बुद्धचित्त लुटेरा र स्थानीयबीच झडप !

२०७७ असार १२ गते, शुक्रबार

काठमाडौँ , १२ असार । काभ्रे रोशी गाउँपालिका ५ का वीर बहादुर तामाङको बारीमा फलेको बुद्धचित्त लुटन गएको समूहले हवाइ फायर गर्दै स्थानीयमाथि गएराति आक्रमण गरेका छन । बुद्धचित्त लुटपाट गर्ने समूहको आक्रमणमा परेर चार जना घाइते भएका छन । आक्रमणमा बुद्धचित्त कुर्न बसेका तिमाल गाँउपालिका–६ का श्याम तामाङ, रोशी गाँउपालिका –६ का जितबहादुर तामाङ, शेखर लामा, जीतबहादुर लामा घाइते भएका हुन । रोशी पाँचका वाङडुक लामा भने घटनापछि बेपत्ता छन् । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । वीर बहादुर तामाङको वारीमा फलेको बुद्धचित्त कुरेर बसेकाहरुलाई ३०–४० जनाको संख्यामा रहेको लुटेरा समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ । लुटेरा समूहले ९० लाख बराबरको बुद्धचित्त लुटेको छ ।
लुटपाटको क्रममा सो समूहले केही राउण्ड हवाइ फायर समेत गरेको प्रहरीले जनाएको छ । एउटा सकेट बम समेत विस्फोट गराएको प्रहरीले जनाएको छ । लुटेरा समूहले स्थानीय वीर बहादुर तामाङ र दिलबहादुर तामाङको घरमा तोडफोड समेत गरेको छ । साथै बुद्धचित्त कुर्न बसेकासहित स्थानीय १६ जनाको मोवाइल समेत लुटेको छ । सो समूह एसएमजी, पेस्तोल, कटुवा पेस्तोल, सकेट बम सहित बुद्धचित्त लुटन पुगेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले घटनास्थलवाट पेस्तोलको गोलीको एक खोका, पेस्तोलकै लाइफ बुलेट पनि एक थान फेला पारेको छ ।
लुटेरा समूह र बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ । काभ्रेको तिमाल र आसपासको क्षेत्रमा उत्पादन हुने बुद्धचित्त चीनमा जाने गर्दछ । यसको माला महंगो मूल्यमा बिक्री हुने हुँदा समय समयमा लुटपाटका घटना हुने गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु