कर सुधार आयोग गठन

२०७१ कार्तिक ३० गते, आईतवार


काठमाडौ।सरकारले कर प्रणाली सुधार गर्न उच्चस्तरीय आयोग गठन गरेको छ । चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसार अर्थ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले कर प्रणाली सुधार आयोग गठन गरेको हो । अर्थमन्त्री रामशरण महतका अनुसार उक्त निर्णय गतबिहीबार भएको हो । ‘निकै पहिला यस्तो आयोग गठन भएको थियो । कर प्रणालीका सबै विषय अध्ययन गरी सुधारको सिफारिस गर्न आयोग गठन गरेको हो,’ उनले भने, ‘कर फछ्र्योट आयोगको पनि कुरा भइरहेको छ । गठनको प्रक्रियामा छ ।’ मन्त्रालयका अनुसार रूपबहादुर खड्काको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन भएको हो । सदस्यहरूमा वरिष्ठ चार्टर एकाउन्टेन सुदर्शनराज पाण्डे र कर विशेषज्ञ माधव ढकाल छन् ।
खड्का ०५२ सालमा आएको मूल्य अभिवृद्धि कर ऐन आउनु पूर्वका कर प्रणाली सुधार आयोगकै संयोजक हुन् । उनकै संयोजकत्वमा गठन भएको आयोगले मूल्य अभिवृद्धि कर ऐन लागू गरेको थियो । त्यसपछि करको सुधार सम्बन्धी कुनै प्रभावकारी काम हुन सकिरहेको थिएन । अर्थ मन्त्रालयमा केही समय सरकारी अधिकारीका रूपमा काम गरेका खड्का कर परामर्शदाताका रूपमा काम गर्छन् । ‘गत वर्ष नै यो आयोग गठन गर्ने कुरा भएको थियो । खड्काकै समय अभावका कारण जनाउँदै गठन हुन सकेको थिएन,’ मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले गठन भएको आयोगलाई चैतसम्मको समय दिने तयारी छ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु