समाजवादी मोर्चा नेपालले बृहत अन्तरक्रिया गर्ने

२०८० फाल्गुन १४ गते, सोमबार


काठमाडौँ । समाजवादी मोर्चा नेपालले आगामी चैत ३ गते बुद्धिजीवी, वामपन्थीसहितको बृहत अन्तरक्रिया गर्ने भएको छ। उक्त अन्तरक्रियामा समाजवादी मोर्चा नेपालका शिर्षस्थ नेतालगायत बुद्धिजीवी, वामपन्थीलगायतको सहभागिता रहने बताइएको छ। मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको उपस्थितिमा सोमबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले समाजवादी मोर्चा नेपालले हालै निर्णय गरेका देशव्यापी कार्यक्रम इमान्दारितापूर्वक लागू गर्न पार्टीलाई निर्देशन दिएका छन् । साेमबार बुद्धनगरस्थित नेकपाको कार्यालयमा उपलब्ध केन्द्रिय सदस्यहरुसङ्ग मोर्चाको कार्यक्रमबारे संक्षिप्त ब्रीफिङ गर्दै महासचिव विप्लवले सो निर्देशन दिएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टी सम्मीलित समाजवादी मोर्चाले हालै महासचिव विप्लव सी लाई नेतृत्व हस्तान्तरण गरेसङ्गै विप्लव सी को अध्यक्षतामा बसेको बैठकका निर्णयबारे पार्टी सम्बद्द नेताहरूलाई जानकारी दिंदै महासचिव विप्लव सीले देशैभर समाजवादको पक्षमा प्रचारप्रसार गर्ने, काठमाडौँमा चैत ३ गते बुद्धिजीवी, वामपन्थीसहितको अन्तर्कृया गर्ने, नेकपा मशाललाई समाजवादी मोर्चामा सम्मीलित गराउन पत्राचार गर्ने, समाजवादी मोर्चाको प्रकाशन गर्ने, मिटर ब्याज लगायत समसामयिक विषयमा मोर्चाले बोल्ने, डिजिटलसहितको प्रचार गर्ने निर्णय गरेको बताए ।
महासचिव विप्लव सीले समाजवादी मोर्चालाई कमजोर र असफल पार्न विभिन्न ढङ्गले प्रयत्न भैरहेको भन्दै आफुहरु देशको विद्यमान आर्थिक राजनीतिक संकटको निकास दिन र समाजवादी प्रणाली स्थापित गर्न निरन्तर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
महासचिव विप्लव सीले काभ्रेको पाँचखालमा गर्ने भनिएको अमेरिकी सेना र नेपाली सेनाको संयुक्त सैन्य अभ्यास अब आर्मी हेडक्वाटर काठमाडौँमा गर्नु देशको सार्वभौम सत्ताका लागि थप गम्भीर विषय भएको समेत बताउदै भने -“नेपालको सैन्य हेडक्वार्टरमा अमेरिकी सेनाको उपस्थिति बढ्दै छ, वामपन्थी, कम्युनिस्ट शक्तिहरुलाई कमजोर पार्ने र अन्ततः देशका राजनीतिक शक्तिहरूलाई कमजोर पारेर देशमा अस्थिरता पैदा गर्ने षड्यन्त्र तीव्र भएको छ। ‘

प्रतिक्रियाहरु