सिम्रन आत्महत्या प्रकरणका दोषीलाई कारवाही नगरे आन्दोलन

२०८० चैत्र ११ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) ले सिम्रन थापाको आत्महत्या प्रकरणका दोषीमाथि कडा कारवाहीको माग गरेको छ । धादिङको धुनिवेशी नगरपालिका पाँचस्थित भुवनेश्वरी माध्यामिक विद्यालयका १५ वर्षका छात्रा थापाले पैसा चोरेको भनेर गिज्याउन थालेपछि सिम्रन घर गएर आत्महत्या गरेको घटनाप्रति संगठन जिल्ला समितिले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउँदै प्रेस विज्ञप्तीमार्फत दोषीमाथि कडा कारवाहीको माग गरेको हो ।
चैत ४ गते केहि शिक्षक शिक्षिकाले कक्षा आठमा अध्ययनरत छात्रा सिम्रन थापालाई कुनै विद्यार्थीको पैसा हराएको निहुँमा विद्यालयकै शौचालयमा लगेर सम्पूर्ण कपडा खोली शारिरीक र चर्को मानसिक यातना तथा केहि समय शौचालयमा नै थुनेर छाडेका थिए । मृतकको आमा सरस्वती थापामगर तथा मृतक सिम्रन थापाका साथी र उनको सुसाइड नोटका अनुसार विद्यालयका केही शिक्षक र शिक्षिकाले सिम्रनलाई विभिन्न निउमा पहिलेदेखि नै मानसिक यातना दिदै आएको संगठनका केन्द्रीय सदस्यसमेत रहेका अखिल (समाजवादी) का जिल्ला अध्यक्ष उदेश सीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
संगठन जिल्ला समिति अध्यक्ष उदेशले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो गम्भिर प्रकृतिको घटना हुँदा परिवारले प्रहरी प्रशासन समक्ष किटानी जाहेरी दिँदा प्रहरीले आजसम्म जाहेरी लिन आनाकानी गर्नु र पोस्टमार्टम रिपोर्ट नआउँदै धुनिवेशी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष, व्यस्थापन समिति अध्यक्षले दाहसंस्कार गर्न धेरै दबाब दिनु र उक्त विद्यालयका प्रधानाध्यापकले पनि गैर जिम्मेवारी तरिकाले अभिव्यक्ति दिनुले गम्भिर आशंका निम्त्याएको छ । परिवारको न्यायको लागि सबैले सहयोग गर्नुपर्ने अवस्थामा जिम्मेवार निकायबाट यी र यस्ता व्यवहार देखिनुले हामीलाई आक्रोशित बनाएको छ । हामी जिम्मेवार निकायको उक्त हर्कतको निन्दा र भर्त्सना गर्दछौं ।’
संगठनले यस्ता घृणित कार्य नगर्न र न्यूनतम मानविय सम्वेदनालाई ख्याल गरी व्यवहारिक बन्न शिक्षा क्षेत्रसंग सम्वन्धित सबैलाई आग्रह गरेको छ । तत्काल उक्त घटनाको किटानी जाहेरी दर्ता गरी आत्महत्या गर्न बाध्य बनाउने शिक्षक र शिक्षिकालाई नियन्त्रणमा लिई सत्य तथ्य पत्ता लगाउन अनुसन्धान प्रकृया अगाडी बढाई कानुन अनुसार दोषीलाई हदैसम्मको कारवाही गरी पिडित परिवारलाई न्याय दिलाउन पनि संगठनले विज्ञप्तीमार्फत ध्यानाकर्षण गराएको छ ।
प्रशासनले पीडित परिवारलाई न्याय नदिए पिडित परिवारको न्यायका लागि अखिल (समाजवादी)ले जस्तोसुकै संघर्ष गर्न पनि बाध्य हुने चेतावनी दिदै त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय नै हुनुपर्ने जनाएको छ । संगठनले मृतक छात्रा थापाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गरेको छ ।-राेजी सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

प्राथमिक शिक्षकका लागि आवेदन खुला

२०८१ बैशाख १५ गते, शनिबार

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइदै

२०८१ बैशाख १४ गते, शुक्रबार

कक्षा १२ को परीक्षा सुरु

२०८१ बैशाख १४ गते, शुक्रबार