तालिबान युद्धविरामको बिपक्षमा

२०७५ असार ४ गते, सोमबार

काठमाडौँ, ४ असार । अफगानिस्तान सरकारले घोषणा गरेको तालिवानसँगको युद्धविरामको समय शनिबार थप गरेको भए पनि तालिबानले भने युद्धविरामको समयावधि बढाउन नमानेको जनाइएको छ । उनीहरुले इदका लागि भन्दै तीनदिने युद्धविरामको घोषणा गरेका थिए । उनीहरुको युद्धविरामको समय आइतबार मध्यरातिसम्म रहेकोमा उनीहरुले उक्त समय लम्ब्याउन भने मानेनन् । अफगानिस्तानका राष्ट्रपति असरफ गनिले भने टेलिभिजन सम्वोधनमार्फत् आइतबारदेखि तीन दिन युद्धविरामको समय बढाएका हुन् । उमले यो समय बढाएर मङ्गलबारसम्म पु¥याउनुभएको हो । यसैमार्फत उहाँले युद्धविराम गर्न तालिबान लडाकूलाई पनि आग्रह पनि गरेका थिए । तर तालिबानले भने सरकारको यो आह्वानको बेवास्ता गरेका छन् । उनीहरुको संगठनको आधिकारिक वेभसाइटमा तालिबानका तर्फबाट भनी राखिएको प्रेस विज्ञप्तिमा युद्धविरामको समय नलम्ब्याइएको बताइएको छ ।
मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व इद मनाउन सरकारले युद्धविराम घोषणा गरेको थियो । त्यसपछि उनीहरुलाई पनि युद्धविरामको घोषणा गर्न दवाव परेको थियो । तर अफगान अधिकारीहरुका अनुसार तालिबानले इदका लागि गरेको यो दुर्लभ युद्धविराम हो । यसअघि उनीहरुले यस पर्वमा कहिल्यै युद्धविराम गरेका थिएनन् ।
यसैविच अफगान सरकारले युद्धविरामको म्याद थपेकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले स्वागत गरेका छन । साथै उनले तालिबानहरुलाई पनि युद्धविरामको समयावधि बढाउन आग्रह गरेका थिए । महासचिवका प्रवक्ता स्टेफन डुजारिकले जारी गरेको विज्ञप्तिमा अफगान नागरिकको शान्ति सुरक्षाका लागि तालिबानको तर्फबाट पनि युद्धविरामको घोषणा गर्न माग गरिएको छ । तर उनको सो आग्रह तालिबानहरुले भने नसुनेझैँ गरेका छन् । राजनीतिक प्रक्रियाबाट द्वन्द्वको अन्त्य गर्दै शान्ति स्थापनाको बाटोतर्फ लाग्न महासचिव गुथ्रेसले दुवै पक्षलाई आग्रह पनि गरेका छन ।

प्रतिक्रियाहरु