मेलम्चीमा माछा नमार्न र पाैडी नखेल्न आग्रह !

२०७७ असार २२ गते, सोमबार

काठमाडौं, २२ असार । मेलम्ची खानेपानी आयोजनाको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतबारदेखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटबढ हुनसक्ने बताएको छ । परीक्षणका क्रममा नदीमा पानीको बहाव घटबढ हुनसक्ने भन्दै आयोजनाले नदीमा पौडी नखेल्न, माछा नमार्न र बस्तुभाउ लिएर जाँदा विशेष सावधानी अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।
आयोजनाले सुरुङको प्रवेश मार्ग रहेका अम्बाथान, ग्याल्थुम र सिन्धुबाट समेत कुनै पनि समयमा पानी छाड्न सकिने भएकाले त्यस क्षेत्रका खोलानालामा जाँदा विशेष सावधानी अपनाउन भनिएको छ । साथै आफ्नो घर वरपरको क्षेत्रमा नयाँ मूलबाट पानी निस्किएको देखिएमा तुरुन्तै आयोजनालाई खबर पनि भनिएको छ ।
आइतबार बिहानबाट मेलम्ची खोलाको पानी आयोजनाको सुरुङमार्गमा पठान्तरण गरिएको छ । सुरुङ मार्ग भरिन केही दिन लाग्ने र त्यसपछि सुरुङको अन्तिम परीक्षण हुने बताइएको छ ।
आयोजनाका प्रमुख तिरेश प्रसाद खत्रीले सुरुङमा पानी हालिसकिएकाले केही दिनमा नै २६ किलोमिटर लामो सुरुङ भरिने र त्यसपछि सुरुङ खाली गरी फेरि पानी हालेर उपत्यकामा पानी वितरणको प्रक्रिया सुरु गरिने बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु