सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब ऋण नाघ्यो !

२०८० चैत्र ५ गते, सोमबार


काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको मासिक तथ्याङ्क अनुसार गत साउनदेखि फागुन मसान्तसम्म नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड ४३ लाख रुपैयाँ पुगेको छ । गएको असार मसान्तसम्म यस्तो ऋण २२ खर्ब ९५ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको आठ महिनासम्म सरकारले १ खर्ब ६३ अर्ब ३१ करोड आन्तरिक ऋण र ५५ अर्ब ५५ करोड ६५ लाख बाह्य ऋण गरी कुल २ खर्ब १८ अर्ब ८६ करोड ६५ लाख रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको छ ।
यस अवधिमा सरकारले १ खर्ब २ अर्ब ९७ करोड १६ लाख रुपैयाँ आन्तरिक र २३ अर्ब ६ करोड ७५ लाख रुपैयाँ बाह्य गरी कुल १ खर्ब २६ अर्ब ३ करोड ९१ लाख रुपैयाँ बराबर सावाँ भुक्तानी गरेको छ । कुल ऋणमध्ये आन्तरिक तर्फ ११ खर्ब ८५ अर्ब ५२ करोड ६६ लाख रुपैयाँ ऋण छ भने बाह्य ऋण १२ खर्ब २ अर्ब ७३ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा नेपालले बाह्य ऋणको सावाँ ब्याज ३ अर्ब ७३ करोड रुपैयाँ भुक्तानी गरेको छ भने आन्तरिक ऋणको सावाँ व्याज गरी कुल १६ अर्ब ५३ करोड रुपैयाँ भुक्तानी भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस अवधिमा १ खर्ब ४६ अर्ब ६४ करोड ४० लाख रुपैयाँ आन्तरिक ऋणको सावाँ–ब्याज तिरिएको छ । १ खर्ब २ अर्ब ९७ करोड १६ लाख रुपैयाँ साँवा र ४३ अर्ब ६७ करोड ५८ हजार बराबर ब्याज भुक्तानी भएको छ । बाह्यतर्फ २८ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ भुक्तानी भएको छ ।

प्रतिक्रियाहरु