स्वरोजगार कोषमा विनोदको मनोविनोद

२०७० बैशाख २८ गते, शनिबार

काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष, कोषका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंको क्रीडास्थलमा परिणत भएको स्रोतले बताएको छ । अहिले युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंको मनोविनोद गर्ने थलोको रूपमा विकास भएको सम्बद्ध कर्मचारीहरूले नै गुनासो गर्न थालेको स्रोतले बताएको छ । कोषका कार्यकारी निर्देशक गुरागाईंकै अक्षमताका कारण कोष धराशयी हुन लागेको स्रोतले दाबी गरेको छ । युवा तथा स्वरोजगार कोषको कामकारवाहीमा महालेखा परीक्षकको कार्यालयले समेत प्रश्न उठाएकोले कोषमा कार्यकारी निर्देशक गुरागाईंले ब्रम्हलुट मच्चाएको प्रस्ट हुने स्रोतको दाबी छ । महालेखाको ५० औँ वाषिर्क प्रतिवेदनमा स्वरोजगार कोषले उद्देश्यअनुरूप कार्यक्रम सञ्चालन गर्न नसकेको कारण लगानी जोखिममा परेको औँल्याइएको छ । कोषबाट ऋण रकम प्राप्त गर्ने बैंक, वित्तीय संस्था तथा सहकारीहरूले बेरोजगार युवा तथा लक्षितवर्गलाई समेटेर ऋण प्रवाह गरे, नगरेको, लक्षित वर्गले प्राप्त गरेको ऋण उद्देश्यअनुरूप भए, नभएको, सम्झौताअनुसारको ऋण साँवा-ब्याज असुल भए, नभएको अनुगमन गर्ने, प्रतिवेदन दिने व्यवस्था नभएको उल्लेख गरिएको छ । उक्त प्रतिवेदनमा कोषको अनुगमन निर्देशिका नभएको जसले गर्दा कोषबाट प्रवाह भएको कर्जा उद्देश्यअनुरूप सञ्चालन भइरहेको सुनिश्चित हुने आधार नभएको जनाइएको छ । यसबाट के प्रस्ट हुन्छ भने युवा स्वरोलजगार कोष केही व्यक्तिका लागि ठगिखाने थलो बनेको छ र यस थलोका नाइके कार्यकारी निर्देशक गुरागाईं बनेका छन् । युवा स्वरोजगार कोषको अध्यक्ष विभागीय मन्त्री अर्थात् अर्थमन्त्री भए पनि कार्यकारी भूमका कोषमा उपाध्यक्ष र सदस्यसचिवमा नै निहित हुन व्यवहारिक प्रचलन छ । कोषका कार्यकारी निर्देशक नै सदस्यसचिव रहने व्यविस्थाका कारण पनि कोषबाट हुने अनियमिततामा कार्यकारी निर्देशक गुरागाईंको संलग्नता रहनु कुनै नौलो विषय होइन ।
युवा तथा स्वरोजगार कोषमा अनियमितता भइरहेको विषयमा महालेखाको प्रतिवेदन र विभिन्न पत्रपत्रिका र अनलाइनहरूमा समेत समाचार आइरहेको सम्बन्धमा कोष कर्मचारीहरू समक्ष जिज्ञासा राख्दा उनीहरूले पनि कोषमा व्यापक अनियमितता, भ्रष्टाचार हुने गरेको स्वीकार गरेका छन् । यस विषयमा आफ्नो नाम उल्लेख नगरिदिनुस् भन्दै एक कर्मचारी भन्छन्- कोषको यो दुदशा हुनुमा हाम्रा कार्यकारी निर्देशक विनोद गुरागाईं नै प्रमुख जिम्मेवार छन् । एक कर्मचारी भए पनि उनी आफ्नो स्वार्थसिद्धिका लागि विभिन्न गिरोहसँग संलग्न हुँदा यस्तो स्थिति पैदा भएको छ ।

प्रतिक्रियाहरु