२५ प्रतिशत रेमिट्यान्स ऋण तिर्न प्रयोग

२०७३ आश्विन ११ गते, मंगलवार

काठमाडौ, ११ असोज । वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमको २५.३ प्रतिशत हिस्सा विदेश जाँदा लागेको ऋण तिर्न प्रयोग हुने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका ३ सय २० घरपरिवारमा गरेको सर्वेक्षणले एक वर्षको अवधिमा विदेशबाट पठाएको रकमको २५.३ प्रतिशत रकम ऋण तिर्न लागि प्रयोग हुने गरेको देखाएको छ ।
“रोजगारीमा जाने सिलसिलामा वा जानु अघिदेखि नै ऋणग्रस्त हुने तथा रेमिट्यान्स प्राप्त गर्ने अधिकांश घरपरिवारले घर/जग्गा लगायतका स्थिर सम्पत्ति खरिद गर्न ऋण लिने कारण रेमिट्यान्स आयको सबैभन्दा ठूलो अंश ऋण तिर्न प्रयोग हुने गरेको छ,” राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा वैदेशिक रोजगारीमा जाने कामदारले पैसा पठाएपछि पहिलो प्राथमिकता ऋण तिर्नको लागि हुने गरेको देखिएको बताउँछन् । “कतिपय कामदारले घरघडेरी जोड्न पनि ऋण लिने र त्यो रकम तिर्न प्राथमिकता दिने गरेको देखिएको छ,” थापाले भने ।
राष्ट्र बैंकले पहाड र तराईका ७–७ वटा तथा हिमाली क्षेत्रका २ वटा जिल्ला छानेर सर्वेक्षण गरेको थियो । वैदेशिक रोजगारीबाट कमाएको रकमको ठूलो हिस्सा ऋण तिर्न प्रयोग हुने भएकाले सहज रूपमा विदेश जान युवाहरुलाई सम्बन्धित पक्षले रकम उपलब्ध गराउन पनि राष्ट्र बैंकले सुझाव दिएको छ ।
आर्थिक वर्ष ०५०/०५१ मा कुल राष्ट्रिय बचत– कुल गार्हस्थ्य बचत अनुपात १४.६ प्रतिशतभन्दा अलिकति माथि १६.८ प्रतिशत रहेकोमा ०७१/०७२ मा ११.४ प्रतिशतभन्दा उल्लेख्य ४४.६ प्रतिशत रहनुमा विप्रेषण आप्रवाहको प्रमुख भूमिका रहेको देखिएको राष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
वैदेशिक रोजगारीबाट कमाएको पैसा ऋण तिर्ने तथा बचतपछि सबैभन्दा बढी खर्च उपभोगमा हुने गरेको छ ।- कारोबार दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु