घरजग्गा कारोबारबाट साढे ४ अर्ब राजस्व संकलन

२०८१ जेष्ठ २ गते, बुधबार


काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले चालु आर्थिक वर्षको वैशाख महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब २४ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको जनाएको छ । वैशाखमा ४९ हजार ७ सय ८३ घरजग्गा खरिदबिक्री हुँदा ४ अर्ब २४ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन भएको हो । यो रकम चैत महिनाको तुलनामा कम हो । सरकारले चैत महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
रजिस्ट्रेसन दस्तुरबापत वैशाखमा २ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकरबापत १ अर्ब ३९ करोड ८३ लाख रुपैयाँ संकलन भएको छ ।
वैशाखमा काठमाडौं, भक्तपुर र ललितपुरमा घरजग्गा कारोबारबाट १ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै ललितपुरको लगनखेलस्थित कार्यालयबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ । उक्त कार्यालयबाट वैशाखमा ४६ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।
विभागका अनुसार काठमाडौं डिल्लीबजारस्थित कार्यालयबाट ३२ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु