विद्युत् आयात सम्झौता असार दोस्रो सातासम्मका लागि नवीकरण

२०८० चैत्र १५ गते, बिहीबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका अनुसार नेपाल र भारतबीच विद्युत् आयात सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि नवीकरण भएको छ । सामान्यतया एक वर्षका लागि हुनु पर्ने सम्झौता किन तीन महिनाका लागि मात्र भयो भन्ने बारेमा केही बताइएको छैन । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न पाइने जानकारी दिए । उनले त्यसमध्ये ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट आयात गरिने बताए ।
अहिले नेपालले भारतबाट ६ सय ५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता तीन महिनाका लागिमात्र नवीकरण गरेको भारतले विद्युत् परिमाण पनि घटाएको छ ।
असारपछि नेपालसँग पर्याप्त विद्युत् हुने र निर्यात समेत सुरु हुने भएकाले यो सिजनलाई आपूर्तिमा समस्या नहुने ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बताए ।
भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५५४ मेगावाट बाहेक ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट समेत आयात गरिने भएको नेपाललाई विद्युतको समस्या नहुने उनको भनाइ छ ।

प्रतिक्रियाहरु