नेपाली जनताको सदियौँदेखिको चाहना समाजवाद

२०८० चैत्र ६ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य शितल सीले नेपाली जनताको सदियौँदेखिको चाहना समाजवाद भएको र त्यो कम्युनिस्टहरुको एकताबाट सम्भव भएको ठोकुवा गरेका छन । सोमबार समाजवादी मोर्चा , नेपाल दाङको शान्तिनगर गाउँपालिका स्तरीय घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
नेता शितल सीले भने – ‘ कम्युनिस्टहरुको टुटफुट र बिभाजनको लामो यात्रा पार गरिसकेका छौँ । नेपाली जनताले कम्युनिस्टहरु फुटेको भन्दा जुटेको हेर्न चाहेका छन् । नेपाली जनताको सदियौँदेखीको चाहना समाजवाद हो त्यो सच्चा कम्युनिस्टहरुको एकताबाट मात्रै सम्भव छ । संसदीय व्यवस्थाको विकल्पमा समाजवादी व्यवस्था स्थापनाका लागि समाजवादी मोर्चा बनेको हो ।’
उनले दलाल पुजीवादी संसदीय व्यवस्थाको कारणले नेपाली जनताको जीवन दयनीय बन्दै गईरहेको उल्लेख गर्दै भने- ‘ नेपालमा अहिले देखिएको मुख्य समस्या भनेको केवल व्यक्ति विशेषको होइन, यो अहिलेको दलाल संसदीय व्यवस्थाको दोष हो । अहिले दलाल पुजीवादले ठूलो आकार ग्रहण गरिसकेको छ जसले जनताको जीवन अत्यन्त कष्टकर बन्दै गइरहेको छ ।’
नेता शितल सीले जनयुद्धको रक्षा हामीले गरिरहेको र प्रचण्डका विरुद्ध मुद्दा दर्ता हुँदा साम्राज्यवादलाई थर्काउने गरी बोलेका हौं उल्लेख गर्दै भने – ‘ जनयुद्ध विरुद्ध प्रतिगामी र पश्चगामी तत्वहरुले तथानाम गर्दा कुन चाहिँ माओवादी बोलेका थिए ? हामिलाई थाहा छ जनयुद्धलाई अपराधीकरण गर्न दुस्साहस गर्ने प्रवृती विरुद्ध हाम्रो पार्टी र नेतृत्व बोलेको हो । अहिलेपनी हामिले भनिरहेका छौँ जनयुद्ध नेपालमा चलेका सबै आन्दोलनको सर्वश्रेष्ठ आन्दोलन हो । अहिले नेपालमा जुन उपलब्धि छ त्यो जनयुद्धको कारणले गर्दा सम्भव भएको छ ।’
नेता शितल सीले समाजवादी मोर्चाका मुख्य तीन कार्यभार भएको उल्लेख गर्दै भने – ‘ मोर्चाले नेपालको राजनीतिक, आर्थिक , सांस्कृतिक एवम सामाजिक क्षेत्रमा वैदेशिक क्षेत्रबाट भइरहेको हस्तक्षेपका विरुद्धमा लड्नुपर्छ । नेपालको विभाजित कम्युनिस्ट जनमतलाई एकताबद्ध गर्दै बृहत् कम्युनिस्ट , बामपंथी एवम राष्ट्रवादी शक्तीहरुबिच एकता गर्नुपर्छ साथै माओवादीहरु बिचको एकता गर्दै नेपाली जनतामा नयाँ आशाको रक्तसञ्चार गर्नुपर्छ । संसदीय व्यवस्थाले राजनीति, आर्थिक, सामाजिक, सांस्कृतिक एवम तमाम समस्याहरु हल गर्न नसक्ने भएकाले नेपाली बिशेषताको समाजवादको एजेन्डा सहित गाउँगाउँ जनतालाई जागरुक बनाउनुपर्छ । दलाल पुजीवादबाट नेपाली जनतालाई मुक्त गर्न संघर्षमा होमिनुपर्छ ।’
नेता शितल सीले नेपालमा देखिएका अहिलेका समस्याहरुको एकमात्र समाधान नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गरे ।
यसैगरी , उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) दाङका सचिव बिश्वराज आचार्यले जनयुद्धबाट प्राप्त उपलब्धि रक्षा गर्ने कुरामा सबै माओवादी धाराबाट गल्ती भएको बताएउदै भने – ‘ नेपालीहरु लडाइँमा अब्बल छन् तर लडाइँवाट प्राप्त उपलब्धिहरुको व्यवस्थापनमा ऐतिहासिक कमजोरी हुँदै आएको छ । हामिपनि जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्न चुकेकै हौं । अहिले कसैलाई दोषारोपण गर्न हुँदैन तर हामी लडाइँवाट प्राप्त उपलब्धिको व्यवस्थापन गर्न चुकेकै हौं ।’
उनले यो व्यवस्था परिवर्तन गर्न सबै कम्युनिस्टहरु एक हुन जरुरी रहेको उल्लेख गर्दै भने ‘ हामीले अब प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि समाजवादी मोर्चालाई व्यवस्थित गर्दै जानुपर्छ । कम्युनिस्टहरु एक भएर देश बनाउने अभियानमा लागेका छन् भन्ने सन्देश दिन मोर्चालाई स्थानीय स्तरसम्म लैजानुपर्छ । दलाल नोकरशाही पुजीवादका विरुद्ध संघर्ष गर्न समाजवादी मोर्चा बनेको हो भन्ने कुरा जनतालाई बुझाउनुपर्ने हुन्छ ।’

यस्तै सोही कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै माओवादी केन्द्र केन्द्रीय लेखा आयोगका सदस्य राम बहादुर दहित (अन्जान)ले नेपालका कम्युनिस्टहरुको जनमत बिभाजित भएका कारण देशीविदेशी प्रतिक्रियावादीहरुले कम्युनिस्टमाथी शासन गरिरहेको बताए । उनले सबै प्रकारका उत्पीडितहरु उन्मुक्त गर्ने कम्युनिस्टहरु हुन् तर बिभाजित हुँदा नेपाली जनतामा निराशा पैदा भएको उल्लेख गर्दै भने- ‘यो निराशा हल गर्न सबै कम्युनिस्टहरु एकताबद्ध हुनुपर्छ । नेपाली जनताले कम्युनिस्टहरु फुटेको भन्दा जुटेको हेर्न चाहेका छन् । कम्युनिस्टहरु फुट्न मात्र होइन जुट्न जानेका छन् भन्ने चेत शिर्ष नेतृत्वमा आएपछी मोर्चा बनेको हो। अब हामिले गाउँगाउँमा कम्युनिस्टहरु एकताबद्ध हुँदैछन् भन्ने सन्देश दिनुपर्छ ।’
उनले नेपालबाट सामन्तवादको जरो हटाएको तर त्यसका अवसशेस बाँकी रहेको उल्लेख गर्दै भने- ‘अहिले दलाल नोकरशाही पुजिवाद हाबी छ । गणतन्त्र , संघीयता , समानुपातिक , समावेशी लगाएतका उपलब्धिहरुको रक्षा गर्नुपर्छ। संविधानमा निर्वाचन प्रणाली , शासकीय स्वरुप लगाएत कतिपय गलत विषय छन् ती परिवर्तन गर्न आवाज उठाउन मोर्चाले भुमिका खेल्नेछ । तल्लो जात र उपल्लो जात , कमैया र हलियाहरु आज नेता भएका छन् यो माओवादीको उपलब्धि हो भन्ने कुरा गर्वका साथ भन्न सक्नुपर्दछ ।’
यसैगरी , सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सल्लाहकार समिती सदस्य सुन्दर सीले आफुहरु समाजमा उथलपुथल ल्याएका मान्छेहरुको भएको बताए । उनले भने- ‘हामी समाजलाई उथलपुथल गराएका मान्छे हौं । दस वर्षको जनयुद्धमा समाजलाई नयाँ समाज बनाउन उथलपुथल गरेका हौं । हजारौंको बलिदानबाट आजका उपलब्धि प्राप्त भएका हुन् । साम्राज्यवादी दलालहरुले कम्युनिस्टहरुलाई बिभाजित गरेर आफ्नो शासन चलाउन चाहेका छन् । समाजवादी मोर्चा नेपालमा अहिलेको देखिएको निराशालाई हल गर्नको लागि बनेको हो । यो देशमा केही पनि हुँदैन भन्ने साम्राज्यवादी डिजाईनमा युवाहरुमा निराशा फैलिएको छ । अहिलेको निराशालाई उत्पादन गरेर हल गर्न सकिन्छ । बाझा जग्गा जमिनलाई जोतभोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका खातिर युवाहरुलाई प्रेरित गर्नुपर्छ ।’
यसैगरी , सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार समिती सदस्य शेसुराम भण्डारीले अहिलेको विश्व समाजवादमा समानता मात्रै होइन स्वतन्त्रता पनि चाहिन्छ भन्ने तर्कबाट प्रभावित भएको बताए ।

यसैगरी , सोही कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नेकपा ( एकीकृत समाजवादी )कि केन्द्रीय सदस्य अनारकली मियाँले प्रचुर सम्भावनाको बाबजुद यो देश सुनको कटौरोमा भिख माग्ने बनाइएकोप्रती आक्रोश व्यक्त गर्दै भनिन् -‘ हामीसंग के कमि छ ? नेपालमा जति स्रोत साधन बिश्वका कुनै मुलुकसंग छैन् तर आज हामी सुनको कटौरोमा भिख मागिरहेका छौँ । यो सबै नेताको असमक्षता हो त्यो मात्रै कारण होइन यो व्यवस्थाको पनि दोष हो । अब हामी समाजवादको कार्यक्रम सहित जनतामा पुग्नुपर्ने हुन्छ । जनताले समाजवाद चाहेका छन् त्यो चाहना हामी प्रतिनिधिले पूरा गर्नुपर्छ ।’
यस्तै समाजवादी मोर्चा शान्तिनगर गाउँपालिका नवनिर्वाचित कमिटीलाई बधाई मन्तव्य व्यक्त गर्दै नेकपाका केन्द्रीय सदस्य एवम पार्टीका पश्चिम दाङ जिल्ला इन्चार्ज प्रदिप सीले अहिलेको सिंगो नेपाली समाजमा समाजवादको बहस चलेको भन्दै अब समाजवादी व्यवस्था निर्विकल्प बनेको बताए ।
यस्तै समाजवादी मोर्चा नेपाल शान्तिनगर गाउँकमिटीको पहिलो ४ महिनाको नेतृत्व नेकपा (माओवादी केन्द्र) ले गर्ने घोषणा गरिएको थियो । जसको संयोजकमा नेव बहादुर रोका (स्टार) रहेका छन भने सदस्यहरुमा राजेश नेपाली , शोभा बुढा , खम्बु जैसी , मनोज सी , बिजय सी , सुधार सी , लक्ष्मण प्यारी चौधरी , प्रयत्न रहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य शितल सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा (एस)कि केन्द्रीय सदस्य एवम पुर्व सभाषद अनारकली मियाँ , माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शेसुराम भण्डारी , माओवादी केन्द्रका केन्द्रीय लेखा आयोग सदस्य राम बहादुर दहित , नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सी , माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य भिम बहादुर वली , नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सी , नेकपा (एस) कि केन्द्रीय परिषद सदस्य प्रेम वक्स मियाँ , माओवादी केन्द्र दाङका सचीव बिश्वराज आचार्य , नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरु निर्मल सी , विकाश सी , जनक सी , सहिद परिवार शुरेश सी लगायतको आतिथ्यता रहेको थियो ।
नेकपाका शान्तिनगर गाउँकमिटीका इन्चार्ज सुधार सीले सहजीकरण गरेको कार्यक्रमको अध्यक्षता माओवादी केन्द्रका नेव बहादुर रोका (स्टार) ले गरेका थिए ।

प्रतिक्रियाहरु