आर्थिक वृद्धिदर ५ प्रतिशतमा सीमित रहने

२०७१ चैत्र ११ गते, बुधबार

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्ष ०७१/७२ मा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । मंगलवार एसिया–प्रशान्त क्षेत्रका ४८ मुलुकको आर्थिक वृद्धिसम्बन्धी ‘एसियाली विकास परिदृश्य–२०१५’ सार्वजनिक गर्दै एडिबीले यस्तो प्रक्षेपण गरेको हो । सरकारले भने आफ्नो प्रतिवेदनमा आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशतको लक्ष्य राखेको छ ।
सरकारले यो वर्ष आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने लक्ष्य राखेको भएपनि मध्यावधि समिक्षामा भने ५ प्रतिशतको हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।
अघिल्लो आवमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव २ प्रतिशत रहे पनि चालू आवमा भने ४ दशमलव ६ प्रतिशतमा झर्ने एडिबीको अनुमान छ । कमजोर मनसुन र बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपले धान, मकै, कोदोलगायत खाद्यान्न उत्पादनमा असर पर्ने अनुमान एडिबीले गरेको छ । दिगो राजनीतिक अवस्था, अनुकुल मौसम, समयमा बजेट ल्याई प्रभावकारी कार्यान्वयन लगानीकर्ताको उच्च मनोबल र रेमिट्यान्सको उच्च वृद्धिले आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत पुग्ने एडिबीको अपेक्षा थियो ।
एडिबीले चालू आवमा मूल्य बृद्धि दर ७ दशमलव ७ प्रतिशतमा कायम हुने प्रक्षेपण गरेको छ । सन् २०१६ मा मूल्य बृद्धि दर अझ घटेर ७ दशमलव ३ प्रतिशत पूग्ने एडिबीको अनुमान छ । सरकार र नेपाल राष्ट्र बैंकले मूल्य बृद्धि दर ८ प्रतिशतमा कायम राख्ने घोषणा गरिसकेका छन् ।भारतको न्यून मूल्यवृद्धि र अन्तराष्ट्रिय बजारमा घट्दो अवस्थामा रहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिले चालू आवमा मौद्रिक नीतिमा तय गरिए भन्दा कम मूल्यवृद्धि हुने एडिबी नेपाल कार्यालयका अर्थशास्त्री चन्दन सापकोटाले बताए ।

प्रतिक्रियाहरु