को क्रान्तिकारी ? को प्रतिक्रान्तिकारी ?? – खेम थपलिया

को क्रान्तिकारी ? को प्रतिक्रान्तिकारी ? भन्ने कुरा मानिसको भौतिकी परिस्थितिले मात्र निर्धारण गर्दैन, उसको वैचारिकी परिस्थितिले मात्र पनि निर्धारण गर्दैन । मानिसमा भौतिकी परिस्थिति र वैचारिकी परिस्थितिको एकत्व छ कि छैन भन्ने कुराले मात्र उसको क्रान्तिकारिता वा प्रतिक्रान्तिकारिता निर्धारण हुन्छ । भनिन्छ, संशोधनवाद–प्रतिक्रान्ति बाजा बजाएर आउँदैन तर नेपालमा त्यस्तै भइरहेको छैन । नेपालमा यस्ता घटना अनगिन्ती घटिरहेका छन् । हेर्दाहेर्दै यो अनसनमा पनि आयो । डा. गोविन्द केसी र उनको पछाडि साम्राज्यवादी शक्ति मज्जाले खेलिरहेको हामी सबैलाई थाहा छ । नेपालमा संस्कार–संस्कृतिका नाममा सांस्कृतिक साम्राज्यवाद मनमौजी ढङ्गबाट छाइरहेको त छ नै, अनसन जस्तो संवेदनशील क्षेत्रमा पनि सांस्कृतिक साम्राज्यवादको चलखेल डरलाग्दो ढंगले मौलाइरहेको छ भन्ने कुराको गतिलो प्रमाण डा. केसीको अनसन पनि हो । यी र यस्ता विषय असामान्य परिघटना हुन् । सांस्कृतिक मूल्यलाई जीवन–व्यवहार कसले कसरी ग्रहण गरिरहेको छ भन्ने सन्दर्भले पनि मानिसको क्रान्तिकारिता वा प्रतिक्रान्तिकारिता मापन गर्न सकिन्छ ।
फ्रेडरिक एङ्गेल्सले सन् १८७२ तिर भन्नुभएको थियो, “केन्द्रीकरण र अधिकारको अभाव नै ती कुरा थिए, जसले कम्युनलाई नष्ट पा¥यो । … मलाई लाग्छ या त यी मानिसहरूलाई क्रान्ति भन्ने कुरा के हो थाहा छैन, या त तिनीहरू कुरामा मात्रै क्रान्तिकारी हुन ।” वास्तवमा एङ्गेल्सको यो भनाइ निकै महत्वपूर्ण रहेको छ । लेफ्टिस्ट–राइटिस्ट एउटै तरबारमा हिँड्ने कुरा ‘लुज–लुज थ्यौरी’ हो, यसबाट कुनै पनि हालतमा दुनियाँ बदल्न सकिँदैन । यो भनेको वर्ग–समन्वयवाद हो । हामीले जनता र देशले जित्ने ‘वीन वीन थ्यौरी’ अवलम्बन गर्नुपर्दछ । यसको सार वर्गसंघर्षमा मखरित हुन्छ । अहिले नेपालमा माओवादी केन्द्र र त्यसका नेता पुष्पकमल दाहालको नेतृत्वमा भयानक तरिकाले वर्गीय चिन्तन र व्यवहारलाई घालमेल गर्ने काम भइरहेको छ । यो कुरा निकै घातक छ । त्यसकारण चिन्तनधारा र व्यवहारधाराका आधारमा पनि हामीले क्रान्तिकारिता वा प्रतिक्रान्तिकारिता थाहा पाउन सक्छौँ ।
विश्व परिवेशको पछिल्लो चरणमा उत्तर कोरिया विशेष चर्चामा रहेको छ । यसले विशेषतः अमेरिकालाई हायलकायल बनाइरहेको छ । हामीले यसरी भन्नैपर्दछ कि क्यावात युद्ध नलडीकन युद्ध जित्ने उत्तर कोरियाको शैली ! ट्रम्प नेतृत्वको अमेरिका यतिखेर उत्तर कोरियाका सामु मनोवैज्ञानिक युद्धमा नराम्ररी पराजित हुन पुगेको छ । अमेरिकाले आफ्नो यौद्धिक ब्रिफिङ गर्नुपर्ने अवस्था सामान्य छैन । अमेरिकाले उत्तर कोरियामाथि पहिलो आक्रमण गरे चीन चुपचाप नबस्ने कुराले पनि धेरै राजनीतिक अर्थ बोलेको छ । उत्तर कोरियाले अमेरिकी साम्राज्यवादको एकलौटी खम्बा ढालिदिएकोमा हामी सबैले उत्तर कोरियाको सराहना गर्नुपर्दछ । आज संसारको ध्यान तान्न उत्तर कोरिया कसरी सफल भयो ? यो कुरा नेपाली राजनीतिक विश्लेषकहरूका लागि यो गृहकार्य पनि हो । साम्राज्यवादी शक्तिसित गठजोड गरेर कोही पनि क्रान्तिकारी बन्नै सक्तैन । साम्राज्यवादी शक्तिसित लडाइँको मोर्चा र त्यसमा खेलिएको स्वाधीनता र मुक्तिको भूमिकाका आधारमा पनि हामीले क्रान्तिकारिता वा प्रतिक्रान्तिकारिता मापन गर्न सक्तछौँ ।
माओले भन्नुभएको छ, “दस्तावेजहरूको खात हुन्छ, निर्देशनहरूको बाहुल्यता हुन्छ, अनगिन्ती नपढिएका रिपोर्टहरू हुन्छन्, जसको समीक्षा हुँदैन । तमाम रूपरेखा र कार्यक्रम तयार गरिन्छ र त्यसलाई व्यवहारमा प्रयोग गरिँदैन । असङ्ख्य बैठक हुन्छन् तर चीजहरू अघि बढ्दैनन । निकै नजिकको सम्पर्क हुन्छ र केही पनि सिकाइँदैन ।” हामीले यस किसिमको विसङ्गतिबाट नेतृत्व र पार्टीलाई बचाउनुपर्दछ र बच्नु पनि पर्दछ । कागजमा सदस्य सङ्ख्या असङ्ख्य हुने तर आन्दोलनमा त्यो सङ्ख्या नेखिने कारण के हो ? यसको उत्तर हामीले दिन जरुरी छ । स्थानीय निर्वाचन खारेजी अभियानका क्रममा पनि यो समस्या देखाप¥यो । परिणामतः स्थानीय निर्वाचन खारेजी अभियानमा नेपाल कम्युनिस्ट पार्टी र यसका नेता तथा कार्यकर्तामाथि संसदीय दलाल सत्ताले जसरी हत्या, आतङ्क र चरम दमनको रवैया अपनायो । यसले क्रान्तिकारीहरूलाई थप सशक्त र एकताबद्ध हुन प्रेरित गरेको छ । एक समय माओले भन्नुभएको थियो, “च्याङकाइसेक हाम्रा नकारात्मक गुरु हुन् । उनले चरम दमन नगरेको भए वर्गसङ्घर्ष यति छिट्टै उठ्दैनथ्यो ।” नेपालका क्रान्तिकारीहरूलाई वर्गसङ्घर्ष उठाउन माके–कांग्रेस नकारात्मक गुरु बनेका छन् । नेपाली राजनीतिको यो पछिल्लो अन्तर्वस्तुको बुझाइको स्तर र बुझाइको कोणले पनि क्रान्तिकारिता वा प्रतिक्रान्तिकारिताको मापन गर्न सक्तछौँ ।
नेपालमा निकै लामो समयदेखि बुर्जुवा शिविरबाट कम्युनिस्टहरूमाथि बारम्बार यसरी आक्रमण भइरहेको छ, “नेपालमा कम्युनिस्टहरू मिलेर बस्न सक्दैनन् । मारामार गरिरहन्छन् र फुटिरहन्छन् । आफैँभित्र मिल्न नसक्ने कम्युनिस्टहरूले देश र जनताको समस्या कसरी हल गर्छन् ?” अब हामीले नेपालका सच्चा क्रान्तिकारी कम्युनिस्टहरूका बीच व्यापक क्रान्तिकारी ध्रुबीकरण गरेर यसको सही उत्तर दिनुपर्छ । साथै, पूर्व राजा ज्ञानेन्द्रले चिहानमा पु¥याइदिएको संसदीय व्यवस्थालाई प्रचण्ड–बाबुरामहरूले अब दुनियाँमा क्रान्ति सम्भव छैन भन्दै वर्गसङ्घर्ष र वर्गसङ्घर्षमा बल प्रयोगको सिद्धान्त परित्याग गरेर ब्युँताए । उनीहरूले भने, “हामी अब झुक्किएर पनि कहिल्यै बन्दुकका कुरा गर्नेछैनौँ । अन्जानवश हिजो गल्ती गरियो, अब हामी साँच्चै बुद्ध बन्छौँ । अब हामी त्यस्ते गल्ती गर्दैैनौँ । अब हामी बुद्धपथगामी भएका छौँ । अब हाम्राविरुद्ध हेगको झमेला नझिक्नुस् है ।” देश र जनताका पक्षमा लिइएका पहलकदमीलाई प्रचण्ड–बाबुरामले ‘गल्ती’ भने पनि नेपालका क्रान्तिकारीहरूले देश र जनताको मुक्तिका लागि त्यस्ता गल्ती गरिरहन्छन् र गरिरहनु पनि पर्दछ । यस्तो गल्ती गर्ने साहसका आधारमा पनि हामी क्रान्तिकारिता वा प्रतिक्रान्तिकारिताको निक्र्यौल गर्न सक्तछौँ ।
माओले भन्नुभएको छ, ‘सत्रुले हाम्रो विरोध गरे भने हामी सही छौँ भन्ने बुझ्नुपर्छ र समर्थन गरे भने हामी बिग्रँदैछौँ भन्ने बुझ्नुपर्छ ।” यो कुरालाई हामीले आफ्नो जीवनमा निकै ख्याल गर्नुपर्दछ । प्रतिक्रियाहरूका नियतलाई राम्रोगरी अध्ययन गर्नुपर्दछ । हामीले या मैले के गर्दैछौँ या गर्दैछु र त्यसको प्रभाव के कस्तो परिरहेको छ भनेर मूल्याङ्कन गरिरहनुपर्दछ । यसका साथै, जब कम्युनिस्ट पार्टीमा ‘क्याडरबेस’, ‘चेन अफ कमान्ड’ र ‘फलामे अनुशासन’ को मान्यता समाप्त हुन्छ, तब त्यो पार्टी बुर्जुवा पार्टी बन्नुको कुनै विकल्प नै हुँदैन । भने पनि, नभने पनि त्यो पार्टीमा व्यापक बुर्जुवाकरण भइसकेको हुन्छ । भन्नु र नभन्नु अलग कुरा हो । यसबारे माओवादी केन्द्रबाट धेरै कुरा सिक्न सकिन्छ । चीनमा माओले सन् १९४९ युद्धरत समयको अवधिलाई ध्वंस र नयाँ जनवादी क्रान्ति सफलतापछि निर्माणको चरण भनेर छुट्याउनुभएको थियो । नेपालको सन्दर्भमा अहिलेको चरण युद्धरत समय हो र यसको चरित्र ध्वंसात्मक हुन्छ । ध्वंस र निर्माणका बीचमा द्वन्द्वात्मक सम्बन्ध हुन्छन् । एकीकृत जनक्रान्ति ध्वंस–निर्माणको ऊध्र्वगामी हुँदै वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने क्रान्तिकारी कार्यदिशा हो । यसकारण क्रान्तिकारी कार्यदिशा अर्थात् एकीकृत जनक्रान्तिको कार्यदिशा अवलम्बन गरेको छ कि छैन भन्ने कुराबाट पनि हामीले क्रान्तिकारिता वा प्रतिक्रान्तिकारिताको मापन गर्न सक्तछौँ ।
अहिले युक्रेन बहुलाउँदैछ । उसले पूर्व–सोभियतकालीन महान् लेनिनका सयौं सालिक हटाएको छ र बाँकी सालिकलाई पनि तीव्र रूपमा हटाउँदैछ । महान् सोभियतको प्रतीक मानिएका लेनिनका त्यस्ता सालिक देशभरबाट हटाउनु सामान्य कुरा हुँदै होइन । युक्रेनले सोभियत सङ्घका संस्थापक लेनिनका १ हजार ३ सय २० वटा सालिक हटाइसकेको छ । बोल्सेभिक क्रान्तिका नेता लेनिनका युक्रेनभरि प्रायः सबै प्रमुख बस्तीमा सालिक बनाइएका थिए । रूससँग विवाद बढ्दै गएपछि वर्तमान युक्रेनी सरकारले पूर्ण रूपमा लेनिनका सालिकमाथि प्रतिशोध साँध्न थालेको हो । युक्रेनको यस्तो कदमप्रति विश्वभरका क्रान्तिकारीहरूले दुःख मानिरहेका छन् । सालिक ढले पनि विचार ढल्दैन क्यारे । निश्चय पनि यस्ता घटनाबाट कसैको मन दुख्छ भने त्यो क्रान्तिकारी हो र दुख्दैन भने त्यो प्रतिक्रान्तिकारी हो ।
नेपालमा दुईवटा एमालेको आवश्यकता छैन भन्ने कुरा जति सही छ, नेपालमा दुईजना प्रचण्ड हुन सक्तैनन् भन्ने कुरा पनि उत्तिकै सही छ तर हालसालै काठमाडौंमा भएको एक सार्वजनिक कार्यक्रममा प्रचण्डले आत्मकेन्द्री व्यक्तिवादको पराकाष्ठाको रूपमा अत्यन्त अराजनीतिक, उत्तेजक र गैर–जिम्मेवारीपूर्ण अभिव्यक्ति दिए । एउटै प्रचण्डले विचार, क्रान्ति, सपना, बलिदान र वर्गमा यत्रो विध्वंस गरेको देख्दादेख्दै अर्को प्रचण्ड जन्माउने कुरा नेपालमा सायदै कसैले कल्पना पनि गरेका छैनन् । एकीकृत जनक्रान्तिको विशाल छहारीमा नेपालमा हुर्कंदै गएको क्रान्ति र क्रान्तिकारी नेतृत्वलाई निमोठ्ने गरी संसद्वादमा चुर्लुम्म डुबेका प्रचण्डको धृष्टता कुनै पनि हालतमा पूरा हुनेछैन र पूरा हुन दिइने पनि छैन ।
सामान्यतया मानिसहरू रातको समय या निदाएको बेला सपना देख्छन् । रातमा देखिने सपना त केवल जैविक विश्राम मात्र हो, त्यो त असचेतन प्रक्रिया हो । हामीले ननिदाएको बेला अर्थात दिउँसो सपना देख्नुपर्दछ । दिउँसो देखिएको सपनामा दृष्टिकोण, योजना, बलिदानी भावना, मुक्तिको आकाङ्क्षा प्रतिबिम्बित हुन्छ, जुन सपनाले दलाल सत्तासीनद्वारा हलाल गरिएको मेरो देशलाई ब्युँझाइदिने सामथ्र्य राखोस् । कसले कस्तो सपना देख्छ भन्ने कुराले पनि को क्रान्तिकारी हो र को प्रतिक्रान्तिकारी हो भन्ने कुराको मापन गर्न सकिन्छ । अन्तमा, प्रसिद्ध रविन्द्रनाथ टैंगोरको निम्न कवितांश प्रस्तुत गर्दछु ः
जहाँ मस्तिष्क भयरहित हुन्छ र शिर उँचो हुन्छ
जहाँ ज्ञान स्वतन्त्र हुन्छ
जहाँ संसार आन्तरिक साँघुरो पर्खालले टुक्रा–टुक्रामा विभक्त भएको छैन
जहाँ शब्दहरू सत्यको गहिराइबाट उच्चारित हुन्छ
जहाँ थकानरहित प्रयत्नहरू पूर्णतातर्फ अग्रसर हुन्छन्
जहाँ प्रस्ट विवेकको मुस्लोले अन्धविश्वासको भयावह मरूभूमिमा बाटो बिराउँदैनन्
जहाँ मस्तिष्क सधैँ विचार र कार्यको अग्रगमनतर्फ तपाईंद्वारा डोहो¥याइन्छ
त्यही स्वतन्त्रताको स्वर्गमा, हे परमपिता, मेरो देशलाई ब्युँझाइदिनुहोस् ।।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>