अखिल (क्रान्तिकारी)द्वारा बन्दाबन्दीको समयमा शुल्क लिने स्कूलहरुमा कालो ब्यानर टाँस

२०७७ असार २३ गते, मंगलवार

काठमाडौँ , २३ असार । अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो अन्तर्गतका रुपन्देही, कपिलवस्तु, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी लगायत जिल्लाहरुका अनलाइन शिक्षा र बन्दाबन्दीको समयमा शुल्क लिने स्कूलहरुमा कालो ब्यानर टाँसेको बताएको छ ।
रुपन्देहीको प्यारामाउण्ट बोर्डिङ स्कुल, बुटवल पब्लिक स्कूल, कपिलवस्तुको शिबगडी बोर्डिङ स्कुल, मदरल्याण्ड बोर्डिङ स्कूल, आदर्श बोर्डिङ स्कूलमा संघर्ष स्वरुप कालो ब्यानर टाँसेको अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोका संयोजक विरेन्द्र विकले बताए । त्यसैगरी अर्घाखाँची, पाल्पा, गुल्मी, नवलपुर, नवलपरासीका विभिन्न स्कूलहरुमा पनि कालो ब्यानर टाँसिएको बताइएको छ ।
अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोले शुल्क असुली विरुद्ध चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको थियो । जसअन्तर्गत यसअघि ध्यानाकर्षण पत्र बुझाएको, सरोकारवालासँग अन्तरक्रिया गरेको, बिद्यार्थी र अभिभावकले संयुक्त कोणसभा गरेको आदि कार्यक्रम सम्पन्न गरिसकेको अखिल (क्रान्तिकारी)ले बताएको छ । पूर्वघोषित संघर्षको कार्यक्रम सकिएर लकडाउनको समयको र अनलाइन शिक्षाको नाममा विद्यार्थी र अभिभावकलाई पत्र दिएर शुल्क तिर्न मानसिक दवाव दिएर शुल्क असुली नरोकिए प्रतिरोधात्मक संघर्ष गर्ने संगठनले बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु