प्रधानमन्त्री ओलीको सम्पति ४२ लाख अन्य सम्पति पत्नीको स्वआर्जन

२०७५ जेष्ठ ९ गते, बुधबार

काठमाडौं, ९ जेष्ठ । प्रधानमन्त्री कार्यालयको वेवसाइटमा आज सार्वजनिक गरिएको सम्पति विवरण अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पति आफ्नो नाममा जम्मा ४२ लाख रुपैयाँ मात्र देखिएको छ भने घरजग्गा तथा अन्य सम्पति पत्नी राधिका शाक्यको स्वाआर्जन रहेको सम्पति विवरणमा उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले बुझाएको सम्पति विवरण अनुसार प्रधानमन्त्री ओलीको एभरेष्ट बैंकस्थित खातामा ४२ लाख रुपैयाँ रहेको उल्लेख छ । उक्त रकम तलब भत्ताबाट प्राप्त भएको बताइएको छ ।
त्यस्तै प्रधानमन्त्री पत्नी शाक्यको नाममा माछापुछ्रे बैंकमा ४ लाख र प्रभु बैंकमा ६ लाख रुपैयाँ नगद मौज्दात देखिएको छ भने राष्ट्रिय वचत पत्र २५ लाख रुपैयाँ छ । यसलाई शाक्यले स्वआर्जित बताएकी छिन् । उनले कैफियतमा आफु राष्ट्र बैंकको पूर्व प्रथम श्रेणीको कर्मचारी रहेको उल्लेख गरेकी छिन् । सुन गरगहना १७ -१८ तोला उल्लेख छ । त्यस्तै शाक्यकै नाममा भक्तपुरको सुर्यविनायक–२ मा एक रोपनी र आधा रोपनी जग्गा तथा ३ तलको घर र झापाको पृथ्वीनगरमा १० कट्ठा जग्गा स्वआर्जनबाट जोडेको उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरु