माथिल्लो मादी एक वर्षभित्र समपन्न हुने

२०७२ जेष्ठ १५ गते, शुक्रबार

काठमाडौँ, १५ जेठ । माथिल्लो मादी जलविद्युत् आयोजनाको काम एक वर्षभित्र सकिने भएको छ ।कास्कीको सिल्दुजुरे गाविस– ९ बाहुन डाँडामा निर्माणाधीन
मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताइएको छ । सन् २०१६ को मे महिनाभित्र काम सम्पन्न हुने आयोजनाका संयोजक रामराज कोइरालाले जानकारी दिए । वैशाख महिनाको अन्तिमसम्म तीन हजार ७०० मिटर सुरुङ खन्ने काम सकिएको छ । अब करिब ५०० मिटरमात्रै सुरुङ खन्न बाँकी छ । विद्युत् गृह, सुरुङलगायतका काम एक वर्षभित्र सकेर विद्युत् वितरण गरिने उनले बताए । अनुमानित लागत रु पाँच अर्ब २८ करोडबराबरको रकम स्वदेशी तथा वैदेशिक सहयोग जुटाइ उक्त आयोजना पूरा गरिने बताइएको छ । कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशत र चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशतको सहयोगमा विसं २०६९ को पुस महिनाबाट निर्माण कार्य सुरु गरिएको थियो ।
चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो ब्युरो–१० चेन्डुलाई निर्माणको जिम्मा दिइएको छ । बाँधको आवश्यक संरचना तयार गरी चार हजार २०० मिटर लामो सुरुङ निर्माण गरी सिल्दुजुरे– ९ डाँडाबारीमा पानी खसालिनेछ । आयोजना निर्माणबाट यस क्षेत्रका ५० हजार बासिन्दा लाभान्वित हुनेछन् ।

प्रतिक्रियाहरु