जुवा खालमा प्रहरी छापा, दुई जनाको मृत्यु

२०७५ आश्विन २० गते, शनिबार

काठमाडौं , २० असोज । काठमाडौंको मूलपानीमा जुवा खेल भइरहेको स्थानमा प्रहरीले छापा मार्दा भएको भाडदौडमा दुई जनाको मृत्यु भएको छ । जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले तेन्दु शेर्पाको घरमा छापा मारेपछि भएको भाडदौडका क्रममा झ्यालबाट हाम फालेका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा सरोज घले र सोमलाल तामाङ छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा मूलपानीमा रहेको तेन्दु शेर्पाको घरको तेस्रो तलामा राति ११ बजे जुवा खेलिरहेको अवस्थामा छापा मारेको थियो ।
सोही क्रममा धेरै संख्यामा रहेका जुवाडेहरू कोही छतबाट र कोही झ्यालबाट हाम फालेका थिए । झ्यालबाट हाम फाल्दा दुई जना भने टिनमा ठोक्किएर गम्भीर घाइते भएको र उनीहरुको उपचारका बी एन्ड बी अस्पतालमा निधन भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए । प्रहरीले अन्य २३ जना जुवाडेलाई भने पक्राउ गरेको छ । उनीहरुका साथबाट ४ लाख रुपैयाँभन्दा बढीको नगद, मोटरसाइकल र मदिरा बरामद गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु