युद्धविराम गर्न हमासको शर्त

२०७१ श्रावण ८ गते, बिहीबार


काठमाडौं, ८साउन । इस्लामिक लडाकू समूह हमासले गाजा क्षेत्रमा इजरायलले नाकाबन्दी अन्त्य नगरेसम्म युद्धबिराम नहुने बताएको छ । हमास नेता खालेद मेशालले इजरायलले गाजा क्षेत्रमा ८ बर्षदेखि लगाउँदै आएको आर्थिक नाकाबन्दी अन्त्यका साथै इजिप्टसंगको रफाह सीमा नाका खुलाउनुपर्ने, प्यालेष्टिनी बन्दी रिहा गर्नुपर्ने लगायतका माग राखेका छन् ।
उनले नाकाबन्दी नहटाउने र आफ्ना नागरिकको बलिदानीको सम्मान नहुने अवस्थामा हुने कुनै पनि पहल स्वीकार नगरिने स्पष्ट पारेका छन् । तर मेशालले मानवीय आधारमा हुने युद्धबिरामको ढोका भने खुलै रहेको भन्दै घाइतेहरुलाई बाहिर निकाल्न र राहत वितरणमा सहयोग गर्न केही घण्टाका लागि संयम अपनाउनु आवश्यक रहेको बताए ।
हमास नेता मेशालले गाजा क्षेत्रमा औषधि, इन्धन र अरु अत्यावश्यक सामाग्री आपूर्तिमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल पनि गरेका छन् । आफ्ना एक सैनिकलाई हमासले अपहरण गरेपछि इजरायलले सन् २००६ देखि गाजा क्षेत्रमा गरेको नाकाबन्दी सन् २००७ देखि कडा पारेको थियो ।

प्रतिक्रियाहरु