‘देशलाई सैन्य अखडा बनाउने अमेरिकी सपना पूरा हुन दिदैनौँ’

२०८० चैत्र २५ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले देशलाई सैन्य अखडा बनाउने अमेरिकी सपना पूरा हुन नदिने बताएका छन् । शनिबार धनगढीको खुल्ला मञ्चमा आयोजित युवा संगठन नेपालको पाचौँ राष्ट्रिय सम्मेलनको उदघाटन सत्रमा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । महासचिव विप्लवले एमसीसीमार्फत नेपाल पसेको अमेरिकाले एमसिएमार्फत नेपालमा सैन्य अखडा बनाउने सपना नेपाल कम्युनिष्ट पार्टी रहुन्जेल पूरा हुन नदिने बताए । उनले इष्ट्रइण्डीया कम्पनीमार्फत व्यापार गर्ने उदेश्य बोकेर आएको अंग्रेजले भारतमा लामो समय शासन गरेको बताउदै देशको राष्ट्रियता र स्वाधीनतामा कसैले आँच पु¥याउने दुस्साहस गरे ३ करोड जनताले हतियार उठाउन बाध्य हुने र त्यसकोे नेतृत्व नेकपाले गर्ने बताए ।

`हामीलाई हतियार उठाउने आरोप लागेको छ । तर हामी गर्वका साथ भन्छौँ, राष्ट्रियताका सवालमा हामी लुकेर नभई खुल्ला रुपमा जनताका साथ हतियार उठाएर देशको रक्षा गर्नेछौँ । देशको स्वाधीनताको लागि नेपाली युवाहरुले ज्यान दिन पनि तयार हुनु पर्छ´ उनले भने ।

जनताले ल्याएको लोकतान्त्रिक गणतन्त्र जनताको गणतन्त्र हुन नसकेको बताउदै महासचिव विप्लवले जनताले दु:ख पाएको बताए । उनले व्यवस्था नफेरि व्यवस्था नफेरिने बताउदै खोट व्यवस्थामै भएकाले व्यवस्था फेर्नुपर्ने बताए । उनले सबैले समाजवादको कुरा गरिरहेको अवस्थामा व्यवस्था ठीक छ अवस्था बदल्नु पर्छ भन्ने रवि लामिछानेले पनि समाजवादको कुरा उठाउन थालेको बताए ।

महासचिव विप्लवले नेपाल कम्युनिष्ट पार्टीले नेपाली विशेषताको समाजवादको परिकल्पना गरेको बताउदै समाजवाद प्राप्तिका लागी राष्ट्रवादी देशभक्तहरु एकजुट हुनु पर्ने बताए । उनले नेपाली कांग्रेसले पनि विपीको समाजवादका विषयमा पार्टीभित्र छलफल चलाउनु पर्ने बताए । साम्राज्यवादी साङ्लोले समाजवादलाई बाँधेर राखेको बताउँदै महासचिव विप्लवले नेपाली विशेषताको समाजवादका लागि एक पटक मौका दिनु पर्ने बताए ।
`हामी सहिद परिवारसंगै रोएका छौँ, सुकुम्बासीको अगेनामा बसेर उनीहरुका दु:ख नजिकबाट देखेका छौँ, सहिदसँगै लड्दालड्दै ज्यान गुमाएको देखेका छौँ त्यसैले हामी परिवर्तनको पक्षमा छौँ, देशको पक्षमा छौँ, राष्ट्रियताको पक्षमा छौँ´ उनले भने ।
महासचिव विप्लवले नेपाल प्रश्नैप्रश्नको घेरामा उभिएको बताउदै कोही खुसी नभएको बताए । कैलाली जिल्ला देशको आमुल परिवर्तनका लागि ज्यान गुमाउने सहिदहरु जन्माउने जिल्ला भएको बताउदै उनले जनयुद्धमा भागेका भगौडाहरुले तर्साउदैमा कोही नडराउने बताए । जनताका बैरीहरुले टाउको उठाउने कोशिस गरिरहेको बताउदै उनले समाजवादी मोर्चाको गठनले उनीहरुको निदहराम भएको बताए । समाजवादी कम्युनिष्टहरुलाई एक हुन नदिन एक अर्काको कुरा काट्दै हिडेको बताए ।
हामीलाई प्रचण्डसँग लागेर नबिग्रन भन्दैछन्, प्रचण्डलाई हामीसँग नलाग्न भन्दैछन्, हामीलाई टुक्तयाउने र कमजोर बनाउने षडयन्त्र हुँदैछ, हामी सबै कम्युनिष्टहरु मात्र नभई देशभक्तहरु एकजुट हुन जरुरी छ उनले भने । महासचिव विप्लवले निरासा सबै भन्दा ठुलो सत्रु भएको बताउदै युवाहरुले निराशा विरुद्ध खुकुरीको धार बनेर स्पात बन्नु पर्ने बताए । महासचिव विप्लवले २ सय ५० वर्ष शासन चलाई सकेको राजतन्त्र फर्केर नआउने बताउदै व्यवस्था परिवर्तनका लागी संसदीय व्यवस्था कि समाजवाद भन्ने विषयमा जनमत संग्रह गर्न सकिने बताए । उनले एक पटक नेकपालाई मौका दिनु पर्ने बताउदै किनेर पाउने भोटको औचित्य नभएको बताए ।


त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य शिलु सीले समाजवाद प्राप्तिका लागी युवाहरुको महत्वपूर्ण भूमिका भएको बताउदै विदेशिदै गएका युवाहरुलाई नेपालमा रोक्न पनि समाजवाद आवश्यक भएको बताइन् । उनले अहिलेसम्म नेताहरुको मात्र विकास भएको बताउदै जनताको विकास अझै हुन नसकेकाले जनताको जीवनमा परिवर्तन ल्याउन समाजवाद अपरिहार्य भएको बताइन् । विदेशीको पञ्जाबाट देशलाई मुक्त बनाउन युवाहरु ज्यान दिन पनि तयार हुनु पर्ने बताउदै उनले युवाहरुलाई नेपालमा रोक्न सके सुन फलाउन सकिने बताइन् ।
युवा संगठन नेपालको पाचौँ राष्ट्रिय सम्मेलन आयोजक समिति संयाेजक पाटन जंगली सीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा सामना परिवारका कलाकारहरुले जनवादी गीत संगीतमार्फत उर्जा थप्ने काम गरेका थिए भने विभिन्न झाँकीहरुसमेत प्रस्तुत गरिएको थियो । – धिरज प्रपला

प्रतिक्रियाहरु