अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन विशेष गीत ‘सन्देश नयाँ युगको’ सार्वजनिक

२०८० पुष १० गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर ‘सन्देश नयाँ युगको’ बोलको गीत सोमबार एक कार्यक्रमबिच अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौँमा सार्वजनिक गरिएको छ ।
संगठनका अध्यक्ष प्रकाश सीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपाका स्थायी कमिटी सदस्य शिलु सी, अतिथिहरु नेकपाका पोलिट ब्यूरो सदस्य तथा जनवादी गायक सर्जक चिरन सी, नेकपाका पिविएम हितमान सी, नेकपा केन्द्रीय सदस्य जिवन्त सी, मिना सी, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष श्याम सीको उपस्थिति रहेको थियो ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै नेकपाका स्थायी कमिटी सदस्य तथा विद्यार्थी फ्र्याक्सन इन्चार्ज शीलु सीले सार्वजनिक गीतले आम युवा विद्यार्थीको प्रतिनिधित्व गरेको र श्रमिक वर्गको पनि उठान गरिरहेकोले गीत असाध्यै समय सान्दर्भिक भएको बताइन् । साथै उनले यतिबेला देश असाध्यै गम्भीर मोडमा रहेको भन्दै संसदीय व्यवस्थालाई जोगाउन देशीविदेशी प्रतिक्रियावादी तत्वहरुले दलाल संसदीय व्यवस्थालाई जोगाउन नयाँ-नयाँ दलालहरु खडा गरेर आइरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले यो दलाल सत्तालाई खरानी बनाएर समाजवाद हुँदै साम्यवाद ल्याउन अगाडि बढिरहेको बताइन् । साथै समाजवाद प्राप्तिबाट मात्र आमूल रुपान्तरण सम्भव रहेको उनको भनाइ थियो ।
कार्यक्रमका अतिथि तथा गीतका संगीतकार चिरन सीले गीत ६ मिनेटको रहेको र गीतले राजनैतिक, शैक्षिक मुद्दाहरु समेटेर बनाएको भन्दै यो गीतले युवा विद्यार्थीहरुलाई आकर्षण गर्ने बताए ।
कार्यक्रमका अध्यक्ष प्रकाश सीले यो गीतले समकालीन विद्यार्थी आन्दोलनको नेतृत्व गरिरहेको बताए । साथै २३ औँ राष्ट्रिय सम्मेलन भव्य एवम् उचाईमा सम्पन्न गर्न सबैले आ-आफ्नो ठाउँबाट मेहनत गर्नुपर्ने बताए ।
उक्त कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र सीले गरेका थिए ।
सोमबार सार्वजनिक सन्देश नयाँ युगको गीतको शब्द प्रकाश सी, नरेन्द्र सी, कपिल सी, चिरन सीको रहेको छ भने म्युजिक चिरन सी को रहेको छ । स्वर चिरन सी, कुस्मिता सी, हेमन्ता सी, लक्ष्मण सी, सरल सीको रहेको छ । एरेन्जर नारायण दङ्गालको रहेको छ भने मिक्सिङ महेश्वरमान राजभण्डारीको रहेको छ । अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन आगामी फागुन ६, ७, ८, ९ गते काठमाडौँमा हुँदैछ । – अनिल केसी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु