बल्खु र कालीमाटी तरकारी बजारमा छापा

२०७६ श्रावण ३ गते, शुक्रबार

काठमाडौं, ३ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृतको नेतृत्वले आज बिहानै ४ बजेदेखि उक्त तरकारी बजारको अनुगमन गरेको छ । अनुगमनका लागि दुई टोली खटिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । सरकारले काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको हो । बढी मूल्यमा तरकारी तथा फलफूल बेच्ने केही व्यापारी कारबाहीमा समेत परेका छन् । राजधानीमा रहेका ठूला तरकारी बजारमा नियमित तरकारीको आपूर्ति भइरहे पनि अस्वभाविकरूपमा मूल्यवृद्धि भएको पाइएकाले अनुगमन गरिएको उनले बताए । गत असार अन्तिम साताको अविरल वर्षासँगै आएको बाढीपहिरो तथा डुबानका कारण तरकारी आपूर्तिमा केही समस्या देखिएको थियो । विपद्का कारण अवरुद्ध भएका सडक सञ्चालनमा आई तरकारीको आपूर्ति सामान्य अवस्थामा फर्किसकेको छ ।
बाढी, पहिरो तथा डुबानको समस्या देखाउँदै कालीमाटी र बल्खुस्थित व्यवसायीले तरकारीको थोक मूल्य अस्वभाविकरूपमा वृद्धि गरेका छन् । जसको परिणामस्वरुप सर्वसाधारणको भान्छासमेत निकै महङ्गो बनेको छ । सरकारले कृत्रिम मूल्यवृद्धि गर्ने व्यापारी, व्यवसायीमाथि कारवाही गर्न सकेको छैन । गत वर्ष पनि सरकारले कालीमाटीस्थित तरकारी बजारमा बिचौलिया हावी भएको भन्दै अनुगमन गरे पनि कारवाही गर्न सकेको थिएन । अनुगमनमा खटिएका निरीक्षण अधिकृतले तरकारी खरीद गरेको बिलबिजक नदेखाउने व्यापारीमाथि तत्काल कारवाही गर्ने विभागका महानिर्देशक गौचनले बताए ।
खरदि गरिएको बिलबिजक, भरपाई तथा ‘रिसिप्ट’ देखाउन नसक्ने व्यापारीमाथि तत्काल जरिवाना गरिने उनको भनाइ छ । अनुगमनलाई अभियानका रूपमै सञ्चालन गरिने तयारी गरिएको छ । बिहान ८ बजेसम्म अनुगमन टोलीले बल्खुस्थित तरकारी बजारका ११ र कालीमाटीस्थित तरकारी बजारका ७ पसलमाथि कारवाहीस्वरुप जरिवाना गरेको विभागले जनाएको छ ।
विभागका निरीक्षण अधिकृत दीपक पोखरेलको नेतृत्वमा कालीमाटी र पवन प्याकुरेलको नेतृत्वमा बल्खुस्थित तरकारी बजारको अनुगमन भइरहेको छ । अनुगमन टोलीमा कृषि विभागका प्रतिनिधि र केही सुरक्षाकर्मी सहभागी रहेको विभागले जनाएको छ ।

प्रतिक्रियाहरु