वैदेशिक व्यापारमा १८.५४ प्रतिशतले गिरावट

२०७९ कार्तिक २६ गते, शनिबार

काठमाडाैं । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ३ महिनामा वैदेशिक व्यापारमा उल्लेख्य रुपमा गिरावट आएको छ । गत असोजसम्ममा वैदेशिक व्यापारमा १८ दशमलव ५४ प्रतिशतले कमी आएको हाे । सरकारले मुख्य आयातजन्य वस्तुमा प्रतिबन्ध लगाएसँगै कुल आयात घटेको छ भने यसले व्यापार घाटामा पनि कमी आएको छ । विभागका अनुसार आयात तथा निर्यातको योगफल अर्थात कुल वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षमा ५ खर्ब ४३ अर्ब ५७ करोड रहेकोमा चालू आर्थिक वर्षको असोजसम्ममा ४ खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ । वैदेशिक व्यापारमा निकासीको हिस्सा अघिल्लो वर्ष ११ दशमलव ९७ प्रतिशत रहेकोमा चालू वर्षमा घटेर ९ दशमलव ४४ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८८ दशमलव ३ प्रतिशतबाट बढेर ९० दशमलव ५६ प्रतिशत पुगेको तथ्यांक रहेकाे छ। असोजसम्म निकासी व्यापार ४१ अर्ब ८२ करोड १ लाख रुपैयाँमा सीमित भएको छ । निर्यातसँगै आयातमा पनि कमी आएको छ । सरकारले मुख्य वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा आयातमा १६ दशमलव २० प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार असोजसम्म ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको आयात भएको थियो । असोजसम्म ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको र यो घाटा अघिल्लो वर्षको तुलनामा १३ दशमलव १३ प्रतिशतले कम रहेको विभागको तथ्यांक रहेको छ । नेपालको मुख्य निर्यातयोग्य वस्तुका रुपमा रहेको भटमासको तेल ३ अर्ब १६ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ भने पाम आयलको निकासी भने ८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सनफ्लावर आयलको निकासी १५ करोड ६३ लाख रुपैयाँमा सीमित छ । भारतले वनस्पति तेलमा कर घटाएसँगै नेपालको निकासी व्यापार घटेको हो । आयाततर्फ भारतबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ भित्रिएको छ । ३ महिनामा १८ अर्ब २२ करोड रुपैयाँको पेट्रोल, २९ अर्ब २९ करोडको डिजेल र १४ अर्ब ९४ करोडको एलपी ग्याँस आयात भएको छ ।

प्रतिक्रियाहरु