इजरायली आक्रमणमा इरानी कमाण्डरको मृत्यु

२०८० चैत्र २० गते, मंगलवार


काठमाडौँ । इजरायलले सिरियाको राजधानी दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासको भवनमा गरेको हवाई हमलामा इरानका वरिष्ठ कमाण्डर मारिएका छन् । सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार संदिग्ध इजरायली लडाकु विमानहरूले सोमबार सिरियामा रहेको इरानको दूतावासमा बमबारी गरेका थिए । इरानले यो हमलामा तीन वरिष्ठ कमाण्डरहरूसहित आफ्ना सात सैन्य सल्लाहकार मारिएको बताएको छ । दमास्कसको मेजेह जिल्लामा रहेको इरानी दुतावासको मुख्य भवनसँगै जोडिएको कन्सुलेट भवन इजरायली बमबारीबाट ध्वस्त भएको छ । इरानको रेभोलुस्नरी गार्ड्सले एक विज्ञप्तिमार्फत वरिष्ठ कमाण्डर मोहम्मद रेजा जाहेदी मारिएको पुष्टी गरेको छ । इजरायलले लामो समयदेखि सिरियामा इरानको सैन्य प्रतिष्ठान र त्यसका सहयोगीमाथि हमला गर्दै आएपनि दूतावास परिसरमा यति ठूलो आक्रमण गरेको यो पहिलो घटना हो ।
यसैगरी, इजरायलले गरेको आक्रमणबाट मध्य गाजामा तीन जना विदेशी नागरिकको मृत्यु भएको छ । हमासले मध्य गाजामा इजरायली हवाई आक्रमण गर्दा कम्तीमा तीन विदेशी मारिएको जनाएको हो । मध्य गाजापट्टीको देइर अल–बालाह शहरमा सोमवार इजरायली हवाई आक्रमणमा कम्तिमा तीन विदेशीको मृत्यु भएको गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु