इजरायली सेनाद्वारा गाजामा राहत सामग्री बोकेको टोलीमाथि आक्रमण

२०८० चैत्र २१ गते, बुधबार


काठमाडौँ । इजरायली सेनाले गाजाका युद्ध प्रभावितहरुलाई खाद्यान्न र पानी पुर्याएर सहयोग गर्दै आइरहेको संस्था वर्लड सेन्ट्रल किचनका कर्मचारीहरुमाथि आक्रमण गर्दा सात जनाको मृत्यु भएको छ । इजरायलको यो आक्रमणपछि वर्लड सेन्ट्रल किचनले सहायता बन्द गरेको छ ।
इजरायलका प्रधानमन्त्री आफैंले यो घटनाको पुष्टि गर्दै सेनाबाट गल्ती भएको स्वीकार गरेका छन् । खानेकुरा लगायत अत्यावश्यक राहत सामग्री लगेर गइरहेकाहरुमाथि आक्रमण भएको र आफ्ना सात जना कर्मचारीहरु मारिएको वर्लड सेन्ट्रल किचनले जनाएको छ ।
बीबीसीका अनुसार उनीहरुमाथि इजरायली सेनाले हवाई आक्रमण गरेको थियो । वर्लड सेन्ट्रल किचनका कर्मचारीहरु तीनवटा गाडीमा थिए । ती तीनवटै गाडी हमलामा परेका थिए । बीबीसीले सार्वजनिक गरेको घटनास्थलको फोटोमा एउटा गाडीको छतमा ठूलो भ्वाङ परेको देखिन्छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली सेनाको गल्तीले गाजामा निर्दोष व्यक्ति मारिएको जनाएका छन् । उनले युद्धको क्रममा कहिलेकाहिँ यस्तो हुने भन्दै अब फेरि यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रियाहरु