युवा संगठन नवलपुरद्वारा रक्तदान

२०७७ आश्विन ७ गते, बुधबार


काठमाडौँ । युवा संगठन नेपाल, नवलपुरले मध्यविन्दु नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनका दुई दर्जन बढी युवा नेता कार्यकर्ता र स्थानीय युवाहरुले रक्तदान गरेको बताइएको छ। युवा संगठन नवलपुरले कोरोना महामारीको कारणले अस्पतालमा भइरहेको रगतको अभावलाई पुर्ति गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरेको हो । नवलपुर रेडक्रससँगको समन्वयमा गरिएको उक्त कार्यक्रममा २५ जनाले रक्तदान गरिएको युवा संगठन नेपाल नवलपुरका अध्यक्ष अविनाशले जानकारी दिएका छन् ।
जिल्ला अध्यक्ष अविनाशले पुँजीवादी दलाल संसदीय व्यवस्था र त्यसका मतियारहरु जनतालाई लुटिरहेको र कोरोना भन्दा ठूलो दुश्मन विद्यमान दलाल संसदीय व्यवस्था रहेकोले यसकाविरुद्ध देशभक्त, क्रान्तिकारी, परिवर्तन चाहने सम्पूर्ण युवाहरु एकजुट हुन अपिलसमेत गरेका छन् । नवलपुरमा युवा संगठनले विभिन्न अभियानात्मक संघर्ष गर्दै आएको छ । यसअघि नवलपुरमा अखिल (क्रान्तिकारी) को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु