावले ओतप्रोत, निस्वार्थी, विद्यार्थी प्रिय र स्पस्ट श्रमिक वर्गीय दृष्टिकोण एवम् पक्षधरता भएका क्रान्तिकारी विद्यार्थी नेता र कार्यकर्ताको विकास होस् भन्ने मेरो चाहना छ । दलाल पुँजीवादका कारण संकटग्रस्त देशलाई क्रान्तिकारी समाधान दिन छात्रा विद्यार्थीको अग्रणी भूमिका खोजेको छ । त्यसलाई छात्रा र विद्यार्थीहरुले जुनसुकै मूल्यमा पुरा गर्नु पर्दछ ।

०             तपाईंको पार्टी अथवा जबसहरुमा छात्राहरुको उल्लेखनीय उपस्थितिको लागि कसरी प्रोत्साहन गर्नु हुन्छ ?

एकीकृत जनक्रान्तिको एउटा मोर्चा शैक्षिक आन्दोलनको मोर्चा हो । छात्राहरुको साझा सवाल भनेको जनमुक्ति, महिला मुक्ति र शैक्षिक मुक्ति हो । विचारको वैज्ञानिकता, नेपाली जनताको राजनीतिक कार्यदिशा, छात्राहरुको मुद्दाको समाधानको सुनिश्चितता, प्रेरणादायी कम्युनिस्ट पार्टी, पार्टी एवम् विद्यार्थी संगठनमा छात्राहरु प्रवेशको प्राथमिकता, छात्रा नेता कार्यकर्ताको संरक्षण एवम् विकास र अवसरको पर्याप्तता सृजना गरेर छात्रा सहभागितालाई उल्लेखनीय बनाउने पार्टीको लक्ष्य छ । यसको सुरुवात पार्टीले गरिसकेको छ, थप विकास गर्नुपर्नेछ ।

०             यहाँहरुले परिकल्पना गरेको समाजवाद कस्तो हो ? नेपाली जनताको जीवनस्तरमा के–के कुरामा सुधार हुन्छ ?

नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको समाजवाद वैज्ञानिक समाजवाद हो । तत्काल समाजवादी मोर्चामा हामीले नेपाली विशेषताको समाजवाद भनेर साझा राजनीतिक कार्यक्रम बनाएका छौँ । यो रणनीतिक महत्वको कार्यनीतिक कार्यक्रम हो । वैज्ञानिक समाजवादले राष्ट्रिय मुक्ति र जनमुक्तिको प्रतिनिधित्व गर्छ । राष्ट्र र नेपाली श्रमिक जनताको हितलाई सर्वोपरि राख्दछ । वैज्ञानिक समाजवादी राज्यसत्ताको चरित्र राष्ट्रवादी र श्रमिक वर्गीय हुन्छ । वैज्ञानिक समाजवादी राज्यव्यवस्था भनेको मजदुर, किसान, मध्यम वर्ग, राष्ट्रिय पुँजीपति वर्ग, महिला, उत्पीडित श्रमिक समुदाय र जनजातिको राज्य व्यवस्था हो । शोषित वर्ग र उत्पीडित समुदायले शासन संचालन गर्ने व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था हो । शासन व्यवस्थामा शोषित वर्ग र उत्पीडित सामाजिक क्षेत्रका जनताको प्रतिनिधित्व सुनिश्चित गर्ने समाजवादी निर्वाचन प्रणाली हुनेछ ।

प्रकाण्ड सी, प्रवक्ता– नेपाल कम्युनिस्ट पार्टी

वैज्ञानिक समाजवादी राज्यव्यवस्थामा नेपाली श्रमिक जनताको जीवनस्तर सुधार मात्र होइन जनजीवनमा आमूल परिवर्तन हुन्छ । नेपाली श्रमिक जनताको आधारभूत आवश्यकता खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य, रोजगारी, सञ्चार र यातायात राज्यको दायित्वभित्र पर्छ । वैज्ञानिक समाजवादी राज्य व्यवस्थाले प्रथमतः आधारभूत आवश्यकता परिपूर्तिको सुनिश्चत गर्छ । वर्गीय, जातिय, सामाजिक, सांस्कृतिक, भाषिक, क्षेत्रीय, धार्मिक, असमान विकास र गाउँ र सहरको भेदलगायतका दलाल पुँजीवाद वा सामन्तवादले सृजना गरेका सम्पूर्ण विभेद र उत्पीडनको अन्त्य गर्दछ । सामाजिक समानता र सबै जनताका निम्ति समान अवसर प्रदान गर्नु वैज्ञानिक समाजवादको मुख्य विशेषता हो । देशको जनशक्ति, प्राकृतिक साधन स्रोत र विकसित प्रविधिलाई देशको विकास निर्माणमा उच्चतम परिचालन गरी समाजवादी समृद्धि हासिल गरिनेछ । जहाँ नेपाली जनताको जीवनस्तर र सभ्यता इतिहास र युगमै अद्वितिय, २१औँ शताब्दीको युगश्रेष्ठ र विश्वको निम्ति अनुकरणीय हुनेछ ।

०             आमनेपालि महिला तथा छात्राहरूलाई के भन्न चाहनुहुन्छ ?

अमेरिकी साम्राज्यवाद र दलाल पुँजीवादले देश र नेपाली जनताको अस्तित्वलाई चुनौति दिइराखेको छ । आमनेपाली जनताले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा पहलकद्मी नलिने हो र एकीकृत जनक्रान्तिद्वारा प्रतिरोध नगर्ने हो भने अमेरिकी साम्राज्यवाद र देशका दलाल पुँजीवादी शासकहरुले हाम्रो देशलाई दक्षिण एसियाको युक्रेन बनाउने षड्यन्त्र गरिराखेका छन् । यो संवेदनशील घडीमा राष्ट्रिय स्वाधीनता र जनमुक्तिको लागि एकीकृत जनक्रान्तिमा व्यापकरुपमा सहभागी हुन र सक्रिय भूमिका निर्वाह गर्न आममहिला र छात्राहरुलाई विशेष अपिल गर्न चाहन्छु ।

०             इजरायलमाथि भएको आक्रमणले गर्दा इजरायलमा भएका दर्जनौं विद्यार्थीले ज्यान गुमाउनु भएको छ र दर्जनौं नेपाली घाइते तथा सम्पर्कबिहीन छन्, तपाईंको पार्टीले उद्दारको निम्ति र दीर्घकालीन समस्या समाधानको निम्ति कस्तो योजना अथवा सुझाव÷खबरदारी के गर्नुहुन्छ ?

साम्राज्यवाद र विश्व पुँजीवाद रहेसम्म विश्वमा युद्ध भड्किरहनेछ । किनकि, साम्राज्यवाद भनेको नै युद्ध हो । असमानता, विभेद, हस्तक्षेप र लुट साम्राज्यवादको मुख्य चरित्र हो । इजरायल युद्ध यसैको उपज हो । थुप्रै देशहरु विष्फोटक अवस्थामा छन् । २१ औँ शताब्दी साम्राज्यवादी युद्ध र जनप्रतिरोध युद्धको शताब्दी बन्दै छ । सर्वप्रथम, इजरायल युद्धमा ज्यान गुमाउने नेपाली विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । बन्दक बनाइएका, बेपत्ता भएका, जोखिममा परेका विद्यार्थी र नेपालीहरुको उद्धार गरी छिटोभन्दा छिटो नेपाल फर्काउन नेपाल सरकारसँग जोडदार माग गर्दछु । इजरायल युद्धमा नेपाली विद्यार्थी र रोजगारीमा गएका नेपालीहरु युद्धको शिकार भएपछि त्यसका विरुद्ध काठमाडौँमा सबैभन्दा पहिला पार्टी र जनसंगठनले संयुक्त रुपमा विरोध प्रदर्शन ग¥यो । नेपाल सरकारलाई उद्धार, स्वदेश फिर्ता र राहतको निम्ति पहल गर्न भन्यौँ । ज्यान गुमाएका परिवारसँग भेटघाट, राहत र शान्त्वना दियौँ, पार्टी निरन्तर प्रयासमा छ ।

नेपाली युवायुवतीलाई पढाई र रोजगारीका निम्ति विदेशिन विवश बनाउने दलाल पुँजीवादी राज्यव्यवस्था हो । देशभित्र शिक्षा र रोजगारीको व्यवस्था नगरेपछि यो अवस्था सृजना भएको हो । यसको स्थायी समाधान भनेको देशभित्र शिक्षा र रोजगारीको सुनिश्चित गर्नु हो । यसका निम्ति दलाल पुँजीवादी राज्यव्यवस्थाको अन्त्य गरेर नेपाली जनताको वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ ।

०             अन्त्यमा नेपाल कम्युनिस्ट पार्टीलगायत चार पार्टी सम्मिलित समाजवादी मोर्चा निर्माण गर्नु भएको छ, यसको खास उद्देश्य के हो ? के यहीँ मोर्चाबाट समाजवाद प्राप्ति सम्भव छ ?

दलाल पुँजीपति वर्गको संसदीय राज्य व्यवस्थाले देश र नेपाली जनताको जीवनमा पैदा गरेका आतंककारी समस्याको समाधान गर्न देशलाई अब नेपाली विशेषताको समाजवादी व्यवस्थामा लिनुको विकल्प छैन भन्ने निष्कर्षसहित चार पार्टी सम्मिलित समाजवादी मोर्चा बनेको हो र यो अहिले क्रियाशील नै छ । यो मोर्चा साम्राज्यवाद र दलाल पुँजीवाद विरोधी मोर्चा हो । यसको अवस्था प्रारम्भिक छ । राष्ट्रिय मुक्ति र जनमुक्तिका पक्षधर कम्युनिस्ट क्रान्तिकारीहरु, सच्चा वामपन्थीहरु, प्रगतिशील लोकतन्त्रवादीहरु र देशभक्तहरु सबैलाई समाजवादी मोर्चामा आवद्ध गराएपछि मात्र यो मोर्चा पूर्ण हुनेछ । नेपाल कम्युनिस्ट पार्टी यसैको प्रयासमा निरन्तर लागिरहेको छ । समाजवादी मोर्चाले पूर्ण आकार ग्रहण गरेपछि र देश एवम् जनताको मुद्दामा जनसंघर्षको आँधी सृष्टि गरेपछि मात्र समाजवादी मोर्चा व्यवहारतः नेपाली विशेषताको समाजवाद प्राप्तिको हतियार बन्ने छ । समाजवाद स्थापनाको सुनिश्चित हुनेछ ।

अखिल (क्रान्तिकारी) केन्द्रीय छात्रा विभागको मुखपत्र ‘छात्रा आवाज’ बाट

प्रतिक्रियाहरु