पेट्रोलियम पदार्थको मूल्य पुन : वृद्धि

२०७७ चैत्र ४ गते, बुधबार


काठमाडौं । पछिल्लो २ महिनामै ४ पटक मूल्य बढाइसकेको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मंगलबार रातीदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु ११८ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर रु १०१ पुगेको छ । यस्तै हवाई इन्धन आन्तरिकको साविक मूल्यमा रु दुईले वृद्धि हुँदा प्रतिलिटर रु ७४ पुगेको छ । खान पकाउने एलपी ग्यास तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको छ । मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा नौ रुपैयाँ ३५ पैसा, डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ ८० पैसा तथा खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको छ उपाध्यायले जानकारी दिए ।
त्यसआधारमा अर्धमासिक रुपमा निगमलाई रु एक अर्ब २७ करोड ७० लाख बराबरको घाटा रहेको दाबी गरिएको छ । सो घाटा रकम मूल्य स्थितीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने निगमले जनाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त भएको मूल्यअनुसार नै निगमले मूल्य समायोजन गरेको जनाएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु ११६, डिजल र मट्टीतेल प्रतिलिटर रु ९९ मा बिक्री हुँदै आएको थियो । निगमले गत फागुन १७ मा मूल्य समायोजन गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु