जाडो छल्न बेंसी झर्न थाले चरा

२०७३ कार्तिक १० गते, बुधबार

काठमाडौँ, १० कात्तिक । जाडो छल्न उत्तरी क्षेत्रका चरा बसाइँ सरेर नेपालको बेँसी झर्न थालेका छन् । नेपाल पक्षीविद् सङ्घका अनुसार हिमाली क्षेत्र र उच्च उचाइमा बस्ने चरा जाडो छल्न तल्लो सतहमा आउन थालेका हुन् ।
जुलोजिकल सोसाइटी अफ लन्डनका नेपाल प्रतिनिधि तथा नेपाल पक्षीविद् सङ्घका अध्यक्ष डा हेमसागर बरालका अनुसार अहिले दक्षिणबाट आएका चरा फर्कने र उत्तरी क्षेत्रबाट चरा आउने क्रम चलिरहेको छ । उहाँका अनुसार जाडोमा आउने करिब ७० प्रतिशत चरा नेपाल भित्रिसकेका छन् ।
तिब्बत, चिन, मङ्गोलिया, साइबेरिया, काजकिस्तानलगायत पूर्वी युरोपबाट समेत केही चरा यो समयमा नेपाल आउने बरालको भनाइ छ ।
आएका चरा चैत वैशाखमा फर्कने र फेरि दक्षिणका चरा आउने क्रम चल्छ । अहिले आउनेमा जलमा आश्रित चरा हुन् ।
“नेपालमा चार प्रजातिका हाँसमात्रै रैथाने छन्, बाँकी १५, २० प्रजातिका हाँस यो समयको आगन्तुक नै हुन्”, डा बराल भन्नुहुन्छ – “नेपालको घाँसे मैदान, जल तथा जमिन सबै क्षेत्रमा बस्ने चरा बसाइँ सरेर आउने गरे पनि बढी जलाशयमा बस्ने चरा भने जाडो छल्न आउँछन् ।”
असोजबाट नै चरा बसाइँ सर्न थालेको र अहिले यो क्रम तीव्र बनेको नेपाल पक्षीविद् सङ्घका मध्यमाञ्चल संयोजक तथा बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष बासु बिँडारी बताउनुहुन्छ ।
जाडो समयमा चितवनलगायत नेपालको तल्लो तहमा उनीहरु जाडोमा समय बिताउने गर्छन् । चखेवा, कालो गरुड, सेतो गरुड, ग्रिन स्याँक, प्लोभर, खोया हाँसलगायतका चरा बसाइँ सरेर आइसकेको अध्यक्ष बिँडारीको भनाइ छ ।
खोया हाँस उच्च हिमाल नाघेर आउने गरेको छ । यी चरा मुख्यगरी चार हजार मिटरभन्दा माथिका हुन् । हिमाली क्षेत्रबाट बसाइँ सरेर आएकामध्ये धेरै चरा समुद्र सतहबाट ८० देखि २०० मिटरको हाराहारीमा आएर बस्ने चरा हुन् ।
चितवनलगायत तराई क्षेत्रमा अहिले कालीगण्डकी हुँदै चरा आइरहेका छन् । आएका चरा चितवनको राप्ती, नारायणी, कर्णाली र कोसी नदीमा पुग्छन् । लाङ्टाङ क्षेत्रबाट बढी चरा आइरहेको विज्ञ बिँडारी उल्लेख गर्नुहुन्छ । यो समयमा करिब १५० देखि १८० प्रजातिका चरा बसाइँ सरेर तल्लो तहमा आउने गरेका छन् ।
जाडो छल्ल हिमालमा पाइने चरा मध्य भागमा र मध्य भागका चरा तल्लो तहमा झर्छन् । चराको बसाइँ–सराइ अवलोनका लागि विदेशीसहित नेपाली चरा विज्ञहरु पश्चिम नेपालको अस्ट्रेलियन बेसक्याम्प ठूलो खर्क भन्ने स्थानमा पुगेका छन् ।
जाडो छल्न आउने चराको अवलोकनका लागिसमेत पर्यटक आउने गरेका छन् । जैविक विविधता सन्तुलनको अवस्था चराको उपस्थितिले जानकारी पाउन सकिने चरा विज्ञहरुको भनाइ छ ।
नेपालमा अहिलेसम्म ८८४ प्रजातिका चरा फेला परेका छन् । तीमध्ये ६३२ प्रजातिका चरा चितवनमा पाइएका छन् । त्यसैले चितवन राष्ट्रिय निकुञ्ज, यहाँको संरक्षित ताल, नारायणी र राप्ती नदी तथा पहाडी क्षेत्र चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य मानिन्छ ।
चितवन निकुञ्जमा जङ्गली जनावर अवलोकनका साथै चरा अवलोकनका लागि समेत ठूलो धनराशि खर्चेर विदेशबाट पर्यटक आउने गरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ । तर चरा पर्यटनको नेपालमा पर्याप्त सम्भावना भए पनि सरकारी तहबाटै विशेष योजनाका साथ अघि बढ्नुपर्ने चरा विज्ञ डा बराल बताउनुहुन्छ । सरकारी पहल प्रभावकारी नभए पनि पर्यटक नजानिँदो रुपमा चरा अवलोनका लागि आउने गरेको उहाँको भनाइ छ । सौराहास्थित क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनाल चितवनमा चराको पर्यटनको सम्भावना राम्रो रहेको बताउनुहुन्छ । – नारायण ढुङ्गाना/रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु