गुम्बा तथा विहारमा व्यावसायिक गतिविधि नगर्न निर्देशन

२०८० चैत्र ५ गते, सोमबार


काठमाडौँ । लुम्बिनी विकास कोषले सबै गुम्बा र विहारलाई पत्र पठाउदै गुम्बा तथा विहारमा व्यावसायिक गतिविधि नगर्न निर्देशन दिएको छ । कोषले लुम्बिनीका विहारलाई विहार क्षेत्र विनियमावली, २०५८ अनुसार त्यहाँ बस्ने विदेशी नागरिकको विवरण बुझाउन पनि निर्देशन दिएको हो । कोषले आफ्नो क्षेत्राधिकारका विहार क्षेत्र भगवान् बुद्धको शिक्षा र उपदेशको पूर्णरुपमा पालना गर्नुपर्ने र विहार क्षेत्रलाई बौद्ध धार्मिक, आध्यात्मिक एवं शान्ति क्षेत्रको रुपमा स्थापित गर्नुपर्ने भन्दै सबै गुम्बा र विहारलाई पत्र पठाएको छ ।
पत्रमा विहारमा आउने विदेशी तथा उनीहरूको फर्कने मिति उल्लेख गरी सम्पूर्ण विवरण नियमित रूपमा कोषमा प्रस्तुत गर्न आग्रह गरिएको छ । साथै कोषले विहार क्षेत्रमा व्यावसायिक प्रयोजनले कुनै पनि कार्य नगर्न-नगराउन अनुरोध गरिएको छ । व्यावसायिक गतिविधि गरिएको पाइएमा कारबाही हुने चेतावनी पनि दिएको छ ।
लुम्बिनी गुरुयोजना क्षेत्रलाई बौद्ध धार्मिक, आध्यामिक एवं शान्ति केन्द्रको रुपमा विकास गर्ने अभिप्रायले लुम्बिनी गुरुयोजना क्षेत्रभित्रको विहार क्षेत्रलाई सानो बौद्ध संसारको रुपमा परिकल्पना गरी यहाँ विभिन्न राष्ट्र र बौद्ध सम्प्रदायलाई विहार निर्माणका लागि जग्गा उपलब्ध गराइएबमोजिम हाल बौद्ध विहार, गुम्बा, ध्यान केन्द्र निर्माण भई सञ्चालनमा रहेको कोषले जनाएको छ ।

गुम्बा र विहारमा पाँच जना भिक्षु-भिक्षुणी र उनीहरुका सहयोगीको रुपमा थप पाँच जना गरी जम्मा १० जना विदेशी नागरिक बस्न सक्ने व्यवस्था रहेको स्मरण गराइएको छ ।

लुम्बिनीका विहार र गुम्बामा बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको विकास गर्नुपर्नेमा त्यस विपरीत होटललेझै कोठा तयार गरी पर्यटक राखिएकामा आपत्ति जनाउँदै लुम्बिनी होटल सङ्घले गत फागुन २९ गते कोषलाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु