आज विवाहपञ्चमी

२०७५ मंसिर २६ गते, बुधबार

काठमाडौं , २६ मंसिर । आज विवाहपञ्चमी पर्व , मर्यादापुरुष श्रीरामचन्द्र र आदर्श नारी सीताको पूजा आराधना गरी मनाइँदै छ ।श्रीराम र सीताबीच त्रेता युगमा भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक गरिँदै छ । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रंगभूमिमा पु¥याइन्छ ।
त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ । रंगभूमिमा स्वयंवर विधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । त्यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् । श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । सो अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना गरिँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ ।
यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत छ । यस अवसरमा आज प्रदेश नं. २ सरकारले प्रदेशका आठ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु