समाजवादी मोर्चा सक्रिय :आगामी चैत ३ गते बृहत अन्तरक्रिया

२०८० फाल्गुन २० गते, आईतवार

काठमाडौँ । समाजवादी मोर्चा नेपालले आगामी चैत ३ गते बुद्धिजीवी, वामपन्थीसहितको बृहत अन्तरक्रिया गर्ने भएको छ । उक्त अन्तरक्रियामा समाजवादी मोर्चा नेपालका शीर्षस्थ नेतालगायत बुद्धिजीवी, वामपन्थीलगायतको सहभागिता रहने बताइएको छ । मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको उपस्थितिमा सोमबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो । उक्त बैठकमा मोर्चाको सचिवालय सदस्य नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष सीको सहभागिता रहेको थियो ।
उक्त बैठकले जनताले ठूलो बलिदानीबाट प्राप्त गणतन्त्रका विरुद्ध प्रतिगामी तया पुनरुत्थावादीहरुबाट विभिन्न षड्यन्त्रहरु भइरहेको भन्दै यो अवस्थामा जनतालाई समाजवादी विकल्प दिन देशव्यापी भित्तेलेखन गर्ने, डिजिटल प्रविधिको र सामाजिक सञ्जालहरुको प्रयोग गरेर निम्न नाराहरुलाई व्यापक प्रचार–प्रसार गर्ने निर्णयहरु गरेको बताइएको छ ।
नाराहरु
१. समाजवादी मोर्चा नेपाल – जिन्दावाद !
२. यथास्थिति र प्रतिगमनको – विरोध गरौँ, नेपाली विशेपताको समाजवाद – स्थापना गरौँ ।
३. संघीय लोकतान्त्रिक गणतन्त्रको – रक्षा र विकास गरौं, समाजवादी क्रान्तिको वाटोमा – अघि बढौं !
४. वित्तीय एकाधिकार दलाल पुँजीवादको – विरोध गरौँ, राष्ट्रिय स्वाधीनताको – रक्षा गरौं ।
५. वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय, विभेदको – अन्त्य गरौं, समतामूलक समाजको – स्थापना गरौं ।
यसैगरी, सो बैठकले समाजवादी मोर्चा नेपालले आफ्नो धारणाहरु स्पष्ट गर्न “समाजवादी मोर्चा” नामको एउटा प्रकाशन आउँदो २०८१ वैशाखसम्म प्रकाशित गर्ने । प्रकाशन समितिमा नेकपाबाट अनिल सी, नेकपा (माओवादी केन्द्रबाट महेश्वर दहाल, नेकपा (एकीकृत समाजवादी) बाट जगन्नाथ खतिवडा र जनता समाजवादी पार्टीबाट पूर्णबहादुर बस्नेत रहने निर्णय गरेको छ ।
यसैगरी, उक्त बैठकले मोर्चाले नेकपा (मसाल) र अन्य मित्र पार्टीहरुसँग छलफल गर्ने जिम्मा सयोजक विप्लव सीलाई दिएको छ ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले समाजवादी मोर्चा नेपालले हालै निर्णय गरेका देशव्यापी कार्यक्रम इमान्दारितापूर्वक लागू गर्न पार्टीलाई निर्देशन दिएका छन् । सोमबार बुद्धनगरस्थित नेकपाको कार्यालयमा उपलब्ध केन्द्रिय सदस्यहरुसँग मोर्चाको कार्यक्रमबारे संक्षिप्त ब्रिफिङ गर्दै महासचिव विप्लवले सो निर्देशन दिएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टी सम्मिलित समाजवादी मोर्चाले हालै महासचिव विप्लव सीलाई नेतृत्व हस्तान्तरण गरेसँगै विप्लव सीको अध्यक्षतामा बसेको बैठकका निर्णयबारे पार्टी सम्बद्ध नेताहरूलाई जानकारी दिँदै महासचिव विप्लव सीले देशैभर समाजवादको पक्षमा प्रचार–प्रसार गर्ने, काठमाडौँमा चैत ३ गते बुद्धिजीवी, वामपन्थीसहितको अन्तरक्रिया गर्ने, नेकपा मशाललाई समाजवादी मोर्चामा सम्मिलित गराउन पत्राचार गर्ने, समाजवादी मोर्चाको प्रकाशन गर्ने, मिटरब्याजलगायत समसामयिक विषयमा मोर्चाले बोल्ने, डिजिटलसहितको प्रचार गर्ने निर्णय गरेको बताए ।
महासचिव विप्लव सीले समाजवादी मोर्चालाई कमजोर र असफल पार्न विभिन्न ढङ्गले प्रयत्न भैरहेको भन्दै आपूmहरु देशको विद्यमान आर्थिक राजनीतिक संकटको निकास दिन र समाजवादी प्रणाली स्थापित गर्न निरन्तर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
महासचिव विप्लव सीले काभ्रेको पाँचखालमा गर्ने भनिएको अमेरिकी सेना र नेपाली सेनाको संयुक्त सैन्य अभ्यास अब आर्मी हेडक्वाटर काठमाडौँमा गर्नु देशको सार्वभौम सत्ताका लागि थप गम्भीर विषय भएको समेत बताउँदै भने– “नेपालको सैन्य हेडक्वार्टरमा अमेरिकी सेनाको उपस्थिति बढ्दै छ, वामपन्थी, कम्युनिस्ट शक्तिहरुलाई कमजोर पार्ने र अन्ततः देशका राजनीतिक शक्तिहरूलाई कमजोर पारेर देशमा अस्थिरता पैदा गर्ने षड्यन्त्र तीव्र भएको छ ।”
यसैगरी, महासचिव विप्लव सीले नेपाली काँग्रेसले प्रचण्डलगायतका कम्युनिस्ट नेताहरुलाई आफ्नो काखमा राखेर सिध्याउन खोजेको टिप्पणी गरे । उनले नेपाली काँग्रेससहितको सत्ता गठबन्धनको नेतृत्व गरिरहेका प्रचण्डलाई सरकारको नेतृत्व दिएको भए पनि सरकारले जनताका दैनिक समस्या समाधान र राष्ट्रिय स्वाधीनताको सुरक्षा गर्नेभन्दा पनि माओवादी, कम्युनिस्ट र वामपन्थी शक्तिहरुलाई बदनाम र असफल पार्न प्रयास भैरहेकोले यसबारे गम्भीर हुनुपर्ने बताउँदै भने– “एकातिर काँग्रेस सत्ता गठबन्धनको प्रमुख साझेदार दल हो भने अर्कोतिर काँग्रेसको हालै सम्पन्न महासमिति बैठकको आधिकारिक दस्तावेजमा जनयुद्धलाई अपराधिक क्रियाकलाप भनेर परिभाषित र व्याख्या गरिएको पाइयो । काँग्रेस स्वयम् हिजो युद्धको एउटा हिस्सा हो, त्यसको एउटा कारक हो र शान्ति सम्झौताको हस्ताक्षरकर्ता पनि हो, जनयुद्ध हुन्थेन भने देश अहिले पनि कहाँ हुन्थ्यो, विचार गर्न जरुरी छ ।”
महासचिव विप्लव सीले त्यस्तै मुलुकको विद्यमान परिस्थितिबारे संकेत गर्दै अहिले नेपालमा भारतीयहरु हिन्दुइज्म र राजतन्त्रको एजेन्डा बोकेर आइरहेको र पश्चिमाहरु क्रिश्चियनकरण र पहिचानसहितको संघीयता तथा धर्मनिरपेक्षताको एजेन्डा बोकेर आएको समेत उल्लेख गरे ।
महासचिव विप्लव सीले भने– ‘नेपालमा सामाजिक र जातीय विविधताहरु छन्, यसका सबल र राम्रा पक्षहरु पनि छन्, हाम्रो आन्तरिक एकतालाई अझ राम्रो बनाउन समाजवादी संघीयता आवश्यक छ तर अहिलेको संघीयताले समस्या समाधान गर्नेभन्दा पनि सामाजिक विभाजन मात्रै ल्याउने खतरा छ, त्यसैले नेपालमा जुन उद्देश्य र मर्मका आधारमा हामीले संघीयताको मुद्दा उठायौँ, त्यस प्रकारको संघीयता आउन नसकेको र अब समाजवाद र संघीयता सँगसँगै लिएर अगाडि जानुपर्ने बेला आएको छ ।’ – क्षेप्यास्त्र साप्ताहिक

प्रतिक्रियाहरु