‘विज्ञानको विरुद्धमा धर्म प्रयोग गरेर कम्युनिस्ट परास्त पार्ने षड्यन्त्र हुँदैछ’

२०८० चैत्र २७ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले साम्राज्यवादले विज्ञानको विरुद्धमा धर्म प्रयोग गरेर नेपालमा कम्युनिस्ट परास्त पार्ने षड्यन्त्र गरिरहेको बताएका छन् । मङ्गलबार युवा संगठन नेपालको धनगढीमा जारी पाचौं राष्ट्रिय सम्मेलनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले सो बताएका हुन् ।
महासचिव विप्लव सीले कम्युनिस्टहरुले नयाँ खोज अनुसन्धानमा जोड दिने र विज्ञानबाट प्रमाणित कुरालाई प्रयोग गर्दै जनतामा लागू गर्ने र धर्मका नाममा साम्राज्यवादले जनतामा छरेको भ्रमबाट मुक्त गर्ने भएकाले त्यो प्रयोगबाट साम्राज्यवाद अतालिएर विज्ञानका विरुद्ध धर्म प्रयोग गर्दै नेपालमा कम्युनिस्ट परास्त गर्ने षड्यन्त्र गरेको बताए ।
महासचिव विप्लव सीले काठमाडौंमा अहिले चलिरहेको राजावादीहरुको आन्दोलनलाई इङ्गित गर्दै अहिले धर्म निरपेक्षता र प्राप्त उपलब्धिलाई फेरि पुरानै सामान्तको हातमा सुम्पिन चिहानमा पुगिसकेको शक्तिलाई उचालेर साम्राज्यवाद्ले बबन्डर मच्चाइरहेको बताउदै भने,”अहिले हारेका चिहानमा पुगेका शक्तिले फेरि गुमेको साम्राज्य फर्काउन, प्राप्त उपलब्धीलाई बदनाम गराएर त्यसलाई गलत सिद्ध गरेर फेरिपनि राजा फर्काउन सकिन्छ कि भन्दै बबन्डर गरिरहेका छन् ।”
महासचिव विप्लव सीले नेपालमा धर्म निरपेक्षता र राजा फर्काउन युरोपेली युनियन र भारतियहरु घुडा धसेर लागिपरेको बताए । उनले
धर्म र संस्कृति र विज्ञान फरक कुरा हुन् यो कुरालाई आम जनतासामु गएर मसिनोगरी बुझाउन जरुरी रहेको बताउदै भने- ”अहिले हाम्रो पार्टीप्रति जनताको आशा ह्वात्तै बढेको हाम्रा अभियान र विचार दृष्टिकोणबाट जनता आशावादी छन्, अब युवा नौजवानहरुले निरासाको विरुद्ध लड्दै विश्वको बदलिदो परिस्थितिलाई बुझ्दै नेपालमा नै केही गर्न सकिन्छ नेपालमा केही छैन भन्दै पलायनको बाटो रोजिरहेका युवाहरुलाई हामी आफ्नै बलबुतामा देशभित्रै प्रशस्त सम्भावना सिर्जित गर्दै आत्मविश्वास जगाउनु पर्छ।”
महासचिव विप्लव सीले सम्मेलनमा विभिन्न जिल्ला ब्युरोबाट प्रतिनिधित्व गरेर बन्दसत्रमा आएका युवाहरूलाई उत्साह थप्दै काठमाडौंमा निस्केको हारेका शक्तिको रोनाधोना जस्तो यो उपस्थिति नभएको बताउदै भने- ”यो हारेका राजावादी शक्तिले काठमाडौंमा गरेको रोनाधोना होइन अब यो देश पछाडि होइन नेपाली विशेषताको समाजवादसहित अघि बढ्दै छ।” राजावादीहरुले बढि गरे भने त्यसको प्रतिरोध युवा संगठनले गर्नुपर्छ ।”
महासचिव विप्लव सीले अब यो देशमा कुनैपनि हालतमा राजा फर्किन सम्भव नभएको र त्यसो भए क्रान्ति पूरा नहुँदाका असफलताको फाइदा साम्राज्यवादले लिन्छु भन्ने सपना देखेको छ भने त्यसको प्रतिरोध नेकपाले गर्ने बताए । उनले देशलाई पछाडि फर्काउन उद्द्त कुतत्वहरुलाई धुलोपिठो पार्न युवाहरुलाई निर्देशन समेत दिए ।
महासचिव विप्लव सीले गएको चिजलाइ फर्काउदा जनताले पाएका सम्पुर्ण अधिकार गुम्ने कुरा मसिनोगरि बुझाउन सके साम्राज्यवादको षड्यन्त्रबाट जनता प्रभावित नहुने बताए । उनले साम्राज्यवादले नेपालका युवाहरुलाइ निरासा बाड्दै यो देशमा केही हुन्न भन्ने भ्रम फैलाएर युवा पलायनतालाइ प्रसय दिराखेको छ , त्यसैले आम युवाहरूलाई अमेरिका भगौडा बस्ने ठाउँ हो , त्यहाँको २/४ करोड पैसाका लागि भौतारिन हुन्न भन्ने कुरा भरिदिनु पर्ने बताए ।
महासचिव विप्लव सीले पछिल्लो समय नेपालको सुरक्षा सम्यन्त्रमाथी साम्राज्यवादी हस्तक्षेप बढेको र नेपालको सेना र राजनितिक दललाइ भिडाएर कु गर्ने षड्यन्त्र रहेको खुलासा गर्दै भने- ”इमानदार अफिसरहरुलाई पाखा लगाएर जर्नेल कर्नेलहरुलाई सकेर आफ्नो वर्चस्व कायम गरेर कु गर्ने र सैन्य वलमा संसदवाद टिकाउने सडेन्त्र हुदैछ त्यसको ससक्त प्रतिरोध जरुरी छ, नेपाली सेनाभित्र रहेका राष्ट्रवादी जर्नेलहरुलाई साम्राज्यवादी षड्यन्त्रवारे बुझाएर क्रान्तिमा लामवद्द गर्ने अठोट थप्न जरुरी छ।”
महासचिव विप्लव सीले नेकपाले केही गर्दैन भन्नेहरुलाइ चुनौती दिदै भने – ” नेकपाले नगरेको भए एमसीसी गलत हो भनेर स्थापित कसले गर्यो ? एनसेलको ७२ अर्व राज्यलाइ कसले दिलायो ? साम्राज्यवादको हस्तक्षेप बिरुद्ध सतिसाल भएर को उभियो ? “
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीकी स्थायी सदस्य तथा जनवर्गीय संगठन फ्याक्सन इन्चार्ज शीलु सीले मानिस आफ्नो विचारमा स्पष्ट भएन भने कम्युनिस्ट नभएर कन्मिन्स हुने बताइन । उनले आम मानिसहरु आफ्नो विचारमा कन्फ्युज भयो भने, आफ्नो आत्माविश्वास गुमायो भने कम्युनिस्ट नभएर साम्राज्यवाद प्रतिगामीहरुबाट कन्मिन्स हुने बताउदै भनिन्- ” मानिस आफैमा एक उत्कृष्ट विवेकशिल प्राणी हो उसले आफ्नो विचार र आत्माविश्वासमा कहिल्यै तलमाथि हुन दिनु हुँदैन त्यो मध्यपनी युवा नौजवानहरु आफ्नो विवेक, क्षामता र आफ्नो वर्गप्रति बफादार हुनुपर्छ यदी पश्चगामीको कुरामा विश्वास गर्याे भने, हाम्रो विचार सिद्धान्तमाथि गलत विचारले ठाँउ पायो भने हामी कम्युनिस्ट नभएर षड्यन्त्रकारीहरुसङ्ग कन्मिन्स हुन पुग्छौं । त्यसबाट हामी हाम्रो वर्ग बिर्सन्छौ। कम्युनिस्टले आफ्नो धरातल भुलेर साम्राज्यवादी, अवसरवादीहरुको बहकाउमा लाग्यौं भने हामी कम्युनिस्ट रहदैनौगव र अरुबाट कन्मिन्स हुन्छौं ।”
नेता शीलु सीले युवाहरुमा युवा विशेषता, जोस, जागर र आत्माविश्वास हुनुपर्ने कुरामा जोड दिदै आम बेतिथिको विरुद्ध हस्तक्षेप गर्न सक्ने तागत युवाहरूमा हुनुपर्ने बताउदै भनिन् – ” व्यक्तिगत स्वार्थ त्यागेर समाजवादी अभियानमा लामवबद्ध भएर आफ्नो कम्युनिस्ट निस्ठा बचाउने कुरा चानचुने छैन । हामी समाजवाद चाहन्छौँ त्यसैले राजनीतिक, वैचारिक बौद्धिक सबै हिसाबले युवाहरुलाई सुसज्जित बनाएर अघि बढ्न सके दलाल पुजिवादी संसदिय व्यवस्थाको अन्त्य गर्दै नेपाली विशेषताको समाजवाद नेपालमा लागू गर्न लामो समय पर्खिनु पर्दैन । त्यसका निम्ति देशमा भैरहेको युवा पलायन रोक्न वैज्ञानिक योजना लागू गर्दै नेपालमै प्रशस्त सम्भावना छ भन्ने आशा जगाउन जरुरी छ ।”
नेता शीलु सीले अहिले नेपाली क्रान्तिकारी युवाहरुको सामु सुनौलो अवसर भएकाले जहाँ अवसर हुन्छ त्यहाँ चुनौती झेल्नुपर्ने बताउदै भनिन -“हिजो हाम्रा कुरा सुन्थेनन् आज खोजी खोजी सुन्छन् हाम्रा सहि विचारलाई हामीले आम मान्छेमा स्थापित गरेका छौँ । सम्पूर्ण देशभक्त हाम्रा वरिपरी गोलबन्ध भएका छन् ।”
नेता शीलु सीले देशमा विद्यमान दलाल व्यवस्थालाई फाल्दै नेपाली विशेषताको समाजवाद स्थापना गर्न क्रान्तिका सम्पूर्ण अस्त्र प्रयोग गरि सम्पूर्ण बाटोहरु खुल्ला गर्दै यो देशको नेतृत्व आफ्नो पार्टीले लिने तयारी गरेको बताइन । उनले हामी युवा नौजवानहरुले साना कुरामा अल्झिएर आफै माथिको विश्वास टुटाए प्राप्त उपलब्धि पनि गुम्ने खतरा रहेको बताइन् ।
चैत्र २४ गते उद्घाटन भएको पाचौं राष्ट्रिय सम्मेलनको आज बन्दसत्रको तेश्रो दिनमा प्रवेश गरेको छ । संगठनको राजनीतिक प्रतिवेदन प्रस्तुतसँगै सुरु भएको बन्दसत्र विभिन्न चरण पार गरि अब प्यानल प्रस्तावको नजिक पुगेको संगठनले जनाएको छ ।-साहाश भट्ट

प्रतिक्रियाहरु