जनयुद्धलाई नकार्ने प्रवृत्तिविरुद्ध सङ्घर्ष जरुरी

२०८० फाल्गुन २१ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिप्लव सीले जनयुद्धलाई नकार्ने प्रवृत्तिविरुद्ध सङ्घर्ष जरुरी रहेको बताएका छन् । सहिद प्रतिष्ठान नेपालद्वारा सोमबार आयोजित ‘शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
महासचिव बिप्लव सीले जनयुद्ध जनआन्दोलनको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथ्य पेश गर्दै जनयुद्धलाई नकार्ने प्रवृत्तिविरुद्ध सङ्घर्ष जरुरी रहेको बताए ।

महासचिव बिप्लव सीले जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन भएको उल्लेख गर्दै जनयुद्धको प्रतिफल नै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताए। उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र भनेको जनयुद्ध, जनआन्दोलन, नेपालका सम्पूर्ण विद्रोहको सन्तानको रुपमा जन्मिएको सन्तान हो यो। अहिले मान्छेहरुले के भन्छन् भने जनयुद्धलाई त औचित्यहीन भन्न थाले। जनयुद्ध त केही पनि होइन, उस्तै परे अपराध भन्न थाले। त्यो देख्दाखेरी इतिहासको मजाक जस्तो लाग्छ मलाई। जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन हो र त्यसको प्रतिफलको रुपमा नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो।’

महासचिव विप्लव सीले आजको दिन गोलीको हारेको दिन भएको उल्लेख गर्दै सामान्ति सत्ताले सुखानी जंगलमा युवाहरुबाट डराएर गोली चलाएको र त्यही गोलीले नेपालको सामान्ति सत्ता ढलेको बताए । उनले भने -‘आजको दिन सुखानीको जंगलमा ५ जना युवाहरुले जनवाद र वैज्ञानिक समाजवाद, साम्यवादको सपना देख्दै सहर्ष वलिदान गरेको दिन हो । विचारले जित्छ की गोलीले जित्छ भनेर नेपालमा भिषण लडाई चलेको थियो । पञ्चायतका निरंकुश सामान्तहरुले गोलीद्वारा न्यायका आवाज र सपनालाई धोस्त पार्न चाहिरहेका थिए । तर पाँचजना युवाहरुले गोलीले परास्त गरिदिए ।’
महासचिव विप्लव सीले त्यही गोलीले वलिदान दिएका पाँच जना सहिदका कारण नेपालको पञ्चायत ढलेको बताउदै भने- ‘अन्तत पाँच जना युवाहरुको वलिदानीबाट उठेको पञ्चायत विरोधि आन्दोलनले नेपालको पञ्चायतलाई धरासायी बनाएर, धुलोपिठो पारेर पछारिदियो र पञ्चायतलाई सदाका लागि पुरिदियो । त्यसकारण आजको दिन गोलीले हारेको , विचारले जितेको , सपनाले जितेको र नेपालका प्रिय छोराछोरीले जितेको दिन हो ।’

महासचिव बिप्लव सीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने ठूलो होड चलेको भन्दै त्यो सम्भव नहुने बताए। उनले आफूहरुको लक्ष्य मुलुकलाई साम्यवादसम्म पुर्‍याउने भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि यत्तिकै सडकमा छोडेर जान नसकिने बताए । उनले देशलाई समृद्ध बनाउने लक्ष्यका साथ आफूहरु नयाँ जिम्मेवारी लिन तयार रहेको समेत उदघोष गरे ।


महासचिव बिप्लव सीले आफूहरुको लक्ष्य र सपना वैज्ञानिक समाजवाद हुँदै मानव जातिलाई वर्गविहीन, शोषणविहीन, देशविहीन साम्यवादमा पुर्याउने रहेको बताउदै माओवादी शान्तसँग बस्न नसक्ने शक्ति भएको बताए । उनले आफूले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई उथलपुथल ल्याउन सुझाव दिएको बताउदै भने- ‘माओवादी शान्त ढङ्गले बस्न नसक्ने शक्ति हो । आज यहाँ प्रचण्ड कमरेड पनि आउनु भएको छ । मैले त चलाउनुस् भन्ने सुझाव पहिलेदेखि कै हो । उथलपुथल पार्नपर्छ क्या ।’
महासचिव बिप्लव सीले जनताहरु चिच्याइरहेको, युवाहरु छट्पटाइरहेको, श्रमिक समुदायहरु अन्योलमा परेको र देशभक्तहरु छट्पटाइरहेको भन्दै माओवादी क्रान्तिकारीहरु चुप लागेर बस्न नसक्ने बताए । उनले देशमा जनतालाई दुःख परेको बेला बलिदानी दिन सक्ने शक्ति कम्युनिष्टहरुसँग मात्रै रहेको ठोकुवा गर्दै आफूहरुलाई रुढीवाद र पछ्यौटेपन स्वीकार्य नहुने बताए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने ठोकुवा गरे। उनले माआवादी कहिल्यै पनि उपयोग नहुने उल्लेख गर्दै भने- “साँचो कुरा हो, माओवादी सिद्धान्त र विचारका दृष्टिकोणले जमेको पोखरी जस्तो गरेर बस्ने होइन, गडगडाउँदो नदीजस्तो बग्छ। निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन। निरन्तरतामा क्रमभङ्ग गर्दै नयाँ परिस्थिती सिर्जना गर्दै अगाडि बढ्ने शाक्ति हो। शहिद सप्ताहको अन्तिम दिन अर्थात् सुखानीमा साहदात भएको दिन निरन्तरतामा क्रमभङ्ग भएको छ। माओवादी नेपाली जनताको घोडा हो, अरु कसैको घोडा होइन।”
प्रधानमन्त्री प्रचण्डले आजको दिनमा जे कुरा भएको त्यो सानो कुरा नभएको उल्लेख गर्दै पछिल्लो परिवर्तनलाई राम्रोसँग बुझ्नुपर्ने बताए। उनले भने- “सबै क्रान्तिकारी एकताबद्ध हुनुपर्ने आवश्यकता छ, खिइँदै, सुक्दै जानु भएन, यो हुँदैन।”
प्रधानमन्त्री प्रचण्डले प्रतिक्रियावादीले आफूलाई घेरा हाल्दै आएको उल्लेख गर्दै निरन्तर परिवर्तनका पक्षमा लाग्ने स्पष्ट पारे। उनले शहिद सप्ताहको अन्तिम दिन सबैले एकताबद्ध हुने अठोट गर्नुपर्नेमा जोड दिँदै भने- “क्रान्तिकारीले ठूला कुरा गर्नेभन्दा सबै एक ठाउँमा हुने बाटो खोजौँ, त्यो वैज्ञानिक हुन्छ, त्यो क्रान्तिकारी हुन्छ।”
प्रधानमन्त्री प्रचण्डले आफूले समाजवादी मोर्चामात्र नभएर बृहत्तर कम्युनिष्ट एकताको पहल गरिहरेको उल्लेख गर्दै शहिदका सपना पूरा गर्नका लागि दुष्मनका घेराबन्दी तोड्दै अगाडि बढ्ने अठोट व्यक्त गरे। उनले क्रान्तिको बाटो सोझो नहुने उल्लेख गर्दै भने- “मानिस दुई खुट्टाले हिड्नुपर्छ, कहिले दायाँ र कहिले बाँया खुट्टा अगाडि जान्छ, मास्र्कवाद भनेको गन्तव्यमा पुग्नका लागि दुई खुट्टाले हिड्नुपर्छ।”
प्रधानमन्त्रीले प्रचण्डले नेपालले वैज्ञानिक र सन्तुलित भूराजनीतिक परराष्ट्र नीति अपनाएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै त्यसका लागि ध्यान दिनुपर्ने बताउदै राष्ट्र र जनताप्रति आफू जिम्मेवार भएर अगाडि बढ्ने स्पष्ट पारे।
प्रधानमन्त्री प्रचण्डले आफूहरुलाई घेरा हालेर सिध्याउने कोशिस भए पनि त्यसलाई तोड्दै आएको बताए । उनले आफ्नै नेतृत्वमा जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेको र बाँकी रहेकालाई समेत छिट्टै घोषणा गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाको कामलाई टुङ्गो लगाएर सहिद तथा बेपत्ता परिवारलाई परिपूरण, रोजगारीलगायतका विषयलाई सम्बोधन गरिने बताए । उनले माओवादी नेतृत्वको सरकारले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेको र जनयुद्ध दिवसमा राष्ट्रिय बिदा दिएको विषयलाई खुलेर प्रसंशा गर्न कन्जुस्याई गरेकामा पूर्वमाओवादी घटकप्रति असन्तुस्टि जनाउदै भने- “ठूला कुरा गर्नुभन्दा हामी क्रान्तिकारीहरु एक ठाँउमा उभिने बाटो खोजौँ, त्यसमा नै हामी सबैको भलाइ छ। ‘
सहिद प्रतिष्ठान नेपालका अध्यक्ष धर्मशिला चापागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य जनक शाह र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बाँस्तोलालगायतले सहिदको सपना पूरा गर्नुपर्ने बताएका थिए ।
फागुन १४ देखि २१ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइँदै आइएको छ । झापा विद्रोहदेखि जनयुद्धसम्मलाई जोडेर माओवादीले सहिद सप्ताह मनाउने गरेको हो ।

प्रतिक्रियाहरु