नयाँ नोट साट्ने हो ?

२०७१ आश्विन १ गते, बुधबार

काठमाडाै, १ असाेज । हरेकवर्षको दशैमा झैँ राष्ट्र बैंकले यसपालीपनि नयाँ नोट साट्ने बताएको छ । राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने काम सुरु गर्ने भएको छ ।राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली र बैंकको सातवटा जिल्ला कार्यालयबाट फुलपातीको दिनसम्म नोट साटिने राष्ट्र बैंकले जनाएको छ । यस वर्ष ५, १०, २०, ५० र १०० रुपैंया दरका नोटहरू साट्न लागिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले प्रतिव्यक्ति ५, १० र २० का दुई÷दुई प्याकेट र ५० र १०० दरका एक/एक प्याकेट गरी २२ हजार रुपैंयासम्म नयाँ नोट उपलब्ध गराइने बताउनुभयो ।
विभिन्न बैंक तथा वित्तीय संस्था एवम् सरकारी कार्यालयका लागि भने केही दिनपछिबाट मात्र ती संस्थाको मागअनुसार राष्ट्र बैंकले पटक/ पटक गरेर नयाँ तथा सफा नोट वितरण गर्ने तयारी गरेको छ । चाडपर्वको बेला नयाँ नोट बढी फोहर हुने भएकाले सकेसम्म अबिर तथा अरु रङको प्रयोग नगरिदिन राष्ट्र बैंकले सबैसँग अनुरोध गरेको छ ।
सबैभन्दा बढी प्रयोगमा आउने पाँच, १० र २० रुपैंयाका नोटको आयु एक वर्षमात्र हुने भएकाले सुरक्षित प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैगरी ५०, १००, ५०० र एक हजार रुपैंयाको नोट दुई वर्षसम्म प्रयोग गर्न सकिने भएकाले कम फोहर हुने गरेको छ ।

प्रतिक्रियाहरु