नौविसेमा बस दुर्घटना ,१२ जनाको मृत्यु

२०७२ बैशाख ९ गते, बुधबार

काठमाडौ, ९ बैशाख । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौविसे गाउं विकास समिति वडा नम्बर ५ झयाप्रे खोलामा जी जे १४ एक्स ९९०० नम्बरको भारतीय पर्यटक बोकेको बस दुर्घटना हुंदा १२ जनाको मृत्यु भएको छ । घटनास्थल पुगेको सशस्त्र प्रहरी बलको निलवाराही गणका एसपी काजीदास धौबुजीको टोलीले १२ को मृत्यु पुष्टि गरेको हो । सो टोलीका साथै काठमाडौं प्रहरी पनि घटनास्थलमा उद्धारमा खटिएको छ ।
दुर्घटनामा परी ३६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको र अरुको उद्धार जारी रहेको पनि प्रहरीले जनाएको छ ।
काठमाडौंबाट गोरखपुर जादै गरेको सो बस सडकबाट करिव तीन सय मिटर तल खोलामा खसेको थियो ।पशुपतिनाथ दर्शन गरी फर्केका तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको हो । अहिले दुर्घटनाग्रस्त क्षेत्रमा उद्धार कार्य भइरहेको छ ।
यसैगरी , सर्लाहीको मोहनपुर गाविसमा हिजो साँझ ग्यास सिलिण्डर फड्किदा ६ जना घाइते भएका छन् ।जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेहरुमा मोहनपुर ८ निवासी ८० वर्षिया बृद्ध रामकली देवी महतो, ५० वर्षिया इश्वरबती महतो, ३५ वर्षिय रामइश्वर महतो, २५ वर्षिया लिलाबती महतो, १५ वर्षिया ममता महतो र ७ वर्षिय बालक दिपेश महतो रहेकोे प्रहरी नायव उपरीक्षक रमेश कुमार खड्काले बताए ।
गम्भीर घाइतेहरुको जिल्ला अस्पताल मलंगवामा समान्य उपचार गरी भरतपुर रिफर गरिएको उपरीक्षक खडकाले जानकारी दिए । हिजो करिब ५ बजेको समयमा रामइश्वर महतोको घरमा खाजा बनाउन ग्याँस बाल्दा ग्यास पड्केको प्रहरीले जनाएको छ । ग्यास पड्केपछि महतो परिवार घाईते हुनुको साथै घरमा समेत क्षति भएको छ ।

प्रतिक्रियाहरु